शुक्रबार, असार २० गते २०८२    
शुक्रबार, असार २० २०८२
images
images

सर्वसाधारणका लागि खुला गरेसँगै धरहरा चढ्नेको भीड, शुल्क टुंगो नलागुन्जेल नि:शुल्क

images
बिहीबार , असोज ३ २०८१
images
images
सर्वसाधारणका लागि खुला गरेसँगै धरहरा चढ्नेको भीड, शुल्क टुंगो नलागुन्जेल नि:शुल्क

शुल्क निर्धारण नभएसम्मका लागि संविधान दिवसको अवसर पारेर आजदेखि नि:शुल्क रुपमा खुला गरिएपछि चढ्न आउनेको भीड लागेको हो।

images
images

काठमाडौं- आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको भीड लागेको छ। शुल्क निर्धारण नभएसम्मका लागि संविधान दिवसको अवसर पारेर आजदेखि नि:शुल्क रुपमा खुला गरिएपछि चढ्न आउनेको भीड लागेको हो।

images
images

विसं २०७२ सालको भूकम्पले भत्किएको धरहरा पुनःनिर्माण गरी नौ वर्षपछि खुला हुँदा पहिलो दिनमा सर्वसाधारणको भीड लागेको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ। गतसाता मन्त्रिपरिषद्को बैठकले संविधान दिवसको अवसर पारेर आजदेखि धरहरा अस्थायीरूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो।

images
images

सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाईका प्रमुख कोषनाथ अधिकारीले प्रत्येक दिन ६ सयका लागि निःशुल्क धरहरा चढ्ने व्यवस्था गरिए पनि पहिलो दिनको मध्याह्नमै दुई हजार पाँचसयले धरहरा चढिसकेको जानकारी दिए।

images
images
images

'अहिले एकैपटकमा करिब एक हजारले अवलोकन गरिरहनुभएको छ,' उनले भने, 'लाइन लामो छ, दैनिक जम्मा ६ सयका लागि खुलाउने भनेका थियौँ। भीड बाक्लो भयो। तसर्थ तोकिएभन्दा बढीले धरहरा चढिसकेका छन्। अब ३:३० बजेसम्म भित्र छिर्न दिइन्छ, ४:३० बजे बन्द हुन्छ।'

उनले तत्कालका लागि धरहरा चढ्न निःशुल्क व्यवस्था मिलाइएको र यो अस्थायी व्यवस्थामात्रै रहेको बताए। शुल्कको विषय टुंगो लाग्न बाँकी रहेको र छिट्टै टुंगो लाग्ने उनको भनाइ छ।

सहरी विकास मन्त्रालयले धरहरा निर्माण गर्न जीआईटीसी रमन कन्स्ट्रक्सन जोइन्ट भेन्चर कम्पनीलाई ठेक्का दिएको थियो। विसं २०७२ फागुन ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा 'मेरो धरहरा, मै बनाउछु' भन्ने अभियान सुरु गरिएको थियो।

विसं २०७५ असोज १४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट धरहरा पुनःनिर्माण सुरु गरिएको थियो। विसं २०७८ बैशाख ११ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका थिए।

धरहरा चढ्नका लागि बुकिङ गर्न केन्द्रीय आयोजना कार्यान्वयन एकाइले ‘धरहरा डटकम डट जीओभी डट एनपी’ नामक वेबसाइट सञ्चालन गरेको छ। इकाइका अनुसार वेबसाइटमार्फत पनि बुकिङ गर्न सकिनेछ।

विसं १८८२ मा महारानी ललित त्रिपुरासुन्दरीको आदेशमा जनरल भीमसेन थापाद्वारा ६१ दशमलव ८८ मिटर अग्लो ११ तल्ले धरहरा निर्माण गरिएको थियो। विसं १९१३ मा धरहरा चट्याङ्ग परी भत्कियो। विसं १९२३ मा धरहराको जिर्णोद्वार गरिएको थियो।

विसं १९९० माघ २ मा महाभूकम्पमा परी धरहरा पुनःभत्किएको थियो। विसं १९९२ मा तत्कालीन राणा प्रधानमन्त्री जुद्धशम्सेर राणाद्वारा पुनःनिर्माण गरिएपछि धरहरा ११ तल्लाबाट नौ तल्लामा सीमित भएको थियो।

फेरि विसं २०७२ बैशाख १२ को विनाशकारी भूकम्पबाट धरहरा पूर्णरुपमा क्षतिग्रस्त भएको थियो। हाल पुनःनिर्माण गरी धरहरा सञ्चालनमा ल्याइएको हो। रासस


प्रकाशित : बिहीबार , असोज ३ २०८११५:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend