काठमाडौं- वैदेशिक रोजगारमा जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ परेका छन्।
आकर्षक तलबमा जापान पठाइदिने भन्दै तीन जनालाई ठगी गरेको अभियोगमा काठमाडौंको बुढानीलकण्ठ बस्ने झापाका ४२ वर्षीय रामकुमार जिमीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।
तीन जनाबाट ४ लाख ५० हजार रूपैयाँ लिइ सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२५ सुन्धाराबाट पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।