बिहीबार , असोज ३ गते २०८१    
images
images

लक्ष्यअनुसार उठ्दैन कर

images
सोमबार, भदौ ३१ २०८१
images
images
लक्ष्यअनुसार उठ्दैन कर

आन्तरिक राजस्व कार्यालय बागलुङले पछिल्लो तीन वर्षदेखि नै लक्ष्य भेटाउन सकेको छैन। यद्यपि कर संकलन भने उल्लेख्य रुपमा बढेको छ।

images
images

बागलुङ- हरेक कार्यालय, संघसंस्थाले लक्ष्य राखेर काम गर्ने चलन छ। लक्ष्यअनुसार कामको प्रगति पनि हुनुपर्छ। तर आन्तरिक राजस्व कार्यालय बागलुङले पछिल्लो तीन वर्षदेखि नै लक्ष्य भेटाउन सकेको छैन। यद्यपि कर संकलन भने उल्लेख्य रुपमा बढेको छ।

images
images
images

हरेक आर्थिक वर्षमा लक्ष्यको ७९ देखि ८० प्रतिशतमात्रै कर संकलन भएको छ। केहीवर्ष अघि शतप्रतिशतभन्दा धेरै कर संकलन भएको थियो। आर्थिक वर्ष २०८०/८१ म एक अर्ब २० करोड रूपैयाँ कर संकलन गर्ने लक्ष्य राखेपनि असार मसान्तसम्म कार्यालयले लक्ष्य भेट्न सकेन। बरु ७९ प्रतिशत मात्रै अर्थात् तोकिएको अवधिमा कुल ९६ करोड ५५ लाख ७८ हजार मात्रै कर संकलन भएको कार्यालय प्रमुख प्रमोदकुमार श्रीवास्तवले बताए।

साउन महिनामा आर्थिक कारोबार कम हुने भएकाले संकलन घटेको छ। साउनमा एक करोड ९३ लाख रूपैयाँ संकलनको लक्ष्य राख्दा ९१ लाख ३५ हजार रूपैयाँमात्रै संकलन भएको प्रमुख श्रीवास्तवले बताए।

आव २०७९/८० मा कार्यालयले एक अर्ब पाँच करोड ५१ लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष बनाएकामा ९५ करोड ३१ लाख रूपैयाँमात्रै संकलन गर्न सकेको थियो। लक्ष्यअनुसार कर असुल हुन नसक्नुलाई आर्थिक क्षेत्रको मन्दी, सहकारीमा आम नागरिकको विश्वास घट्नु र लघुवित्तको कारोबारमा आएको कमीलाई औँल्याउने गरिएको छ। बागलुङको हकमा सीवाइसी लघुवित्तको पोखराबाट कारोबार हुँदा यहाँ संकलन हुने लाखौँ रकम सरेको हो।

images

त्यस्तै अन्य संस्थाको पनि केही रकम अन्य संस्थामा सरेको छ। 'सहकारीको कारोबार घट्दा कर संकलन पनि घटेको छ', प्रमुख श्रीवास्तवले भने। गत आर्थिक वर्ष कार्यालयले ६० करोड ६९ लाख रूपैयाँ आयकर संकलन गर्ने लक्ष्य राखेकामा ५१ करोड ४९ लाख रूपैयाँ संकलन भएको छ।

त्यस्तै भ्याटतर्फ ३३ करोड ४७ लाख संकलन गर्ने लक्ष्य रहेकामा २७ करोड ५० लाख रूपैयाँमात्रै संकलन भएको छ।

अन्तशुल्कतर्फ पाँच करोड चार लाख संकलन गर्ने लक्ष्य रहेकामा चार करोड २० लाख रूपैयाँमात्रै संकलन भएको छ।

सामुदायिक वन उपभोक्ता समिति, अन्य निर्माण क्षेत्रका उपभोक्ता समिति र कतिपय व्यवसाय नै दर्ता नभएकाले कर संकलन हुन सकेको छैन। त्यस बाहेक असार मसान्तसम्ममा कैयौँ विकास निर्माण सम्पन्न नभएकाले कर संकलनमा ढिलाइ भएको हो। रासस


प्रकाशित : सोमबार, भदौ ३१ २०८११६:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend