बिहीबार , असोज ३ गते २०८१    
images
images

‘बा’को आदर्शमा अडिग उद्योगी सुरानाको चिन्ता - युवामा उद्यमी बन्ने आशा नै छैन

images
शुक्रबार, भदौ २८ २०८१
images
images
‘बा’को आदर्शमा अडिग उद्योगी सुरानाको चिन्ता - युवामा उद्यमी बन्ने आशा नै छैन

केही गर्छु भन्ने युवालाई उद्यमी बनाउन ठूलो कुरा नभएको बताउँदै उनले युवाहरूमा उद्यमी बन्ने वा स्वरोजगार बन्ने आशा नै हराएको बताए। स-सानो कामबाट मनग्य आम्दानी गर्न सकिने कुरा समाजमा सिकाउन नसकिएको उनको बुझाइ छ।

images
images

इटहरी- उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना उद्योगीको समस्या र कमजोरीहरू खुलस्त राख्छन्। उद्योगी व्यवसायीले गरेका कमजोरीलाई पनि औँल्याउँदै सरकारलाई खबरदारी गर्छन्। पछिल्लो समय स्टार्टप बिजनेसमार्फत युवाहरूलाई स्वरोजगार तथा उद्यमी बनाउने ध्याउन्नमा लागेका छन् सुराना। 

images
images
images

सोही क्रममा काठमाडौं विश्वविद्यालयसँग युवा उद्यमशीलता तथा रोजगारीका सम्भावनाको विषयमा बारम्बार बहस छलफल गरिरहेका छन्। सुराना नेतृत्वको उद्योग संगठन मोरङले स्टार्टप बिजनेसमा नयाँ प्रस्ताव आह्वान गर्नेदेखि सीप प्रदान गर्नेसम्मको काम गरिरहेको छ। 

सुराना मोरङका पुस्तैनी उद्योगी हुन्। उनका जिजुहजुरबा भारतबाट नेपाल आएका हुन्। सन् १८६० मा नेपाल आएको सुराना परिवारले धरानमा व्यापार सुरु गरेको हो। पूर्वी पहाडको प्रमुख व्यापारिक केन्द्र धरानबाट सुराना परिवारले व्यापारिक साम्राज्य विस्तार गर्दै गयो। हाल पनि उनको पुरानो पुस्ता धरानमै छन्। 

विसं १९९६ मा उनका हजुरबुबा लालचन्द्र सुराना धरानबाट विराटनगर गएका हुन्। ७ सय ८० रुपैयाँ लिएर विराटनगर छिरेका लालचन्द्रले ५ सय १० रुपैयाँमा १० कट्ठा जग्गा खरिद गरे। बाँकी पैसाले जुटको व्यापार थालेको बताउँछन् सुराना। बिस्तारै कपडाको आयात गरेर व्यापार थालेका उनका हजुरबाको ४० वर्षकै उमेरमा निधन भयो।  

images

२००७ सालमा मोरङ व्यापार संघको स्थापना उनकै हजुरबाको पहलमा भएको बताउँछन् उनी। हजुरबाको निधनको समय उनका बा दिपचन्द्र १२ वर्षका मात्र थिए। भारतमा पढिरहेका दिपचन्द्र केही समयपछि पूर्णरुपमा नेपाल फर्किए। बाल्यकालमै व्यापारमा होमिएका दिपचन्द्र नेपाली कांग्रेसको राजनीतिमा समेत होमिए। व्यापारसँगै राजनीति गरेका उनी राजपरिवारसँग पनि निकट रहेको बताउँछन् राकेश सुराना। 

जुट प्रेस चलाएका बा दिपचन्द्रले किसानबाट जुट किनेर भारतमा निकासी गर्थे। दीपक फ्लोर मिलदेखि वायर फ्याक्ट्री र प्लास्टिक उद्योग उनैले सञ्चालनमा ल्याए। ट्रेडिङ बिजनेसबाट उद्योगमा होमिएको सुराना परिवार त्यसबेलासम्म स्थापित घराना भइसकेको थियो। 

राकेश पनि सँगै बिजनेसमा होमिए। सुरुवातमा धेरै पटक घाटामा गए उनी। उनका बा दिपचन्द्रले जहिल्यै प्रेरणा दिए। एकपटक घाटा भयो भने सिकेर अगाडि बढ्ने हो भनेर प्रोत्साहन गरिरहन्थे। जसलाई अहिले पनि राकेशले स्मरण गरिरहेका छन्।

राकेशले ड्राइभिङ लाइसेन्स निकालेको पहिलो दिन नै गाडी दुर्घटनामा पर्‍यो। उनी निक्कै अत्तालिए। तर बाले ‘केही भएको छैन, कहिलेकाहिँ यस्ता ठक्करहरू आउँछन्, आत्तिनु हुँदैन, सम्हालिएर अगाडि बढ,’ भनेको स्मरण गर्छन् उनी। कुनै पनि कुरालाई आवेग र उत्तेजनामा निर्णय गरेर पछुताउने काम गर्न हुँदैन भन्ने ‘बा’बाट सिकेको उनले बताए।

दुई छोरीका बा सुरानाले बाँकी पुस्तालाई पनि उद्यमी बनाउने योजना बनाएका छन्। उनकी जेठी छोरीले स्टार्टप बिजनेसको तयारी गरिरहेकी छिन्।

‘बा’ले राजनीतिमा चासो दिए तर आफूले उद्योगीकै संगठनमा आफूलाई स्थापित गराउने उद्देश्य राखेको बताउँछन् सुराना। प्रतिष्ठित उद्योगी महेन्द्र गोल्छाले उद्योग संगठनमा ल्याएपछि व्यापार बाहिरको खुला वातावरण बुझ्न पाएको उनको अनुभव छ। 

उनले आफ्ना ‘बा’लाई व्यापारको मात्र होइन जीवनकै आदर्श मान्ने गरेका छन्। ‘बा’ले दिएका उपदेशलाई अनुसरण गर्ने गरेको उनले बताए। ‘मलाई ‘बा’ले भन्नु हुन्थ्यो कि गलत खर्च नगर्नु। कमाइ तिम्रो हातमा छैन, खर्च तिम्रो हातमा छ। कुन बेला कति कमाइ वा घाटा हुन्छ तिमीले चाहेर हुँदैन। तर खर्च र बचत तिमीले चाहेको जति मात्र हुन्छ। त्यसैले औकातभन्दा बढी खर्च गर्ने बानी राम्रो होइन,’ उपदेश स्मरण गर्दै उनले भने। 

अहिले पनि आफूले धेरै ऋण लिएर व्यवसाय नगरेको उनको भनाइ छ। ‘समस्या परेको बेला सहयोग गर्ने कोही हुँदैन। सबै दर्शक हुन्छन्। तर खर्च गर्ने बेला केही दिन सबै मान्छेले साथ दिन्छन्। त्यसैले सोचेरमात्र खर्च गर्नुपर्छ’ उनले भने। इमान्दारिता र नैतिकता छाड्दा सजिलै पैसा र प्रतिष्ठा कमाउन सकिने तर त्यसलाई टिकाउन नसकिने उनको बुझाइ छ। इमान्दारिताले कमाएको प्रतिष्ठा लामो समय टिक्ने बताउँदै उनले नैतिकतालाई आफ्नो मन्त्र मान्नुपर्ने धारणा राखे।  

एक समय ठूलो आर्थिक अभाव भोगेको बताउँदै उनले त्यसबेला पनि इमान्दारिता नछाडेको स्मरण गरे। धरानको बिपी प्रतिष्ठानबाट अक्सनका सामान किनेर बिक्री गरेको उनको अनुभव छ। विभिन्न आयात निर्यातको व्यापार थालेको बताउँदै उनले अहिलेको वर्तमान अवस्थाको मूल्यांकन गरेर व्यापार गर्नुपर्ने बताए।  

रिलायन्स थर्मकुल प्रालीका मालिक सुरानाले नेपाल मल्टी ट्रेड कम्पनी पनि चलाएका छन्। जसमार्फत भारतबाट अर्गानिक झोल मल ल्याएर बिक्री गर्छन् उनी। विभिन्न सामानको आयात निर्यातमा उनले चासो दिएका छन्। चासोमात्र होइन राम्रो कारोबार गर्छन् उनी। 

रिलायन्स सुरु गर्दा उनले धेरै समस्याको सामना गर्नुपर्‍यो। प्रशासनिक र आर्थिक समस्यामा पिरोलिए सुराना। साढे दुई करोड रुपैयाँमा उद्योग स्थापित गर्ने योजना बनाएका उनको पाँच करोड रुपैयाँ लगानी भयो। प्रविधिमैत्री उद्योग चलाएका उनले जनशक्तिभन्दा प्रविधिमा जोड दिएका छन्। हाल ३७ जना नेपाली कामदारले रिलायन्समा रोजगारी पाएका छन्। 

वर्तमान अर्थतन्त्रको बारेमा भने उनको बुझाइ फरक छ। अर्थतन्त्रलाई चलायमान बनाउन दक्ष जनशक्ति नभएको तर्क गर्छन् उनी। ‘केही सीमित स्वार्थी व्यापारीको कारण अर्थतन्त्रमा समस्या देखिएको छ। व्यापारीले नेता र कर्मचारीसँगको सम्बन्धलाई दुरुपयोग गरेर यो अवस्था आएको हो’ उनले भने, ‘कतिपय अवस्थामा प्रक्रियागत जटिलता छ। सबै व्यापारी गलत छैनन्। तर करोडौँ करछली गर्नेलाई कारबाही हुँदैन तर सामान्य त्रुटि गर्नेले धेरै ठूलो सजाय पाउने गरेको छ। समस्या यहीँनेर छ।’ 

उद्योग दर्ता गराउन सिफारिसदेखि घुस खुवाउनु पर्ने बताउँदै उनले एकद्वार प्रणालीबाट दर्ता र सञ्चालनको अवस्था सृजना गर्नुपर्ने सुझाव दिए। सरल नीति बनाउन आग्रह गर्दै उनले हरेक व्यापारी कर चोर हुन् भन्ने 'माइन्डसेट' हटाउनुपर्ने बताए।  

प्रविधिको समयमा कसरी कारोबार गर्ने भन्नेबारेमा उद्योगी व्यापारी अनभिज्ञ भएको उनको टिप्पणी छ।

युवापुस्ता नेपालबाट बाहिर जानु गलत नभए पनि भोलि कस्तो नेपाल बन्छ भन्नेमा चिन्ता लागेको बताउँछन् सुराना। वृद्धवृद्धाको नेपाल बन्छ कि भन्नेमा चिन्तित छन् उनी। ‘मुख्य उपभोक्ता विदेशमा भएपछि कसलाई सामान बिक्री गर्ने? कसको लागि उत्पादन गर्ने? बजार नभएपछि व्यापार कसरी हुन्छ?’ उनले प्रश्न गरे। 

नयाँ पुस्तालाई आशा देखाउन नसकेकोमा चिन्ता व्यक्त गर्छन् उनी। केही गर्छु भन्ने युवालाई उद्यमी बनाउन ठूलो कुरा नभएको बताउँदै उनले युवाहरूमा उद्यमी बन्ने वा स्वरोजगार बन्ने आशा नै हराएको बताए। स-सानो कामबाट मनग्य आम्दानी गर्न सकिने कुरा समाजमा सिकाउन नसकिएको उनको बुझाइ छ। तल्लो तहबाट उठेर मात्र प्रगति गर्न सकिन्छ भन्ने चेतना विकास गर्नुपर्ने सुरानाको धारणा छ। 


प्रकाशित : शुक्रबार, भदौ २८ २०८१०८:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend