काठमाडौं- नेपाल प्रहरीको टोलीले धुलिखेल अस्पतालमा इन्टर्नसिपमा आएका इटालियन नागरिक अन्दाजी २८ वर्षीया मार्टिन र जर्मनी नागरिक अन्दाजी २६ वर्षीया एलेक्स जेन्ड्राको सामान लुटपाट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नवलपरासी घर भइ हाल काभ्रेको बनेपा नगरपालिका-६ सान फर्निचरमा काम गर्ने वर्ष २० वर्षीय हरि चौधरी, रामेछापको सुनापाती गाउँपालिका घर भइ हाल काभ्रेको बनेपा-९ जनागाल बस्ने १७ वर्षीय सन्देश जैरु तथा काभ्रेको पनौती नगरपालिका-९ सुनथान बस्ने १६ वर्षीय उज्ज्वल दाहाल रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
उनले भने, 'इटाली र जर्मनीका नागरिकलाई चक्कु देखाएर बनेपामा एटिएम, मोबाइलसहितका सरसामान लुटपाट गरेको आरोपमा उनीहरुलाई गएराति पक्राउ गरिएको हो।'
काभ्रेको बनेपा-६ भ्युटावरस्थित सिँढीको बाटोमा उक्त लुटपाट गरिएको प्रहरीले जनाएको छ। उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताए। रासस