सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

त्रिपालले छाएको झोपडीमा कष्टकर अवस्थामा छन् वनहराका भूमिहीन

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २८ २०८१
images
त्रिपालले छाएको झोपडीमा कष्टकर अवस्थामा छन् वनहराका भूमिहीन

राष्ट्रिय भूमि अधिकार मञ्च सुदूरपश्चिम प्रदेशका सचिव रामबहादुर चुनारा लामो समयदेखि झोपडीमै कष्टकर जीवन बिताउँदै आएका परिवारलाई सुरक्षित ठाउँमा पुनःस्थापन गर्ने जिम्मा स्थानीय तह, प्रदेश र संघीय सरकारको भएको बताउँछन्।

images
images

कञ्चनपुर- डेढ दशकदेखि वनहरा नदी नजिक त्रिपालले छाएको  झोपडीमा ५४ वर्षीय तुलाराम बोहरा बस्दै आएका छन्। दैनिक मजदूरी गरी उनले परिवारको भरणपोषण गर्दै आएका छन्।

images
images
images

सामुदायिक वनको जग्गामा उनीसँगै २६ परिवारको त्यहाँ बसोबास छ। जोखिम मोलेर नदी किनारमा बसेका उनीहरू बाढीमा बगिने ठूलो चिन्ता छ।

images
images

'चुरे क्षेत्रमा पानी दर्किन थालेपछि  झोपडी छाडेर सुरक्षित स्थानमा जानुपर्छ', बोहराले भने, 'पूर्वमा वनहरा नदी, पश्चिममा खोल्सो, दुवैमा भेल आए भाग्न सकिदैन, उत्तरतर्फको सामुदायिक वनको उच्च भाग हाम्रो शरण लिने स्थल हो।' 

images
images

'डेढ दशकअघिदेखि बस्दै आएको ठाउँ छाडेर अन्यत्र कुन ठाउँमा जाने भन्ने निक्र्यौल पनि गर्न सकिएको छैन', बोहरा भन्छन्, 'त्यही ठाउँमा बस्दा कुन दिन ज्यान जाने हो भन्ने चिन्ता छ, नदीको बाढी र जङ्गली जनावरको पनि उत्तिकै डर छ।'

सुरक्षित स्थानमा झोपडी सार्न ठाउँ खोज्दै हिँडे पनि वनहराका भूमिहीनले उपयुक्त स्थान फेला पारेका छैनन्। शुक्लाफाँटा नगरपालिकासँग अनुनुयविनय गरे पनि बेवास्ता गरिएको मानध्व लुहार बताउँछन्।

मजदूरी गर्न नपाउँदा हातमुख जोर्न समस्या हुने मानबहादुर बोहराले बताए। 'झोपडीमा मुसो छिरेपनि खाली पेट फर्कने अवस्था छ', उनले भने, 'एक दाना अन्न छैन, राहतका लागि नगरपालिकादेखि दातृ निकायसम्म गुहार्दै आएका छौँ, कतैबाट अहिलेसम्म सहयोगी हात अगाडि बढ्न सकेका छैनन्।'

भोकभाकै बस्नुपर्ने अवस्था आउन लागेको उनले उल्लेख गरे। मजदूरी नपाइँदा खानकै समस्या भएपछि चार परिवार भारततर्फ पलायन भएका छन्।

'मजदूरीका लागि भारतमा गएका छोराले पैसा नपठाउँदा समस्या छ', बोहराले भने, 'आफू पनि भारतमा मजदूरी गर्न जाऊँ भने पहिचान खुल्ने प्रमाण छैन, प्रमाण नहुँदा सीमा क्षेत्रका भारतीय सुरक्षाकर्मीले छिर्न दिँदैनन्, सीमाबाट फर्केर आउनुपर्ने बाध्यता छ।'

झोपडीमा बालबालिका र बूढापाका मात्र बाँकी रहेको उनी बताउँछन्। दातृ निकायले उपलब्ध गराएका झोपडीको छानामा राखेका त्रिपाल पुराना हुँदा ठाउँठाउँबाट फाटेका छन्। थोरै वर्षा हुँदा पानी झोपडीभित्र छिर्ने गरेको छ। लामखुट्टे, विषालु सर्प, बिच्छीको के कुरा?

झुलको व्यवस्थाका लागि दातासँग अनुरोध भएको तर केही हात नलागेको कलावती दमाईले बताइन्। कठयाङ्ग्रिँदो चिसोमा आगो बालेर रात काटेको अघिल्लो हिउँको मन नै कटक्क खाने पीडा कलावतीले सुनाइन्।

सामुदायिक वनबाट दाउरा सङ्कलन गर्न नपाउँदा नजिकैको मसानघाटमा शवदाहपछि फालिएका दाउरा ल्याएर बाल्नुपर्ने अवस्था रहेको उनी बताउँछिन्।

'जोखिमयुक्त ठाउँमा निकै कष्ट सहेर बस्ने रहर कसैलाई पनि हुँदैन', राधिका सुनारले भनिन्, 'नेपाली नागरिक भए पनि सुरक्षित बस्नका लागि घर छैन, अन्न उत्पादनका लागि जग्गा छैन, स्वास्थ्योपचारको व्यवस्था छैन, रोजगारीको प्रबन्ध छैन, आधारभूत सेवा सुविधाबाट वञ्चित भएर बस्नुपर्ने अवस्था छ।'

राष्ट्रिय भूमि अधिकार मञ्च सुदूरपश्चिम प्रदेशका सचिव रामबहादुर चुनारा लामो समयदेखि झोपडीमै कष्टकर जीवन बिताउँदै आएका परिवारलाई सुरक्षित ठाउँमा पुनःस्थापन गर्ने जिम्मा स्थानीय तह, प्रदेश र संघीय सरकारको भएको बताउँछन्।

'बासस्थानको खोजी गर्दै असुरक्षित ठाउँमा बस्नका लागि दुई दशकअघि आएका अधिकांश परिवारले शुक्लाफाँटा नगरपालिकामा बसाइँसराइ दर्ता गराएका छन्', उनले भने, 'नगरपालिकाका बासिन्दा भए पनि नगरपालिकाकातर्फबाट सुरक्षित ठाउँमा पुनःस्थापना गर्ने, रोजगारीको प्रबन्ध मिलाउनेदेखि राहत उपलब्ध गराउनेसम्मका कार्य गर्नुपर्ने हो।' रासस


प्रकाशित : शुक्रबार, भदौ २८ २०८११०:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend