शनिबार, असोज ५ गते २०८१    
images
images

सुरक्षित यात्रा र महँगी नियन्त्रणका लागि सांसदले गराए सरकारको ध्यानाकर्षण

images
सोमबार, भदौ २४ २०८१
images
images
सुरक्षित यात्रा र महँगी नियन्त्रणका लागि सांसदले गराए सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको बागमतीसहितका नदी किनारामा निर्माण निषेधित क्षेत्र तोक्ने मापदण्डसम्बन्धी फैसलाप्रति असन्तुष्टिसमेत व्यक्त गरेका छन्।

images
images

काठमाडौं- सांसदहरुले नजिकिँदै गएको चाडपर्वमा सुरक्षित यातायात सेवा र महँगी नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

images
images
images

प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसद बिजुला रायमाझीले आउँदै गरेको चाड दसैँमा काठमाडौं उपत्यकाबाट लाखौँको सङ्ख्यामा नागरिक बाहिरिने भन्दै लामो दुरीको यात्रा सुरक्षित बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।

उनले सवारी दुर्घटनाको जोखिम न्यूनीकरणका लागि सडक मर्मत र सम्भार गर्न माग गरे। 'मनसुनका कारण पहाडका सडक क्षतविक्षत छन। लामा दुरीका सडक जस्तै मुग्लिन-नारायणगढ, नारायणगढ-बुटवल खण्ड अत्यन्त जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ', सांसद रायमाझीले भने, 'उक्त सडक खण्डमा सामान्य समयमा पनि लामो समय जाममा बस्नुपर्ने बाध्यता छ। अब दसैँका समयमा काठमाडौंबाट बाहिरने यात्रु यही सडकमा हिँड्दा अवस्था के होला?'

यस्तै, अर्का सांसद रामकृष्ण यादवले चाडपर्व नजिकिँदै गर्दा अहिल्यै दैनिक उपभोग्य खाद्यान्नको मूल्य वृद्धि हुन राम्रो संकेत नभएको बताए। उनले अत्यावश्यक सेवा तथा उपभोग्य वस्तुको महँगी नियन्त्रणका लागि सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए। 'चाडपर्व लक्षित कालोबजारी र कृत्रिम अभावको नियन्त्रण गर्न आग्रह गर्छु', सांसद यादवले भने।

images

शून्य समयमा बोल्दै सांसद रेखा शर्माले पनि चाडपर्वको समयमा सडकको स्तरोन्नति नहुँदा सडक दुर्घटना बढ्नेप्रति सचेत गराइन्। उनले बुटवल-नारायणगढ सडक पुनःनिर्माणमा भइरहेको ढिलाइप्रति ध्यानाकर्षण गराउँदै चाडपर्व लक्षित गरेर उक्त सडक तत्काल मर्मतसम्भार गर्न माग गरे।

सांसदहरु रोशन कार्की र रुक्मणी राना बराइलीले दसैँको मुखमा खाद्यान्नको मूल्यवृद्धि र अभावले आम नागरिकलाई चाडपर्वप्रतिको मनोविज्ञानमा डर पैदा गरेको गुनासो गरे। उनीहरुले बजारको अनुगमनसँगै सडक सुरक्षाका लागि आवश्यक सबै प्रकारको तयारी थाल्न सरकारको ध्यानाकर्षण गराए।

प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको बागमतीसहितका नदी किनारामा निर्माण निषेधित क्षेत्र तोक्ने मापदण्डसम्बन्धी फैसलाप्रति असन्तुष्टिसमेत व्यक्त गरेका छन्।

बागमतीसहितका नदी किनारामा २० मिटर खाली छाड्नुपर्ने फैसलाले धेरै घरपरिवार प्रभावित हुने भन्दै सांसद रामहरि खतिवडाले उक्त फैसलामाथि सरकारले छिट्टै पुनरावलोकन (भ्याकेट) को मा जान माग गरे।

'सर्वोच्च अदालतको फैसलाका कारण उपत्यकावासी जो नदी किनारामा बसोबास गरिरहेका छन्, उनीहरुको उठिबास हुने भएको छ। सरकारले भ्याकेटमा भएर जनतालाई सहज हुने काम गर्नुपर्छ', सांसद खतिवडाले भने।

सांसद खतिवडासँगै अर्का सांसद मेटमणि चौधरीले पनि उक्त फैसलाको भ्याकेटमा जान माग गरे।

शून्य समयमा सांसद लालप्रसाद सावा लिम्बूले लालपुर्जा वितरणमा भइरहेको ढिलाइप्रति ध्यानाकर्षण गराए। उनले सरकारको लक्ष्यका बाबजुद पनि ठोस उपलब्धि हासिल नभएको भन्दै अधिकार सम्पन्न आयोग गठन गर्न माग गरे।

'१८ वटा भूमि आयोग गठन र विघटन भए तापनि १३ लाख भूमिहीन दलित, सुकुम्वासी  र अव्यवस्थित बसोबासीहरुले लालपुर्जा प्राप्त गर्न सकेका छैनन्', सांसद लिम्बूले भने।

सांसद भगवती चौधरीले मोरङ, सुनसरीस्थित बूढीखोला करिडोर योजना निर्माण अलपत्र परेको बताइन्।

यस्तै, सांसद भीमप्रसाद आचार्यले इनरुवा क्षेत्रको सडक निर्माणलाई तीव्रता दिन ध्यानाकर्षण गराए। सांसद मनिष झाले धनुषा जिल्लामा पर्यटनको सम्भावनाका विषय उल्लेख गर्दै अध्यागमन कार्यालय र इलाका प्रशासन कार्यालयको यथाशीघ्र व्यवस्थापनको माग गरे।

सांसद माधव सापकोटाले दोलालघाटदेखि तातोपानीको सडक मर्मत एवं स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराए।

सांसद मीना तामाङले आकस्मिक, शून्य र विशेष समयमा सदनमा उठेको कुराप्रति सरकार जवाफादेही हुनुपर्ने सुझाव दिइन्। सांसद मंगलप्रसाद गुप्ताले भारतीय पर्यटकको सवारी साधानमाथि लाग्ने कर वृद्धिले पर्यटकलाई हतोत्साहित गरेको बताए।

सांसद रणकुमारी बलम्पाकी मगरले मुलुकको समृद्धिका लागि सकारात्मक प्रयास र उदाहरण छायाँमा परेको गुनासो गरिन्। सांसद रणेन्द्र बरालीले सत्तापक्ष र प्रतिपक्षबीच मुलुक निर्माणका लागि एक हुन सुझाव दिए।

सांसद रेखा यादवले खेलाडीप्रति सरकारले लगानी बढाउन जोड दिए। सांसद लक्ष्मी तिवरीले मंकीपक्सबारे सतर्कता अपनाउन देशका विभिन्न सीमामा विशेष सुरक्षा र स्वास्थ्य सतर्कता अपनाउन सचेत गराइन्।

सांसद मुक्ताकुमारी यादव, सांसद मेनकाकुमारी पोखरेल, रमा कोइराला पौडेल र राजेन्द्र बजगाइँले मुलुकको समग्र विकास एवं समृद्धिका लागि सरकारको ध्यानाकर्षण गराइन्। शून्य समयमा नेपाली कांग्रेसका सांसदहरुले बिपी कोइरालाको जन्मजयन्तीका अवसरमा उनको स्मरणसमेत गरिन्। रासस


प्रकाशित : सोमबार, भदौ २४ २०८११६:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend