बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

वित्त कम्पनीमध्येकै महँगाे सेयर भएको नेपाल फाइनान्सका लगानीकर्ताले पछिल्लो महिनायता नै गुमाए प्रतिकित्ता १२४९ रुपैयाँ

इन्साइडर ट्रेडिङको खेलोफड्को हुँदा साना लगानीकर्ता मारमा

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज ३ २०८१
वित्त कम्पनीमध्येकै महँगाे सेयर भएको नेपाल फाइनान्सका लगानीकर्ताले पछिल्लो महिनायता नै गुमाए प्रतिकित्ता १२४९ रुपैयाँ

काठमाडौं- सेयर बजारका लगानीकर्तामाझ मात्रै नभएर संसदसम्म चर्चा पाएको नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले पछिल्लो महिनायता नै प्रतिकित्ता १२४९ रुपैयाँभन्दा बढीले सम्पत्ति गुमाएका छन्। 

१४ वर्षदेखि लगानीकर्तालाई लाभांश दिन नसकेको नेपाल फाइनान्सलगायत केही कम्पनीको सेयर मूल्य केही समयअघि अस्वभाविक ढंगले बढेको थियो। जतिबेला कृत्रिम ढंगले सेयरमूल्य बढाउने खेल भइरहेको चर्चासमेत चलेको थियो।

सोही कम्पनीको २६१४.९० रुपैयाँसम्म पुगेको सेयर मूल्य घटेर १३६५.९० रुपैयाँमा झरेको छ। पछिल्लो महिनामात्रै लगातार घटेपछि लगानीकर्ताको प्रतिकित्ता १२४९ रुपैयाँ गुमेको छ।

यसमा इन्साइडर ट्रेडरहरूले विभिन्न अफवाह फैलाउने र अस्वभाविक मूल्य बढाउने गरेका छन्। नियमन गर्ने नेपाल धितोपत्र बोर्ड कमजोर हुँदा साना लगानीकर्ता फसेका छन्। सोही कारण नेपाल फाइनान्सको सेयरमा साना लगानीकर्ताले ठूलो सम्पत्ति गुमाएका छन्। 

वित्त कम्पनीको प्रतिकित्ता सेयरमूल्य १ हजार रुपैयाँभन्दा तल रहेको बेला नेपाल फाइनान्सको सेयरमूल्य सबैभन्दा महँगो भएको थियो। 

नेपाल फाइनान्स निजी क्षेत्रको पहिलो वित्त कम्पनी हो। यसले आर्थिक वर्ष २०६७/६८ सालपछि लगानीकर्तालाई लाभांश दिन सकेको छैन। उक्त वर्ष भने कम्पनीले २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१६ प्रतिशत नगद गरी कुल २३.१६ प्रतिशत लाभांश वितरण गरेको थियो। 

पछिल्लो समय कम्पनीको खुद नाफा पनि घटेको छ। २०७९/८० मा २ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको नेपाल फाइनान्सले गत आव २०८०/८१ मा १ करोड ८१ लाख रुपैयाँभन्दा केही बढी मात्र खुद नाफा आर्जन गरेको कम्पनीको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ। 

गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार नेपाल फाइनानसको वितरणयोग्य नाफा २० करोड ८२ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ। यसको अर्थ कम्पनी लाभांश दिन सक्ने अवस्थामा छैन। नेपाल फाइनान्सको प्रतिसेयर आम्दानी २ रुपैयाँ ४८ पैसा छ भने प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ५२ पैसा छ। 

यति छोटो समयमै उच्च दरमा मूल्य बढ्ने कुनै आधार नहुँदा पनि नेपाल फाइनान्सको सेयरमूल्य किन बढ्यो भन्ने प्रश्न सांसदहरूले प्रतिनिधिसभा बैठकमा समेत गरेका थिए। 

सेयर बजारका खेलाडीहरूले कम्पनीको नामै तोकेर कारोबार गराउने परिपाटी बढेकाले वित्तीय अवस्था कमजोर भएका र लाभांश दिन नसक्ने अवस्थाका कम्पनीको पनि सेयरमूल्य अस्वभाविक वृद्धि भएको थियो। जसका कारण साना लगानीकर्ताले उच्च बिन्दुमा किन्दा ठूलो घाटा व्यहोरेका छन्। 


प्रकाशित : बिहीबार , असोज ३ २०८११४:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend