आइतबार, मंसिर ९ गते २०८१    
images
images

कोशी प्रदेशसभा : बजेट पारित, २२ महिनापछि समितिका सभापति चयन

images
आइतबार, असोज ६ २०८१
images
images
कोशी प्रदेशसभा : बजेट पारित, २२ महिनापछि समितिका सभापति चयन

गत बैशाख ३१ गते सुरु भएर झण्डै चार महिना चलेको सो अधिवेशनमा २० पटक बैठक बसेको थियो। कोशी प्रदेशसभा सचिवालयका अनुसार यस अवधिमा बैठक ४७ घण्टा ५८ मिनेट ४३ सेकेन्ड चलेको थियो।

images
images

विराटनगर- कोशी प्रदेशसभाको पाचौँ अधिवेशन अन्त्य भएको छ। कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गको कार्यालयबाट नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्यको पत्र सभामुख अम्बरबहादुर विष्टले सदनमा पढेर सुनाएसँगै अधिवेशन समापन भएको थियो।

images
images
images

त्यस अवसरमा सभामुख विष्टले कोशी प्रदेशसभाले यसपटक समयमै बजेट पारित गरी समितिका विषयगत सभापतिसमेत चयन गर्न महत्वपूर्ण सफलता हासिल गरेको बताउँदै सभालाई मर्यादित रुपमा सञ्चालन गर्न सत्तापक्ष र विपक्षसमेत सबैले गरेको सहयोगप्रति आभार प्रकट गरेका थिए।

images

गत बैशाख ३१ गते सुरु भएर झण्डै चार महिना चलेको सो अधिवेशनमा २० पटक बैठक बसेको थियो। कोशी प्रदेशसभा सचिवालयका अनुसार यस अवधिमा बैठक ४७ घण्टा ५८ मिनेट ४३ सेकेन्ड चलेको थियो। सचिवालयका अनुसार पाचौँ अधिवेशनको अन्तिमसम्ममा शून्य समय ८४ पटक र वार्षिक नीति तथा कार्यक्रम, विधेयक तथा मुख्यमन्त्रीको विश्वासको मतसम्ममा एक सय ४३ पटक प्रदेशसभा सदस्यले आ-आफ्नो मन्तव्य राखेका थिए।

images

यस अधिवेशनमा आर्थिक विधेयकबाहेक अरु तीन विधेयक पारित भए। केही प्रदेश ऐनको साविकको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश निजामती सेवा ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ (२०८१) तथा प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयक २०८१ पारित भएका छन्।

प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयकमा चार संशोधन प्रस्ताव दर्ता भएकामा अधिकांश संशोधन सरकारले स्वीकार गरेकाले संशोधनकर्ता प्रदेशसभा सदस्यहरुले संशोधन फिर्ता लिएपछि उक्त विधेयक संर्वसम्मतले पारित भएको थियो। यस्तै प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान ऐनलाई संशोधन गर्न बनेको २०७७ (विधेयक २०८१) मा बिना कुनै संशोधन सर्वसम्मतिले पारित भएको छ।

यही सभामा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन्। दुई तिहाई मतसहित उनले विश्वासको मत प्राप्त गरेका हुन्। कोशी प्रदेशमा ९३ प्रदेशसभा सदस्य छन्। नेकपा (एमाले)का ४०, नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, राप्रपाका छ, नेकपा (एकीकृत समाजवादी)का चार र जसपाका एक प्रदेश सभा सदस्य छन्। कोशी प्रदेशमा नेपाली कांग्रेसको समर्थन र सहभागितामा एमालेको सरकार छ।

मत विभाजनको प्रक्रियामार्फत भएको मतदानमा पक्षमा ६६ मत प्राप्त भएको थियो भने विपक्षमा १५ मत प्राप्त भएको छ। एकीकृत समाजवादीका दुई सदस्यले मतदानमा भाग लिएनन्। मतदानका क्रममा प्रदेश सभाका ८३ सदस्य उपस्थित रहेका थिए। यसअघि मुख्यमन्त्री कार्कीले बैशाख ३१ गते विश्वासको मत लिएका थिए। गत भदौ १४ गते माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिनुपरेको हो।

यही अधिवेशनमा प्रदेश सभाको दोस्रो कार्यकालको २२ महिनासम्म विषयगत समितिका सभापति छनोट हुन सकेका थिएनन्। पछिल्लो समयमा केन्द्रीय राजनीतिमा आएको परिवर्तन पछि कोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेको समीकरण बनेपछि कोशी प्रदेशमा सातवटै समितिमा सर्वसम्मतले सभापतिहरु चयन भएका छन्। त्यसमा एमालेका तीन, नेपाली कांग्रेसका तीन र माओवादी केन्द्रका एक जना निर्विरोध निर्वाचित भएर कोशी प्रदेशसभामा सहमति, सहकार्य र एकता देखिन पुगेको छ। 

कोशी प्रदेशसभामा आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ल्याएको सिद्धान्त र प्राथमिकता तथा त्यसमा आधारित नीति र कार्यक्रमअनुसार सरकारले करिब ३५ अर्ब रूपैयाँको वार्षिक बजेट प्रस्तुत गरेको थियो। बजेटमा आएका प्रतिक्रिया र सुझावलाई मुख्यमन्त्री कार्कीले सकारात्मक रुपमा लिने र यसलाई विधि एवम् प्रक्रियाबाट परिस्कृत गर्ने घोषणा गरेपछि बजेट पनि सर्वसम्मतले पारित भएको थियो।

अधिवेशन समापनका अवसरमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले अब सरकारले कुरा गर्ने होइन काम गरेर देखाउनु पर्ने सुझाव दिँदै नेपाल निर्माण गर्न एमाले र नेपाली कांग्रेसको नयाँ समीकरण बनेको जानकारी दिए।

एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले अहिलेको सरकारले जनतालाई दिने सेवाप्रवाहलाई अझ व्यवस्थित गर्ने भन्दै सरकार बनेको थोरै समयमा प्रदेशबाट अस्थायी सवारी चालक अनुमतिपत्र दिने काम सुरु गर्नु र प्रदेशमा देखिएका बेरुजु खर्च घटाउनु सराहनीय रहेको बताए।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशसभा राजनीतिक अस्थिरताको छायाँ बन्न नहुने बताउँदै प्रदेश सभा स्वतन्त्र रुपमा चल्नुपर्ने जिकिर गरे। एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राईले सरकारले आन्दोलन र निर्वाचनताका जनतासँग गरेको कबुल पूरा गर्न सुझाव दिँदै सरकारले समयको संकेत बुझेर काम गर्न आग्रह गरे।

राप्रपा संसदीय दलका तर्फबाट निमसरि राजवंशीले सरकारको राम्रो कामको समर्थन र खराब कामको खबरदारी गर्ने जनाउँदै सरकारले चाडपर्वको समयमा सीमा क्षेत्रमा हुने तस्करी, लागु र दुर्व्यसनीलाई नियन्त्रण गर्न आवश्यक कदम चाल्नुपर्ने माग गरे जनता समाजवादी पार्टी संसदीय दलका नेता निर्मला तावा लिम्बूले आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने वातावरण हुँदाहुँदै पनि सरकारले आफूहरुसँग विश्वासको मतका लागि आग्रह नगरेकामा दुःख व्यक्त गरे। 

विगतमा विशेष समय र शून्य सममयमा उठेका प्रश्नहरुको जवाफ दिँदै आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले प्रदेशमा देखिएका समस्यालाई समाधान गर्न सरकार गम्भीर रहेको बताए। उनले संघमा कतिपय कानून निर्माण नभएकाले प्रदेश सरकार अप्ठ्यारोमा परिरहेको गुनासो गरे।

मुख्यमन्त्री कार्कीले हालसम्म प्रदेशसभाले ७० कानून बनाइसकेको जानकारी दिँदै आगामी हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा अघि सार्दै एक दर्जन कानून बनाउने गरी तयारी थालेको जानकारी दिए। रासस


प्रकाशित : आइतबार, असोज ६ २०८११४:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend