सोमबार, असोज ७ गते २०८१    
images
images

डेढ दशकअघि खुलेको धवलागिरिको धारापानी-झिनडाँडा सडक स्तरोन्नति थालियो

images
सोमबार, असोज ७ २०८१
images
images
डेढ दशकअघि खुलेको धवलागिरिको धारापानी-झिनडाँडा सडक स्तरोन्नति थालियो

स्थानीयको सहमति र आग्रहअनुसार धारापानी तथा ताकम गाउँभित्रको सडकलाई पक्की बनाउने गरी डिजाइन (नक्सांकन) भएको छ।

images
images

म्याग्दी- धवलागिरि गाउँपालिका-७ धारापानीदेखि ताकम-शिवाङ हुँदै झिनडाँडासम्मको सडक स्तरोन्नतिको काम सुरु भएको छ।

images
images
images

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी-दरवाङ-धारापानी-ताकम-मुना सडकअन्तर्गत धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न लागिएको हो।

डेढ दशकअघि मार्ग खुलेको सडक स्तरोन्नति थालिएको धवलागिरि-७ का वडाध्यक्ष अशोक खत्रीले जानकारी दिए। स्थानीयको सहमति र आग्रहअनुसार धारापानी तथा ताकम गाउँभित्रको सडकलाई पक्की बनाउने गरी डिजाइन (नक्सांकन) भएको छ।

धारापानीमा विसं २०६६ मा सडक पुगेको थियो। यो सडक धवलागिरिको वडा नं ५ का बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो। सडक स्तरोन्नति हुन थालेपछि स्थानीय उत्साहित भएका छन्।

images

चार किलोमिटर दुरीको यो सडक स्तरोन्नतिका लागि विसं २०८१ जेठ २० गते रामसागर-बिएस धौलागिरि जेभी र पूर्वाधार विकास कार्यालयबीच १४ करोड ६१ लाख ६१ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको थियो।

कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले दुई वर्षको ठेक्का अवधि भएको योजनाको निर्माण कम्पनीले सडक फराकिलो पार्ने, नाली र टेवा पर्खाल निर्माणको काम थालेको बताए। आठ मिटरका दरले सडकलाई फराकिलो बनाइने भएको छ।

यो सडक हाल चारदेखि पाँच मिटर फराकिलो छ। म्याग्दीदेखि ढोरपाटन हुँदै पूर्वीरुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा ७० किलोमिटर छोटो पर्ने जिल्लाका जनप्रतिनिधिले बताएका छन्।

म्याग्दी १ (२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले यो सडक आयोजनाअन्तर्गत झिनडाँडादेखि मुनातर्फ र हालै ग्राभेल भएको दरवाङ-धारापानी खण्डमा कालोपत्रसहित स्तरोन्नति गर्न प्रदेश तथा संघीय सरकारको लागत साझेदारीमा रु एक अर्ब बजेटको आयोजनाको यसै आर्थिक वर्षदेखि सुरु हुने जानकारी दिए।

हाल मरेनी पुगेको कच्ची सडकलाई विस्तार गरेर ढोरपाटन जोड्न सडक डिभिजन कार्यालयमार्फत कार्यान्वयन हुने गरी थप ६ करोड ५० लाख रूपैयाँ विनियोजन भएको जुग्जालीले बताए।

प्रदेश सरकारको लगानीमा दरवाङदेखि धारापानी जोड्ने करिब सात किलोमिटर सडक गत वर्ष ग्राभेल भएको थियो। रासस


प्रकाशित : सोमबार, असोज ७ २०८१११:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend