शुक्रबार, असोज ४ गते २०८१    
images
images

अधिकांश धितोपत्र दलालको टीएमएसमा समस्या हुँदा कारोबार प्रभावित

images
सोमबार, भदौ ३१ २०८१
images
images
अधिकांश धितोपत्र दलालको टीएमएसमा समस्या हुँदा कारोबार प्रभावित

धितोपत्र कारोबार सञ्चालन नियमावली, २०७९ को व्यवस्था हेर्दा आजको घटनामा धितोपत्र दलाल व्यवसायीहरुको लापरबाही मात्र नभइ नियामकको पनि गम्भीर त्रुटी देखिएको जानकार बताउँछन्।

images
images

काठमाडौं- आज बिहान अधिकांश धितोपत्र दलाल (ब्रोकर) कम्पनीको अनलाइन कारोबार प्रणालीमा समस्या देखिएको छ।

images
images
images

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को अनलाइन कारोबार प्रणाली (नेप्से अनलाइन ट्रेडिङ सिस्टम-नट्स) मा पहुँच पुर्‍याउनका लागि ब्रोकरहरूले प्रयोग गर्ने ‘डाइरेक्ट नट्स एक्सेस’ (डिएनए) लगइन हुन नसक्दा समस्या देखिएको हो।

यद्यपि, के-कस्तो प्राविधिक कारणले डिएनएमा लगइन हुन सकेन र ब्रोकरहरूको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मा समस्या देखियो भन्ने अझै खुलेको छैन। 

साइबर सुरक्षा र पुँजीबजारको संवेदनशीलताका हिसाबले निकै गम्भीर यो घटनालाई डिएनएसम्बन्धी प्राविधिक सेवा उपलब्ध गराइरहेको कम्पनी र त्यस्तो सेवा लिइरहेका ब्रोकर कम्पनीहरूले सामान्य प्राविधिक समस्याका बताइरहेका छन् भने नियामक नेपाल धितोपत्र बोर्डले यस विषयमा अनभिज्ञता जनाएको छ।

images

नेपाल स्टक एक्सचेञ्जका सूचना अधिकारी मुराहरि पराजुलीले केही धितोपत्र दलालहरूको प्रणालीमा समस्या देखिएपछि कारोबार प्रभावित भएको पुष्टि गरे। यस विषयमा थप जानकारी लिइरहेको उनले बताए।

ब्रोकरहरूको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मा समस्या देखिँदा आज बिहान करिब २५ मिनेट कारोबार प्रभावित भएको कालिका सेक्युरिटिजका अध्यक्ष नरेन्द्रराज सिजापतिले राससलाई जानकारी दिए। के-कस्तो प्राविधिक समस्याका कारण टीएमएसमा अवरोध भएको हो भन्ने कुरा ब्रोकर कम्पनीहरूलाई डिएनए सुविधा उपलब्ध गराइरहेको कम्पनी वाइकोलाई जानकारी हुने उनको भनाइ छ।

ब्रोकर कम्पनीलाई डिएनए सुविधा उपलब्ध गराइरहेको वाइकोका प्रबन्धक अमृत आचार्यले आन्तरिक प्रणाली (नेटवर्क) मा समस्या देखिएका कारण केहीबेर डिएनए लगइन हुन नसकेको बताए।

'बिहान नेटवर्कमा केही समस्या देखिएको थियो, जसकारण कनेक्सनमा समस्या देखिएको हो। अहिले समस्या समाधान भइसकेको छ', उनले भने। अधिकांश ब्रोकर कम्पनीले वाइकोमार्फत सेवा लिइरहेकामा त्यस्तो सेवा लिइरहेका ६० प्रतिशत ब्रोकरहरूको टीएमएस प्रभावित भएको आचार्यको भनाइ छ। आजको घटनालाई साइबर सुरक्षाका दृष्टिले गम्भीर नभइ सामान्य प्राविधिक समस्याका रुपमा बुझ्न आचार्यले आग्रह गरे। 

धितोपत्र कारोबार सञ्चालन नियमावली, २०७९ को व्यवस्था हेर्दा आजको घटनामा धितोपत्र दलाल व्यवसायीहरूको लापरबाही मात्र नभइ नियामकको पनि गम्भीर त्रुटी देखिएको जानकार बताउँछन्। नियमावलीको व्यवस्थाअनुसार धितोपत्र कारोबार सदस्यहरूले त्यस्तो कारोबार सञ्चालन गर्न नेप्सेको प्रणालीसँग आबद्ध हुनेगरी आफै कारोबार व्यवस्थापन प्रणालीको स्थापना गर्नुपर्ने उल्लेख छ। तर धितोपत्र कम्पनीहरूले भने तेस्रो पक्षको कम्पनीका रुपमा वाइकोमार्फत सेवा लिइरहेका छन्।

त्यस्तै, नेटवर्कसम्बन्धी घटना, गडबडी र आक्रमण पहिचानका लागि सुरक्षा अनुगमन प्रणाली स्थापना गर्नुपर्ने, साइबर आक्रमणसम्बन्धी घटना र समस्याको निराकरणका लागि तत्काल सम्बोधन गर्ने व्यवस्था तथा सुरक्षाका लागि अनुगमन गर्नुपर्ने, बिजनेस रिकभरी म्यानेजमेन्ट प्रणाली स्थापना गर्ने, कारोबार व्यवस्थापन प्रणाली सञ्चालनका लागि आवश्यक पर्ने सर्भर भण्डारण (स्टोरेज) क्षमता, सुरक्षा व्यवस्थापन (फायरवाल), नेटवर्क र सैन स्वीच तथा अन्य पूर्वाधार निर्माण गर्नुपर्नेलगायत नियमावलीका व्यवस्था कार्यान्वयन भए नभएकोबारे नियामकले अनुगमन र कारबाही गर्न सकेको छैन।

नियामक नेपाल धितोपत्र बोर्डका प्रवक्ता डा नवराज अधिकारीले आजको घटनाबारे बोर्डमा कुनैपनि जानकारी नआएको बताए।

नेप्सेले धितोपत्र दलालहरूलाई आफै डाटा सेन्टर राख्न, प्रावधिक जनशक्ति राख्न भनेपनि धितोपत्र दलालहरूले तेस्रो पक्षबाट यो सुविधा लिँदै आएका छन्। रासस


प्रकाशित : सोमबार, भदौ ३१ २०८११५:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend