आइतबार, असोज ६ गते २०८१    
images
images

पर्यटकको बसाइ लम्ब्याउन दियालो बंगला सहयोगी

images
सोमबार, भदौ २४ २०८१
images
images
पर्यटकको बसाइ लम्ब्याउन दियालो बंगला सहयोगी

भरतपुर महानगरपालिकाले व्यवस्थापनको जिम्मेवारी लिएर गत असार २३ गतेदेखि बंगला सर्वसाधारणका लागि खुला गरिएको थियो।

images
images

चितवन- सर्वसाधारणका लागि दियालो बंगला खुला गरेसँगै हालसम्म २३ हजार पाँच सय ७४ जनाले अवलोकन गरेका छन्।

images
images
images

भरतपुर महानगरपालिकाले व्यवस्थापनको जिम्मेवारी लिएर गत असार २३ गतेदेखि बंगला सर्वसाधारणका लागि खुला गरिएको थियो। यही भदौ २२ गतेसम्म एक सय २७ जना विदेशी पर्यटक पनि बंगला अवलोकन गरेका थिए।

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीका अनुसार अवलोकन गर्न आएकाबाट २३ लाख ४४ हजार एकसय रूपैयाँ राजस्व संकलन भएको छ। सर्वसाधारण नेपालीलाई प्रवेश शुल्क एकसय रूपैयाँ, ज्येष्ठ नागरिक र विद्यार्थीलाई ५० प्रतिशत छुट गरिएको छ।

यस्तै छिमेकी राष्ट्र भारत र चीनका पर्यटकका लागि एक सय ५० रूपैयाँ, तीबाहेकका सार्क राष्ट्रका पर्यटकका लागि दुईसय र अन्य मुलुकका पर्यटकका लागि तीनसय रूपैयाँ शुल्क तय गरिएको छ। उपप्रमुख अधिकारीले दैनिक घुम्न आउनेको सङ्ख्या बढ्दै गएको बताए। 

images

भरतपुर-१ मा दियालो बंगला छ। नेपाल ट्रष्टसँग सम्झौता गरेर व्यवस्थापनको जिम्मेवारी महानगरले लिएको हो। उठेको राजस्वको ६० प्रतिशत ट्रष्ट र ४० प्रतिशत महानगरले पाउनेगरी व्यवस्थापन गरिएको हो।

महानगर प्रमुख रेनु दाहालले दियालो बंगलाको ऐतिहासिक महत्व भएकाले यहाँ घुम्न रुचाउनेहरूको सङ्ख्या दिनानुदिन बढ्दै गएको बताइन्। यहाँ अवलोकन र अध्ययनका लागि आउने पर्यटक बढ्दै गएको उनको भनाइ छ। 

जाडो महिनामा तत्कालीन राजपरिवारले यही दरबारमा धेरै समय बिताउने गरेकाले यहाँको महत्व र यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको हो। राजपरिवारले सिकार खेल्न आउँदा बस्ने ठाउँ हो यो।

ऐतिहासिक महत्व बोकेको दरबारभित्र पहिलो तलामा ठूलो बैठककक्ष छ। बंगलाको भित्तामा पूर्व राजारानी तस्बिर देख्न सकिन्छ। भर्‍याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ। भित्तामा बाघको टाउको जस्ताको तस्तै अवस्थामा राखिएको छ।

दरबारमा पाँचवटा खोपी (बेडरुम) छन्। एक नम्बर खोपी रत्नराज्यको हो भने दुई नम्बर राजा र तीन नम्बर रानी, चार र पाँच राजपरिवारका अन्य सदस्यका हुन्। सबै खोपीमा शौचालयसँगै छ। राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको तस्तै छ। दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छभने सँगै राजाको सुरक्षा गार्डका लागि ‘एडिसी क्वार्टर’ छ। केही पर सवारीसाधन राख्न ग्यारेज छ। त्यसको छेउमा रहेको पौडीपोखरीमा अहिले पानी छैन।

महानगरप्रमुख प्रमुख दाहालले लामो समयदेखि नेपाली सेनाको सुरक्षामा रहेको दरबार क्षेत्रभित्र के छ भन्ने कौतुहलता मेट्दै सर्वसाधारणले अवलोकन गर्न सक्ने वातावरण मिलाइएको बताए। व्यवस्थित व्यवस्थापनका लागि महानगरपालिका लागिपरेको उनले जानकारी दिए।

चितवन घुम्न आउने पर्यटकका लागि बसाइ लम्ब्याउन बंगला सहयोगी हुने देखिएको छ। भरतपुर भ्रमण वर्षका अवसरमा महानगरपालिकाले नेपाल ट्रष्टसँग आग्रह गरेर सर्वसाधारणका लागि खुला गरेको हो। रासस


प्रकाशित : सोमबार, भदौ २४ २०८११०:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend