बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

उचाइतर्फ बढ्न अझै धरमर गरिरहेको छ सेयर बजार, ५० अंकले घट्दा १० अर्ब ३३ करोडको कारोबार

आइतबार, भदौ ३० २०८१
उचाइतर्फ बढ्न अझै धरमर गरिरहेको छ सेयर बजार, ५० अंकले घट्दा १० अर्ब ३३ करोडको कारोबार

काठमाडौं- लगातार २१९.९७ अंकको गिरावटपछि गएको साता अन्तिम कारोबारमा बिहीबार वृद्धितर्फ देखिएको सेयर बजार पुन: ओरालोतिर नै लागेको छ। 

यो साता पहिलो कारोबारमा आइतबार ५०.७३ अंकले घटेर बजार २६३७.७९ बिन्दुमा पुगेको छ। १० अर्ब ३३ करोड ९२ लाख रुपैयाँको कारोबार भएको बजारमा २४ कम्पनीको मात्र सेयर मूल्य बढेको छ। २१९ कम्पनीको सेयर मूल्य घटेको छ भने एउटा कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता पहिलो कारोबारमा आइतबार २५.४६, सोमबार ५५.८६ र मंगलबार १३.०९ अंकले घटेको बजार बुधबार पनि २२.७३ अंकले घटेको थियो। बिहीबार भने ७८.३१ अंकले बढेर बजार २६८८.५३ बिन्दुमा पुगेको थियो। 

कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजारमा चार सातायता भने अपेक्षाकृत वृद्धि हुन नसकेको हो। बजारमा लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा नै देखिन्छन्। अहिलेको अवस्थामा बजारप्रति लगानीकर्ताहरू विश्वस्त हुन सकेका छैनन्। 

लामो समय १८०० देखि २००० को बिन्दु आसपास रहेको बजार उच्च बिन्दुतर्फ बढिरहँदा अहिले धरमरम भइरहेको छ। बजारको लगातारको वृद्धिपछिको केही समय 'करेक्सन' देखिएको रुपमा विश्लेषकहरूले अर्थ्याइरहँदा लगानीकर्ताहरू दुविधामा देखिन्छन्। 

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने विश्लेषकहरूले बताइरहेका छन्। तर सबै सूचकहरूले साथ दिएको बताइए पनि बजार उचाइतर्फ बढ्न सकेको छैन। पर्ख र हेरको सोचमा देखिएका लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरूको तर्क छ। 

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते बजार ३०००.८१ को बिन्दुमा पुगेको थियो। भदौमा पनि उचाइतर्फकै लय समात्ने आँकलन भइरहँदा बजार धिमा गतिमा देखिएको हो।


प्रकाशित : आइतबार, भदौ ३० २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend