भोजपुर- निरन्तरको वर्षाले गएराति अरुण गाउँपालिका-४ माङसुवा र ओदानेस्थित हिले-भोजपुर मध्यपहाडी लोकमार्गमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।
रुख, ढुंगा, माटो, लेदोसहितको पहिरो जाँदा पाँच किलोमिटर सडक अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक श्रेष्ठले अवरुद्ध सडक सञ्चालन गर्न स्थानीय पालिकासँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको बताए।
जिल्लाको पश्चिम टेम्केमयुङ गाउँपालिका-२ श्रीदलीस्थित भोजपुर-खोटाङ पुष्पलाल मध्यपहाडी लोकमार्गमा वर्षासँगै पहिरो जाँदा सडक अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय दिल्पाबाट प्रहरी नायब निरीक्षक हुसनकाजी राईसहितको टोलीले सम्बन्धित पालिकासँगको समन्वयमा पहिरो पन्छाउने काम गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
वर्षाले जिल्ला ट्राफिक कार्यालयको भान्सा घर, कार्यालय र ब्यारेक जोखिममा परेपछि कार्यालय नजिक बसोबासको व्यवस्था मिलाइएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए।
उनका अनुसार पहिरोले अरुण-३ का नेत्रबहादुर बस्नेत, भोजपुर नगरपालिका-४ का चन्द्रकला श्रेष्ठ र भोजपुर-५ का भिमबहादुर दाहालको घरमा पूर्णरुपमा क्षति भएको छभने भोजपुर-४ का हरिबहादुर खड्काको गोठमा क्षति भएको छ।
जिल्लाका विभिन्न प्रहरी कार्यालयबाट उद्धार तथा राहतमा खटिएका प्रहरीको टोलीले पहिरो प्रभावितलाई उद्धार गरी अस्थायी बासको व्यवस्था मिलाएको श्रेष्ठले बताए।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दिपककुमार श्रेष्ठको नेतृत्वमा १४ र सशस्त्र प्रहरी बल पाँच नं गुल्मबाट सहायक प्रहरी निरीक्षक ऋषी खत्रीको नेतृत्वमा १५ जनाको टोली उद्धार तथा राहतमा खटिएका उनले जानकारी दिए।
वर्षाले भोजपुर-६ देउरालीबाट वडा नं ५ बोखिमसम्म पुष्पलाल मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएका छन्। अहिले स्थानीय, प्रहरी तथा सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिसँगको समन्वयमा पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस