बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

ब्याजदर घट्दा सरकारलाई फाइदा, कोभिडपछि सबैभन्दा सस्तो ब्याजदरमा उठाउँदै आन्तरिक ऋण

शुक्रबार, भदौ २८ २०८१
ब्याजदर घट्दा सरकारलाई फाइदा, कोभिडपछि सबैभन्दा सस्तो ब्याजदरमा उठाउँदै आन्तरिक ऋण

सरकारले चालु आर्थिक वर्ष आन्तरिक ऋण मुद्रास्फीति दरभन्दा तल्लो दरमा रहेर उठाएको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा नेपालको वार्षिक औषत मुद्रास्फीति दर ५.४४ प्रतिशत कायम भएको छ।

काठमाडौं- आन्तरिक ऋणको ब्याजदर कोभिड १९ पछिकै सबैभन्दा सस्तो बिन्दुमा आएको छ। बुधबार सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण ३.९५ प्रतिशतमा उठाएको छ। जुन २०७७ माघ १४ गतेयताकै आन्तरिक ऋणको सस्तो ब्याजदर हो।

आर्थिक वर्ष २०७७/७८ को माघ १४ गते भएको आन्तरिक ऋणको बोलकबोलमा कट अफ रेट ३.८८ प्रतिशत र सोही वर्षको माघ २० गते ३.९ प्रतिशत कायम भएको थियो। उक्त वर्ष सरकारले १ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण औषत ब्याजदर ४.३३ प्रतिशतमा उठाएको थियो। उक्त आर्थिक वर्षपश्चात सरकारले बुधबार सबैभन्दा कम ब्याजदरमा आन्तरिक ऋण उठाएको हो। 

चालु आर्थिक वर्ष सरकारले ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेकोमा हालसम्म ७० अर्ब रुपैयाँ उठाइसकेको छ। सरकारी स्रोतमा दबाब भएपछि सरकारले चालु आर्थिक वर्षको साउन १६ गतेबाटै आन्तरिक ऋण उठाउन सुरु गरेको हो।
 
साउन १६ गते उठाएको आन्तरिक ऋणको ब्याजदर ५.२८ प्रतिशत, साउन २३ गते उठाएको ऋणको ब्याजदर ५.२२ प्रतिशत, साउन ३० गते उठाएको ऋणको ब्याजदर ५.०४ प्रतिशत, भदौ ५ गते उठाएको आन्तरिक ऋणको ब्याजदर ४.९१ प्रतिशत, भदौ १२ गते उठाएको आन्तरिक ऋणको ब्याजदर ४.३९ प्रतिशत, भदौ १९ गते उठाएको आन्तरिक ऋणको ब्याजदर ४.६३ प्रतिशत र भदौ २६ गते उठाएको आन्तरिक ऋणको ब्याजदर ३.९५ प्रतिशत गरी कुल औषत ब्याजदर ४.७७ प्रतिशत कायम भएको छ। 

सरकारले विकास ऋणपत्रमार्फत दीर्घकालीन आन्तरिक ऋण उठाउँछ भने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलमार्फत अल्पकालीन आन्तरिक ऋण उठाउँदै आएको छ। 

सरकारले चालु आर्थिक वर्ष आन्तरिक ऋण मुद्रास्फीति दरभन्दा तल्लो दरमा रहेर उठाएको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा नेपालको वार्षिक औषत मुद्रास्फीति दर ५.४४ प्रतिशत कायम भएको छ। 

चालु आर्थिक वर्ष सरकारले ५.५ प्रतिशत मुद्रास्फीति दरको लक्ष्य तोकेको छ। यस्तै राष्ट्र बैंकले भने चालु आर्थिक वर्ष मुद्रास्फीति दर ५ प्रतिशतमा सीमित हुने भन्दै नीतिगत दर ५.५ प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरेको छ।


प्रकाशित : शुक्रबार, भदौ २८ २०८११२:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend