बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

वृद्धितर्फको अपेक्षाविपरीत कमजोर देखियो सेयर बजार, लगातार १९७ अंकले घट्यो

मंगलबार, भदौ २५ २०८१
वृद्धितर्फको अपेक्षाविपरीत कमजोर देखियो सेयर बजार, लगातार १९७ अंकले घट्यो

काठमाडौं- गएको साता समग्रमा २२.२ अंकले घटेको सेयर बजारमा यो साताको तीन कारोबारमा नै ओरालोतिर लागेको छ। आइतबार २५.४६ र सोमबार ५५.८६ अंकले घटेको बजार मंगलबार पनि ओरालोतिर नै देखिएको छ। बजार लगातार १९७.२४ अंकले घटेको छ।

मंगलबार १३.०९ अंकले घटेर बजार २६३२.९४ बिन्दुमा झरेको छ। ६७ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ७ अर्ब २४ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ। १७० कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजारमा तीन सातायता भने अपेक्षाकृत वृद्धि हुन नसकेको हो। बजारमा लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा नै देखिन्छन्। अहिलेको अवस्थामा बजारप्रति लगानीकर्ताहरू विश्वस्त हुन सकेका छैनन्। 

गएको साता पहिलो कारोबारमा आइतबार ५३.६३ अंकले घटेको बजार सोमबार १२७.३२ र मंगलबार ६.९४ अंकले बढेको थियो। बजार बुधबार ९०.७३ र बिहीबार १२.१० अंकले घटेको थियो। यो साता पनि तीन दिनको कारोबार घट्दा बजार लगातार पाँच कारोबारमा ओरालोतिर देखिएको छ।

लामो समय १८०० देखि २००० को बिन्दु आसपास रहेको बजार उच्च बिन्दुतर्फ बढिरहँदा तीन सातायता कमजोर देखिएको छ। बजारको लगातारको वृद्धिपछिको केही समय 'करेक्सन' देखिएको रुपमा विश्लेषकहरूले अर्थ्याइरहँदा लगानीकर्ताहरू दुविधामा देखिन्छन्। लगानीकर्ताहरू बढ्दो बजारप्रतिको विश्वासमा फर्कन सकेका छैनन्।

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने विश्लेषकहरूले बताइरहेका छन्। पर्ख र हेरको सोचमा देखिएका लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने उनीहरू बताउँछन्।

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते बजार ३०००.८१ को बिन्दुमा पुगेको थियो। भदौमा पनि उचाइतर्फकै लय समात्ने आँकलन भइरहँदा बजार धिमा गतिमा देखिएको हो।


प्रकाशित : मंगलबार, भदौ २५ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend