मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

दसैँ नजिकएसँगै गाईघाटमा मनपरी मूल्य वृद्धि

images
बिहीबार , असोज १० २०८१
images
दसैँ नजिकएसँगै गाईघाटमा मनपरी मूल्य वृद्धि

दसैँ नजिकिरहेको मौका पारेर व्यापारीले तेल, दाल, चामल, मसलालगायत दैनिक उपभोग्य वस्तुहरुको मूल्य बढाउन थालेका हुन्।

images
images

उदयपुर- नेपालीहरुको महत्वपूर्ण चाड दसैँ नजिकिएसँगै उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रका व्यापारीले मनपरी मूल्य वृद्धि गरेका छन्। दसैँ नजिकिरहेको मौका पारेर व्यापारीले तेल, दाल, चामल, मसलालगायत दैनिक उपभोग्य वस्तुहरुको मूल्य बढाउन थालेका हुन्।

images
images
images

गाईघाट संगमटोलका उपभोक्ता फिरन कार्कीका अनुसार दुई दिनअघिसम्म बजारका हरेका पसलमा खानेतेल प्रतिप्याकेट एकसय रूपैयाँका दरले पाउने गरिएकामा मंगलबारदेखि प्रतिप्याकेट एकसय २० देखि एकसय २२ रूपैयाँसम्म पर्ने गरेको छ। यसरी चाडपर्वको मौका पारेर व्यापारीले मूल्य वृद्धि गरिरहेका भन्दै उनले सरोकार भएका निकायले आवश्यक अनुगमन गरी मूल्य वृद्धि रोक्नुपर्नेमा जोड दिए।

images
images

उपभोक्ता दीपा बस्नेतले चार दिन अघिसम्म मुसुरो दाल ९० देखि एकसय रूपैयाँ प्रतिकिलोका दरले पाइने गरेकामा मंगलबारदेखि प्रत्येक पसलमा एकसय २० देखि एकसय २५ रूपैयाँ पर्न थालेको जानकारी दिए। यसरी चाडबाडलाई लक्षित गरी व्यापारीले मूल्य वृद्धि गरेर उपभोक्तालाई समस्यामा पार्ने काम भएको उनको भनाइ छ।

images
images

चामल, दाल, तेल, मसलालगायत दैनिक उपधोग्य वस्तुमा स्थानीय व्यापारीले मूल्य वृद्धि गर्दा कालोबजारी बढ्दै गएको गाईघाटका उपभोक्ताको गुनासो छ। उपभोक्ता श्याम दाहालले भने, 'प्रत्येक वर्ष दसैँजस्तो महत्वपूर्ण चाडमा व्यापारीले मौका छोपेर दशदेखि पन्ध्र प्रतिशतसम्म मूल्य वृद्धि गर्दै आएका छन्। यसपटक ४० प्रतिशतभन्दा बढीका दरले मूल्य वृद्धि गरेर उपभोक्ताको ढाड सेक्न थालेका छन्।'

सरोकार भएका निकायले यससम्बन्धी समयमा ध्यान दिएर अनुगमन गरी कालोबजारी रोक्नुपर्ने दाहालले बताए। दैनिक उपभोग्य वस्तुहरुको मूल्य वृद्धिसँगै सागसब्जी तथा फलफूल व्यापारीले पनि बुधबारदेखि करिब ४० प्रतिशतले मूल्य वृद्धि गरेका उनले जानकारी दिए।

प्रतिकिलो ८० रूपैयाँ पर्ने हरियो सागसब्जीको मूल्य अहिले एक ३० देखि एक ४० रूपैयाँसम्म पर्न थालेको त्रियुगा नगरपालिका-१० बोक्सेका उपभोक्ता रामबाबु बस्नेतले बताए। व्यापारीले एकपछि अर्को वस्तुको मूल्य वृद्धि गर्न थालेपछि बजार क्षेत्रमा उपभोग्य वस्तु किन्न नसक्ने अवस्थामा पुगेको आमउपभोक्ताले गुनासो गरेका छन्।

मूल्य वृद्धिका बारेमा सोधिएको प्रश्नमा गाईघाटको पिजी चौकका व्यापारी विनोदले भने, 'हामी साना खुद्रा व्यापारी हौँ, होलसेलरले मूल्य बढाएर सामान पठाएको छ। त्यसैले बढेको मूल्यअनुसार उपभोक्तालाई बिक्री गर्न बाध्य छौँ।'

उपभोग्य वस्तुको अभाव भएकाले होलसेलले मूल्य बढाएर वस्तु पठाएकाले आफूहरुले वृद्धि गर्न बाध्य भएका साना खुद्रा व्यापारी बताउँछन्। उपभोक्ता देवराज थापाले भने, 'ठूला व्यापारीको मनपरी तन्त्र छ, जतिबेला चाह्यो उतिबेला मूल्य वृद्धि गर्छन्, स्थानीय सरकार तथा प्रशासनले अनुगमन गरेर कारबाही गर्नुपर्छ। कारबाही नगर्दा कालोबजारी गर्ने व्यापारीको मनोबल बढ्ने गरेको छ।'

यस विषयमा तत्काल स्थानीय प्रशासन, स्थानीय पालिकाका जनप्रतिनिधि र उद्योग वाणिज्य संघले मूल्य अनुगमन गरेर नियन्त्रण तथा कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्नेमा उनले जोड दिए। रासस


प्रकाशित : बिहीबार , असोज १० २०८११५:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend