काठमाडौं- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ लाई आधार वर्ष मानेर नयाँ मूल्य सूचकांक सार्वजनिक गरेको छ। यसअघि आर्थिक वर्ष २०७०/७१ लाई आधार मानेर उपभोक्ता मूल्य सूचकांक सार्वजनिक गर्दै आएको थियो।
नयाँ मूल्य सूचकांकमा राष्ट्र बैंकले प्रयोगमा नआएका १ सय ६ वस्तु हटाएर १ सय ३६ नयाँ वस्तु थप गरेको छ। यसअघि उपभोक्ता मूल्य सूचकांकको बास्केटमा ४ सय ८० वस्तु रहेकोमा नयाँ सूचकांकमा ५ सय २५ वस्तु कायम गरिएको छ। यस्तै कतिपय वस्तुको समूह समेत परिवर्तन गरेको छ।
अन्तर्राष्ट्रियस्तरमा अनुमान गर्न सकिने गरी राष्ट्र बैंकले नयाँ मूल्य सूचकांकको आधार बनाएको दाबी गरेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जीवनस्तर सर्वेक्षणका आधारमा राष्ट्र बैंकले तयार पारेको मूल्य, भार र सूत्र तथा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको तथ्यांक विभागको सहयोगमा उक्त नयाँ मूल्य सूचकांक तयार पारेको हो।
नयाँ मूल्य सूचकांकले नेपालको मुद्रास्फीति थप अनुमानयोग्य हुने र अनुसन्धानकर्ता तथा यसको प्रयोगकर्ताका लागि उपयोगी हुने राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बताएका छन्।
'राष्ट्र बैंकले १० वर्षअगाडिको पुरानो सर्वेक्षणलाई हटाएर राष्ट्रिय तथ्यांक कार्यालय र त्रिभुवन विश्वविद्यालयको तथ्यांक विभागको सहयोगमा नयाँ मूल्य सूचकांक सार्वजनिक गरेको छ। जसमा प्रयोगमा नभएका वस्तुहरू हटाएर अहिले बढी प्रयोगमा रहेका वस्तुहरू समावेश गरेर ५ सय २५ वस्तुसहितको नयाँ वस्तुको डालो बनाइएको छ। यसले तथ्यांकलाई थप पारदर्शी र यथार्थपरक बनाउन मद्दत गर्ने विश्वास राष्ट्र बैंकको छ', डा.भट्टले बताए।
यस्तै गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीति मापन गर्नका लागि नयाँ तथ्यांक सहयोगी हुने बताए। मुद्रास्फीतिको तथ्यांक र बजारको महँगी मेल नखाने गरेको गुनासोलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले राष्ट्र बैंकले सार्वजनिक गर्ने तथ्यांक वृहत प्रकारको हुने र एउटा वस्तुको मूल्यमा भएको परिवर्तन नगन्य हुने गरेको बताए।
'अक्सर बजार वस्तुको मूल्यमा भएको परिवर्तन र राष्ट्र बैंकले सार्वजनिक गर्ने तथ्यांक मेल नखाएको भन्ने गुनासो आउने गरेको छ। जुन जायज पनि देखिन्छ। कुनै घटनाले काठमाडौं छिर्ने मालवाहक सवारी साधन रोकियो भने टमाटरको मूल्य एकै पटक ३०० प्रतिशतले बढ्न सक्छ। तर, त्यसको रिफलेक्सन राष्ट्र बैंकको तथ्यांकमा देखिँदैन। यसको प्रमुख कारण भनेको उपभोक्ता मूल्य सूचकांकमा राष्ट्र बैंकले भार प्रदान गरेको हुन्छ। उक्त भारसँग वस्तुको मूल्य गुणन गरेर राष्ट्र बैंकले औषत मूल्य सूचकांक निकाल्छ। जसले गर्दा त्यसको असर समग्र उपभोक्तामा आधारित मूल्य सूचकांकमा देखिँदैन। यसका लागि सम्बन्धित वस्तुको सूचीमा गएर हेर्नुपर्छ। त्यसमा बुझाइको केही कमी छ। यसलाई चिर्न राष्ट्र बैंक र सञ्चारकर्मीले आवश्यक भूमिका निर्वाह गर्नुपर्छ', गभर्नर अधिकारीले बताए।
नेपालको अर्थतन्त्रमा आयातमा आधारित छ। नेपालमा नगण्य वस्तुमात्रै उत्पादन हुने गरेको छ। नेपालले कुल आयातको ६० प्रतिशत भारत र बाँकी वस्तु चीनलगायतका तेस्रो मुलुकबाट आयात गर्छ। जसले गर्दा नेपालको मुद्रास्फीति प्रमुखरुपमा भारतको मूल्यस्तरका आधारमा निर्धारित हुन्छ।
भारतीय मुद्रासँग नेपाली मुद्राको स्थिर विनियमय दर कायम रहेकाले पनि भारतीय अर्थतन्त्रले नेपाली मुद्रास्तरमाथि महत्वपूर्ण प्रभाव पार्दै आएको छ।
यस्तै नेपाली उपभोग आन्तरिक रोजगारीभन्दा पनि वैदेशिक रोजगारी र विप्रेषणमा आधारित भएकाले नेपालको मुद्रास्फीति अन्तर्राष्ट्रिय उत्तारचढावमा पनि निर्भर हुने गर्दछ।