आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

४० वर्षदेखि सारंगी रेट्दै जीवन धानिरहेका लालबहादुर

images
सोमबार, भदौ २४ २०८१
images
४० वर्षदेखि सारंगी रेट्दै जीवन धानिरहेका लालबहादुर

पछिल्ला समय सारंगी रेटेर गाउँगाउँमा गीत गाउँदै हिँड्ने गन्धर्वको सङ्ख्या घट्दो छ। केही पाकापुस्ताले संस्कृति जेनतेन धान्दै आए पनि गन्धर्व समुदायका युवापुस्ताले चासो दिएको पाइँदैन।

images
images

दाङ- टालेको झुत्रो झोला, हातमा सारंगी। त्यही सारंगी रेट्दै घरघरमा मिठो धुन सुनाउँदै हिँडेका सल्यान खलंगाका ५५ वर्षीय लालबहादुर गन्धर्व हालै यहाँको घोराही बजार आइपुगेका छन्।

images
images
images

'सारंगी रेटेर धुन बजाउँदै गीत गाउन थालेको ४० वर्षभन्दा धेरै भयो, सारंगी बजाउँदा आफू अझै जवान भएजस्तो लाग्छ, सारंगीको घुन निकालेपछि झन् जोशजाँगर बढेर आउँछ,' उनी भन्छन्।

images
images

सल्यान, दाङ, रोल्पा, रुकुम र काठमाडौंलगायतका सहरबस्तीमा पुगेर सारंगी बजाएर गीत गाउने गरेको उनले बताए।

images
images

घरमा सानै उमेरदेखि बाउबाजेबाट सारंगी रेट्ने सीप सिकेका लालबहादुरले १५ वर्षको उमेरदेखि यही पेसा अपनाए। 'हिजोआज कसैले राम्रो मानेर गीत सुन्न खोज्छन् त कसैले बाहिरबाट पठाउँछन्,' उनले भने।

जग्गा जमिन केही नभएपनि सारंगीको धुन र गीत गाएरै परिवारको जिविका चलाउँदै आएको उनको भनाइ छ। उनले सातवटी छोरीमध्ये पाँचको विवाह गराइसकेका छन्। दुई छोरी तुलसीपुर- १७ स्थित मावि दुधरासमा कक्षा आठ र ११ मा पढ्छन्।

आफूले नपढे पनि छोरीलाई पढाउने सोचाइ रहेको उनले बताए। गीत गाएर दिनमा एक हजारदेखि तीन हजारसम्म कमाउने गर्छन्। समाजबाट लोप हुँदै गएको गन्धर्व जातिको पुरानो मौलिक संस्कृति धान्न गाउँगाउँमा पुग्ने गरेको उनी बताउँछन्।

अहिलेसम्म घुमेको ठाउँमा रोल्पा सबै भन्दा राम्रो लागेको स्मरण गरे। रोल्पामा गाइने आयो भने चाडवर्प आए जस्तो हुन्छ भनेर सिदा (चामल, दाल) दिने गरेको बताए। सारंगी बजाउन युवा पुस्ताले चासो नदिँदा गन्धर्व पेसा लोप हुने चिन्ता उनलाई छ। 'मेरा छोरीले बजाउँदैनन्, मपछिको पुस्ताले सारंगी छुदैनन्,' उनले भने।

गाइनेको रुपमा हिँड्दा एकातिर संस्कृति संरक्षण अर्कोतिर रमाइलो गरी जीवन चलिरहने र देशका विभिन्न ठाउँ हेर्ने अवसर मिल्ने उनको अनुभव छ। उनी गीतकै माध्यमबाट आफ्ना भावना पनि व्यक्त गर्छन्।

पछिल्ला समय सारंगी रेटेर गाउँगाउँमा गीत गाउँदै हिँड्ने गन्धर्वको सङ्ख्या घट्दो छ। केही पाकापुस्ताले संस्कृति जेनतेन धान्दै आए पनि गन्धर्व समुदायका युवापुस्ताले चासो दिएको पाइँदैन। रासस


प्रकाशित : सोमबार, भदौ २४ २०८१११:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend