शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

शक्ति र सत्ताको आडमा कोशीमा सहकारीको तीन अर्ब अपचलन : नेताका पत्नी, छोरा र आसेपासेको धन्दा

images
बुधबार, असोज ९ २०८१
images
images
शक्ति र सत्ताको आडमा कोशीमा सहकारीको तीन अर्ब अपचलन : नेताका पत्नी, छोरा र आसेपासेको धन्दा
उमागौरी कृषि सहकारी संस्थाबाट पीडित नारायण खनाल।

नेकपा एमालेका कोशी प्रदेश सांसद राधाकृष्ण खनालका छोरा सुमन खनालले सहकारीको १ करोड ३८ लाख ३६ हजार ७ सय ७० रुपैयाँ ठगी गरेका छन्।

images
images

इटहरी- सहकारीको बचत अपचलन तथा दुरुपयोगको विषय पेचिलो बन्दै गएको छ। कोशी प्रदेशमा मात्र बराह, तुलसी, अम्बे कोशी, पूर्व नेपाललगायत दर्जनौँ सहकारीले अर्बौँ रकम हिनामिना गरेका छन्।

images
images
images

तुलसी बहुमुखी सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेर पुर्पक्षको लागि थुनामा छन्। दमक, उदयपुर र सिराहाको गोलबजार शाखाका २१ हजार १ सय बचतकर्ताको १ अर्ब ४५ करोड अपचलन गरेका उनलाई प्रहरीले भारतबाट पक्रेर ल्याएको हो। 

धरानको बराह बचत तथा ऋण सहकारीले ७१ करोड ७५ लाख अपचलन गरेपछि अध्यक्ष मानबहादुर विश्वकर्मा पनि थुनामा छन्। विश्वकर्माले रोक्का भएको सम्पत्ति फुकुवा भएर आफू थुनामुक्त हुन पाए सम्पूर्ण रकम फिर्ता गर्न तयार रहेको संसदीय छानबिन समितिलाई बयान दिएका छन्।

images

झापाको पूर्व नेपाल नामको सहकारीमा १८ करोड र इटहरी केन्द्रीय कार्यालय रहेको अम्बे कोशी सहकारीबाट ४७ करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ। 

images

कोशी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका अनुसार कोशी प्रदेशभर सहकारीको तीन अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन भएको देखिन्छ। राजनीतिक शक्ति र सत्ताको आडमा सहकारीको रकम हिनामिना हुने गरेको र कारबाही प्रक्रिया पनि सोहीअनुसार प्रभावित हुने गरेको पाइएको हो।  

कालोसूचीमा ऋषीकेश पोखरेल पत्नी अञ्जला 

मोरङको कर्सीयामा अवस्थित उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियार एमालेका स्थानीय नेता हुन्। २०६८ सालमा स्थापना भएको सहकारीका अध्यक्ष रौनियार प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका भित्रिया मानिन्छन्। 

२०७२ सालमा पोखरेलकी श्रीमती अञ्जला कोइराला सञ्चालक समितिमा प्रवेश गरिन्। कोइराला २०७८ माघ ५ गतेसम्म सञ्चालक समिति सदस्यका रुपमा कार्यरत रहेकी छिन्। कोइरालाले २०७८ माघ ५ गते राजीनामा दिएपछि त्यसको १० दिनपछि माघ १५ गतेको १० औँ साधारणसभाले उनको राजीनामा स्वीकृत गरेको देखिन्छ। 

तर अञ्जला सञ्चालक समितिमा हुँदा बुटवलस्थित आरएसडिसी लघुवित्त वित्तीय संस्थाबाट लिएको करिब ३ करोड ऋण नतिरेपछि कालोसूचीमा परिन्। लघुवित्तले अध्यक्ष रौनियार,अञ्जलासहित सञ्चालक समितिलाई कालोसूचीमा राखेको थियो। 

ऋण नतिरेपछि राष्ट्र बैंक मातहतको कर्जा सूचना केन्द्रले २०७९ पुस १३ गते उमागौरी र त्यसका पदाधिकारीलाई कालोसूचीमा राख्यो। लघुवित्तले उमागौरी सहकारी र सञ्चालकविरुद्ध दायर गरेको मुद्दा रुपन्देही जिल्ला अदालतमा विचाराधीन छ। 

सहकारीले सदस्यको कर्जा धितो राखेर अन्य बैंकबाट ११ करोड ५६ लाख रुपैयाँ ऋण निकालेको छ। उक्त ऋण चुक्ता नभएपछि जग्गाधनी पनि समस्यामा छन्। १८ करोड ४९ लाख कुल पुँजी रहेको वासलातमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ। 

पाँच हजार सेयर सदस्य रहेको सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १ सय ५६ रुपैयाँ छ। सहकारीको कार्यालय बन्द गरेर हिँडेका रौनियारले चारवटा बैंक र एउटा लघुवित्तबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएका छन्। जसले गर्दा बचतकर्ताको बिचल्ली भएको छ। 

sahakari purba.jpg

२१ लाख अपचलन गरेकी सहकारी बैंककी सञ्चालक ५ लाख धरौटीमा रिहा 

इटहरी केन्द्रीय कार्यालय रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाको २१ लाख अपचलन गरेकी विष्णुमाया लिम्बु (अमृता सुब्बा) ५ लाख धरौटीमा रिहा भइन्। बचतकर्ताको ४७ करोड ७ लाख अपचलन भएको जिल्ला अदालत सुनसरीको अभियोगपत्रमा उल्लेख गरिएको छ। त्यसमध्ये सुब्बाले २१ लाख अपचलन गरेकी थिइन्।

नेकपा एमाले केन्द्रीय कमिटी सदस्य अमृता सुब्बाले २१ लाख ५५ हजार अपचलन गरेको सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा उल्लेख छ। 

सहकारी क्षेत्रमा बलियो प्रभाव पारेकी सुब्बा राष्ट्रिय सहकारी महासंघ र राष्ट्रिय सहकारी बैंककी सञ्चालक हुन्। महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सुब्बाले सहकारी क्षेत्रमा आफूलाई प्रभावशाली व्यक्तित्वको रूपमा प्रस्तुत गर्ने गरेकी छिन्। आफू सदस्य नै नरहेको समर्पण बचत तथा ऋण सहकारीबाट नेफ्स्कुनको ३२ औँ साधारण सभामा प्रतिनिधिसमेत भइन् उनी।

अम्बे कोशीका अध्यक्ष फडिन्द्रबहादुर पुर्वछाने पुर्पक्षको लागि थुनामा छन्। इटहरीमा केन्द्रीय कार्यालय रहेको सहकारीले विराटचोक, विराटनगर र दमकका नागरिकको बचत अपचलन गरेको हो। सञ्चालक शिला गजमेरले ५ लाख रुपैयाँ अपचलन गरेको र सो रकम आफू तिर्न तयार रहेको बयान दिएकी थिइन्। गजमेर ५ लाख नै धरौटी बुझाएर रिहा भइसकेकी छिन्। ८ लाख २९ हजार बचत गरेर एक लाख ऋण लिएका सोही सहकारीका कर्मचारी राहुल अग्रवालले १० लाख धरौटी बुझाएका छन्। 

सहकारी ऐन २०७४ अनुसार १० लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म बिगो भए दुई वर्ष देखि तीन वर्षसम्म कैदको व्यवस्था गरिएको छ। 

बाबु संसदमा छोरा सहकारी ठगीमा

नेकपा एमालेका कोशी प्रदेश सांसद राधाकृष्ण खनालका छोरा सुमन खनालले सहकारीको १ करोड ३८ लाख ३६ हजार ७ सय ७० रुपैयाँ ठगी गरेका छन्।

झापाको शिवसताक्षी नगरपालिकाले गरेको छानबिन प्रतिवेदनमा उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको पाइएको हो। 

सुमनले बिनाप्रयोजन २ लाख ६ हजार ८ सय ६८ रुपैयाँ निकालेको, बचतकर्ताको ४२ लाख नगद हिनामिना गरेको, २ लाख ३६ हजार ८ सय ४० रुपैयाँ निकालेर आफ्नो खातामा राखेको प्रतिवेदनमा उल्लेख छ।

आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणमा ४१ लाख ६८ हजार ३ सय ७७ रुपैयाँ सहकारीको नगद मौज्दात भएको दाबी गरेपनि उक्त रकम अध्यक्ष खनालले व्यक्तिगत रूपमा चलाएका हुन्। 

प्रतिवेदनमा उल्लेख भएअनुसार सुमनले आर्थिक वर्ष २०७८/७९ सम्ममा ४४ लाख ३४ हजार १ सय ६७ रुपैयाँ र २०७९/८० मा १६ लाख ३१ हजार ३ सय ८७ रुपैयाँ हिनामिना गरेका छन्। ६० लाख ६६ हजार १ सय ९६ रुपैयाँ ब्याजसमेत हिनामिना गरेका उनले सम्पूर्ण हिसाब गर्दा सहकारीको १ करोड ३८ लाख ३६ हजार ७ सय ७० रुपैयाँ ठगी गरेको प्रतिवेदनले प्रस्ट पारेको छ। सहकारीका लेखा समिति संयोजक सुमन कटुवालले पनि अध्यक्षबाट ११ लाख ठगिएको बताएका छन्।

झापा क्षेत्र नम्बर ४ (क) बाट निर्वाचनमा राधाकृष्णले सहकारीको रकम फिर्ता गर्नका लागि पनि आफूलाई जिताउन आग्रह गरेका थिए। हाल फरार रहेका सुमनका विरुद्ध बचत फिर्ता नपाएपछि पीडितहरूले नगरपालिकाको सहकारी शाखामा उजुरी दिएका थिए। 

नगरपालिकाले जिल्ला प्रहरी कार्यालय झापालाई सिफारिस गरेपछि थप उजुरीको लागि प्रहरीले सार्वजनिक आह्वान गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले उजुरी परेपछि प्रमाण संकलनको काम भइरहेको बताए। लगभग एक महिनाअगाडि उजुरी परेको बताउँदै उनले छानबिन भइरहेको जानकारी दिए। 


प्रकाशित : बुधबार, असोज ९ २०८१०९:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend