काठमाडौं- वर्षाजन्य विपद्मा परी काठमाडौं उपत्यकामा २१ जनाको मृत्यु भएको छ। हालसम्म काठमाडौंमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको हो।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले दिएको जानकारीअनुसार वर्षाजन्य विपद्का घटनामा परी पाँच जना बेपत्ता भएका छन् भने नौ जना घाइते भएका छन्।
बाढीपहिरो तथा डुबानमा परेका ७ सय २८ जनालाई उद्धार गरिएको उनले बताए। बाढीपहिरोबाट काठमाडौंमा चार घर भत्किएका छन् भने दुईसय २६ घर डुबानमा परेका छन्। ललितपुर र भक्तपुरका धेरै घरमा पानी पसेको छ।
विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौंमा तीन हजार ६०, ललितपुरमा नौ सय ३० र भक्तपुरमा एक सय २० जना नेपाल प्रहरीको जनशक्ति खटिएको उपत्यका प्रहरीका कार्यालयका प्रवक्ता घिमिरेले जानकारी दिए।
यसैबीच विपद्को जोखिमका आधारमा काठमाडौंमा थप ४०, ललितपुरमा २५ र भक्तपुरमा १५ जना थप जनशक्तिसमेत परिचालन गरिएको उनले जानकारी दिए। रासस