सोमबार, असोज ७ गते २०८१    
images
images

दुई वर्षपछि ‘डब्लूटीएम’ मा सहभागी हुँदै पर्यटन बोर्ड

images
सोमबार, असोज ७ २०८१
images
images
दुई वर्षपछि ‘डब्लूटीएम’ मा सहभागी हुँदै पर्यटन बोर्ड

पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण मञ्चका रूपमा लिइने यस मेलाबाट नेपालका आकर्षक पर्यटकीय गन्तव्यबारे बुझ्न तथा नयाँ सूचना प्राप्त गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ।

images
images

काठमाडौं- नेपाल पर्यटन बोर्ड दुई वर्षपछि ‘वर्ल्ड ट्राभल मार्केट (डब्लूटीएम)’ मा सहभागिता हुने भएको छ। आगामी कात्तिक २० देखि २२ गतेसम्म बेलायतको लण्डनमा आयोजना हुने मेलामा सहभागिता जनाउने सुनिश्चित भएको बोर्डले जनाएको छ। 

images
images
images

पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण मञ्चका रूपमा लिइने यस मेलाबाट नेपालका आकर्षक पर्यटकीय गन्तव्यबारे बुझ्न तथा नयाँ सूचना प्राप्त गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले जिम्मेवारी सम्हालेसँगै डब्लूटीएम, आईटीबीलगायत महत्वपूर्ण पर्यटन मेलामा बोर्डको सहभागिता सुनिश्चित गर्न पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरेका थिए।

सोही प्रतिबद्धतानुसार अन्तर्राष्ट्रिय बजारीकरण नेपालको पर्यटन प्रवर्द्धनका लागि डब्लूटीएममा सहभागिता जनाउने निर्णय भएको जोशीले बताए। 'बोर्डले डब्लूटीएममा सहभागिता जनाएर अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन प्रवर्द्धनका लागि ढोका खुलेको छ। अन्तर्राष्ट्रिय मेला, सेल्स मिसनलगायत अन्तर्राष्ट्रिय फोरममा बोर्डको प्रभावकारी उपस्थिति रहन्छ', उनले भने।

images

अघिल्ला दुई वर्ष बोर्डले डब्लूटीएम, आइटिबीजस्ता अन्तर्राष्ट्रिय मेलामा सहभागिता जनाउन सकेको थिएन। नेपालको पर्यटन प्रवर्द्धनका निम्ति बोर्ड स्थापनाभएदेखि निरन्तर रूपमा अन्तर्राष्ट्रिय पर्यटन मेलामा सहभागी हुँदै आएको छ।

हरेक वर्ष नोभेम्बर (कात्तिक) मा आयोजना हुने यो मेलालाई विश्वको दोस्रो ठूलो पर्यटन मेला मानिन्छ। यस्तै प्रत्येक वर्ष मार्च (फागुन) मा जर्मनीको बर्लिनमा आयोजना हुने ‘इन्टरनेश्नल ट्राभल टुरिजम बर्लिन आइटिबी’ मेलालाई विश्वकै पहिलो पर्यटन मेला मानिन्छ।

बोर्डले आइतबार सूचना प्रकाशित गरी इच्छुक कम्पनीलाई डब्लुटीएममा सहभागिताका लागि अनुरोध गरेको छ। कम्तीमा ३० कम्पनीलाई त्यहाँ सहभागी गराइने बोर्डको योजना छ। 

नेपालले विगत ४० वर्षदेखि डब्लूटीएममा सहभागिता जनाउँदै आएको छ। पच्चिस वर्षअघि बोर्ड स्थापना भएकामा त्यसअघि पर्यटन विभागमार्फत नेपालले यस्ता मेलामा सहभागिता जनाउने गरेको थियो। मेलाबाट व्यावसायिक सम्भावनाका नयाँ आयामबारे सम्पर्क विस्तार गर्ने अवसर मिल्ने दाबी गरिएको छ।

नेपाल पर्यटन बोर्ड ऐन, २०५३ मा बोर्डको प्रमुख काममा अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उल्लेख छ। 'अन्तर्राष्ट्रिय जगत्मा नेपाललाई एक आकर्षक पर्यटनस्थलका रूपमा स्थापित गरी पर्यटन व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धन गर्नका लागि नेपाल पर्यटन बोर्ड स्थापना गरिएको हो', ऐनमा भनिएको छ।

सार्वजनिक निजी साझेदारी मोडलमा स्थापित बोर्डको करिब दुई अर्ब रूपैयाँ वार्षिक बजेटमध्ये झण्डै ७० प्रतिशत बजेट अन्तर्राष्ट्रिय बजारीकरणमा खर्चनुपर्ने हुन्छ। 

गत आर्थिक वर्ष २०८०/८१ मा कुनै पनि अन्तर्राष्ट्रिय कार्यक्रम तथा मेला महोत्सवमा नेपालले भाग लिएन।

बोर्डको विदेशमा कार्यक्रम सञ्चालन तथा खरिदसम्बन्धी कार्यविधि २०७८ पारित नहुँदा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता जनाउन नसकिएको बोर्डले जनाएको थियो। डब्लूटीएममा नेपालको पहिचान र पर्यटन प्रवर्द्धनका लागि विभिन्न सामग्रीको स्टल राखिने जनाइएको छ। रासस


प्रकाशित : सोमबार, असोज ७ २०८११५:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend