बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

मुस्ताङको साङ्तामा सोलारबाट विद्युतीकरण, ४४ लाखमा १० किलोवाट क्षमताको सौर्य ऊर्जा जडान

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ ३० २०८१
images
images
मुस्ताङको साङ्तामा सोलारबाट विद्युतीकरण, ४४ लाखमा १० किलोवाट क्षमताको सौर्य ऊर्जा जडान

गाउँ नजिकैको डाँडामा सोलारका प्यानल राखिएका छन्। सोलार प्यानल नजिकै घर बनाएर ब्याट्री भण्डारण गरेर राखिएको छ। प्यानल र ब्याट्री भएको घर परिसरलाई तारको घेराबार बनाइएको छ।

images
images

म्याग्दी- मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-५ साङ्तामा सौर्य ऊर्जाबाट विद्युतीकरण गरिएको छ। वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले साङ्तामा सोलार जडान गरेर विद्युतीकरण गरेको हो।

images
images

साङ्तामा तत्काल केन्द्रीय प्रसारण लाइनको विद्युत् पुग्ने सम्भावना नभएपछि सौर्य ऊर्जा जडान गरिएको मुक्तिक्षेत्र-५ का वडासदस्य छिरिङपासाङ गुरुङले बताए। '४४ लाख बजेटमा १० किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरिएको हो', उनले भने, 'साङ्ताका १३ घर लाभान्वित भएका छन्।' विद्युत् सुविधा भएपछि स्थानीयवासीको जनजीवन सहज भएको छ। 

images
images

मोबाइल चार्ज गर्न, रेडियो सुन्न, टेलिभिजन हेर्न, ल्यापटप चलाउन सहज भएको छ। स्थानीयवासीले उज्यालोका लागि यसअघि घरघरमा थोरै क्षमताको सोलार सेट जडान गरेका थिए।

images
images

गाउँ नजिकैको डाँडामा सोलारका प्यानल राखिएका छन्। सोलार प्यानल नजिकै घर बनाएर ब्याट्री भण्डारण गरेर राखिएको छ। प्यानल र ब्याट्री भएको घर परिसरलाई तारको घेराबार बनाइएको छ। पोल गाडेर तारमार्फत घर-घरमा विद्युत् आपूर्ति गरिएको छ। 

कर्णाली प्रदेशको डोल्पा जिल्लाको सिमानामा रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-५ को फल्याक गाउँबाट साङ्ता २८ किलोमिटर टाढा छ। साङ्तालाई मुस्ताङको कान्छो गाउँका रूपमा चिनिन्छ।

सबैभन्दा पछि पहिचान भएकाले साङ्तालाई कान्छो बस्ती भनिएको हो। साङ्तामा हालसम्म मोबाइल र इन्टरनेटको सुविधा पुगेको छैन। सूचना अदानप्रदानका लागि दुई घण्टा पैदल हिँडेर झमटङ डाँडामा पुग्ने गर्छन्।

वारागुङ मुक्तिक्षेत्र-५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले नेपाल टेलिकमसँग समन्वय गरेर साङ्तामा मोबाइल फोन सेवा विस्तारको तयारी गरेको बताए। 

दश वर्षअघि सडक सुविधा पुुगेको साङ्तामा हालै एक घर, एक धारासहितको खानेपानी आयोजना निर्माण गरिएको छ। रासस


प्रकाशित : आइतबार, भदौ ३० २०८१०९:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend