काठमाडौं- मारुती सुजुकी इन्डियाले भारतबाट युरो तथा जापानमा विद्युतीय सवारी निर्यात गर्ने योजना बनाएको छ। कम्पनीका एमडी तथा सीईओ हिसाशि टाकेचीले मंगलबार मारुती सुजुकी इन्डियाले उक्त तयारी गरिरहेका बताएका हुन्।
सुजुकी इन्डियाले उच्च विशेषतायुत्त र हाइ रेन्ज दिने विद्युतीय कार उत्पादन गरिरहेको टाकेचीले बताएका हुन्। सुजुकीले भारतमा एक पटकको फुल चार्जमा ५ सय किलोमिटर रेन्ज दिने र ६० किलोवाट आवर ब्याट्री प्याक भएको कार उत्पादन गरिरहेको जनाएको छ।
टाकेचीले उक्त कुरा भारतीय सवारी उत्पादक व्यवसायीहरुको समूह सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (एसआईएएम)को ६४औँ वार्षिक सभामा बताएका हुन्। ‘हामीसँग यस्ता धेरै वटा उत्पादन हुने छन्। उपभोक्तालाई भरोसा मिल्नेगरी उत्पादन तथा सेवा प्रदान गर्नेगरी काम भइरहेको छ,’ उनले भनेका छन्।
विद्युतीय कारबारे उपभोक्तामा रहेको दुविधा अन्त्य हुनेगरी सुजुकीले विद्युतीय कार बजारमा ल्याउने दाबी उनको छ। बिक्रीपछिको सेवालाई बलियो बनाएर उपभोक्तलाई उत्पादन र त्यसबाट सन्तुस्टि दिने दाबी कम्पनीले गरेको छ।
युरोप र जापानमात्र होइन भारतमा उत्पादित सुजुकीका विद्युतीय कार नेपाली बाजरमा समेत आउने छन्। हालसम्म सुजुकीले विद्युतीय कार उत्पादन नगरेकाले नेपाल सुजुकीको विद्युतीय कार आउन सकेको छैन। विद्युतीय कार नभएको एकाध ब्रान्ड मध्ये सुजुकी पनि रहेको छ। २०२५ को मध्यसम्ममा सुजुकीको पहिलो विद्युतीय कार नेपाली बजारमा आइपुग्ने अनुमान गरिएको छ।
अटो एक्सपो २०२३ मा मारुती सुजुकीले ल्याउने पहिलो विद्युतीय एसयूभीको कन्सेप्ट सार्वजनिक गरेको थियो।
भारतको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी मारुती सुजुकी इन्डियाले हालसम्म एउटा पनि विद्युतीय कार उत्पादन गरेको छैन। कम्पनीले अब भने विद्युतीय कारको उत्पादनलाई प्राथमिकता दिने नीति लिएको छ। मारुती सुजुकीले ‘ईभीक्स’ कन्सेप्ट विद्युतीय कार सार्वजनिक गरेको र यही कम्पनीको पहिलो विद्युतीय हुनेछ।
सुजुकी मोटर कर्पोरेसन जापानले डिजाइन तथा डेभलप गरेको यो कन्सेप्ट कार भविष्यमूखी भएको अहिले भएका सबै विद्युतीय कारभन्दा अलग हुने कम्पनीले दाबी गरेको छ।
यो कार ६० किलोवाट आवर ब्याट्रीप्याकमा उपलब्ध हुने र यसले ५५० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ। सन् २०२५ को सुरुवातमा बजारमा ल्याउने दाबी गरिएको छ।
भारतीय–जापानी कार उत्पादन कम्पनी मारुती सुजुकीले २०२५ सम्ममा विद्युतीय, हाइब्रिडलगायत गरि कुल १६ वटा नयाँ कार बजारमा ल्याउने योजना केही समयअघि सार्वजनिक गरेको थियो।
सुजुकीले हाइब्रिड, फ्लेक्सफ्युल, बायोफ्युल तथा पूर्णविद्युतीय कार उत्पादन गर्दै जाने बताएको छ। यो सबै चरण पार गरे पूर्णविद्युतीकरणमा पुग्न ७ देखि १० वर्ष लाग्ने कम्पनीले जनाएको छ।
२०२४ जनवरीमा सुजुकीले भारतमा ठूलो लगानी थप गर्ने घोषणा गरेको थियो। भाइब्रेन्ट गुजरात ग्लोबल समिट २०२४ मा सहभागी हुन आएका सुजुकी मोटर कर्पका निर्देशक तथा अध्यक्ष टी सुजुकीले उक्त घोषणा गरेका थिए।
सुजुकीले गुजरातमा रहेको सवारी उत्पादन प्लान्टमा समग्रमा ३८ हजार २ सय करोड भारु लगानी गर्ने बताएको थियो। लगानी थप परेपछि हालको उत्पादनलाई दोबर बनाउने लक्ष्य सुजुकीले लिएको छ।
आर्थिक वर्ष ०३१ सम्म पुग्दा उक्त प्लान्टको उत्पादन क्षमता वार्षिक ४० लाख वटा कार पुग्ने कम्पनीले जनाएको थियो। सुजुकीले भारतमा कार उत्पादन क्षमता बढाउन चाहेरै लगानी बढाइएको उनको भनाइ थियो। ‘१० वर्षअघि हामीले अपेक्षा गरेभन्दा भारतमा कार उत्पादन १.७ प्रतिशत र भारतबाट हुने निर्यात बिक्री २.६ प्रतिशतले बढेको छ,’ सुजुकीले भनेका थिए, ‘यसका लागि हामी प्रधानमन्त्री मोदीको सक्रियतालाई धन्यवाद दिन्छौँ र भारतको आर्थिक विकास प्रति खुसी छौँ।’
सुजुकी आफैँ र उसको भारतीय साझेदार मारुती सुजुकीले पनि गुजरातमा वार्षिक १० लाख कार उत्पादन गर्ने गरि आफ्नो क्षमता विस्तार गरिरहेको छ। मारुती सुजुकीले सो क्षमता कार उत्पादन २०२९ मा पुग्दा भेट्ने बताएको छ।