शुक्रबार, असोज २५ गते २०८१    
images
images

सुपर न्यादी जलविद्युत आयोजना : निर्धारित समयमा काम नसकिएपछि एकवर्ष म्याद थप

images
सोमबार, भदौ २४ २०८१
images
images
सुपर न्यादी जलविद्युत आयोजना : निर्धारित समयमा काम नसकिएपछि एकवर्ष म्याद थप

करिब सात अर्ब रूपैयाँ लागतमा निर्माण कार्य सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ। आयोजनाको विद्यृत् गृह पुग्ने पहुँच सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भइसकेको छ। आगामी असोज १ गते ८ किलोमिटरको सुरुङ पनि ब्रेक थ्रु हुने तयारीमा रहेको छ।

images
images

लमजुङ- सिउरी न्यादी हाइड्रो पावर कम्पनीद्वारा लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ ङादीखोलामा निर्माणाधीन ४२ दशमलव ६० मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजनाको म्याद सकिए पनि काम भने अझै सम्पन्न हुन सकेको छैन।

images
images
images

आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) अनुसार दुई वर्षभित्र अर्थात् (२०८१ असारभित्र) विद्युत् उत्पादन सुरु गरिसक्नुपर्ने थियो। तर अझै करिब २० प्रतिशत निर्माण कार्य बाँकी रहेको छ।

निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि एक वर्ष म्याद थप गर्दै आगामी २०८२ असार महिनासम्ममा आयोजनाको काम सम्पन्न गर्ने गरी अघि बढेको आयोजनाका प्रबन्धक निर्देशक दिनेश गुरुङले बताए। उनले निर्धारित समयमा काम सम्पन्न गर्ने गरी अघि बढेको उक्त आयोजना कोरोना महामारीका कारण सम्पन्न गर्न समय लागेको बताए।

images

एक दिनमा हुने काम सात दिन लाग्ने, सामग्री ढुवानी गर्न समस्या, कामदार आउन समस्या, २२० केभी प्रसारण लाइनको ट्रान्समिसन लाईन सम्पन्न नभएका कारणले निर्माणमा ढिलाइ भएको प्रबन्धक निर्देशक गुरुङले बताए।

images

आयोजनाको विद्यृत् गृह पुग्ने पहुँच सुरुङ मार्गको ‘ब्रेक थ्रु’ सम्पन्न भएको छ। विद्युत् गृह निर्माणका लागि ३८७ मिटर सुरुङ मार्ग निर्माण गर्ने, भूमिगत विद्युत् गृह खन्ने, सुरुङका लागि दुईवटा अडिट टनेलसहित पाँचसय मिटर खन्ने लगायतका काम सम्पन्न भइसकेका छन्। साथै बाँधसम्मको २२ किलोमिटर सडक निर्माण कार्य सम्पन्न भएको प्रबन्धक निर्देशक गुरुङले बताए।

आगामी असोज १ गते ८ किलोमिटरको सुरुङ पनि ब्रेक थ्रु हुने तयारीमा रहेको छ। पेनस्टक र विद्युत् गृहको काम अन्तिम चरणमा पुगेको छ। जी एण्ड जी इन्फ्र प्राइभेट लिमिटेडले निर्माण गरिरहेको उक्त आयोजनामा एनएमबी बैंकको अगुवाइमा ६ वटा वित्तीय संस्थाले पाँच अर्ब २५ करोड रूपैयाँ ऋण लगानी गरेका छन्। प्रवर्द्धकको स्वपुँजी एक अर्ब ७५ करोड रूपैयाँ रहने छ। उक्त बैंक एवं वित्तीय संस्थाको ७५ प्रतिशत र प्रवर्द्धकको २५ प्रतिशत रहने आयोजनाले जनाएको छ।

करिब सात अर्ब रूपैयाँ लागतमा निर्माण कार्य सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ। समयमै सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजना प्रबन्ध निर्देशक गुरुङले बताए।

आयोजनाबाट उत्पादन हुने विद्युतलाई विद्युत् गृहदेखि ११ किलोमिटर टाढाको टारीकुनामा निर्माण गरिने १३२ केभी प्रसारण लाइन खुदी सबस्टेसनमा जोडिने भएको छ। सबस्टेसनसम्मको प्रसारण लाइनमध्ये करिब ६ किलोमिटर आयोजनाले नै निर्माण गर्ने भएको छ। आयोजनाका अनुसार वर्षातको ६ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र ६ महिनाको हिउँदयाममा आठ रुपैयाँ ४० पैसाको दरले विद्युत् खरिदबिक्री गर्ने भएको छ। रासस


प्रकाशित : सोमबार, भदौ २४ २०८११४:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend