बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

यो साता पनि उतारचढावमै सेयर बजार, आउने साता उचाइतर्फ बढ्ला?

बिहीबार , भदौ २० २०८१
यो साता पनि उतारचढावमै सेयर बजार, आउने साता उचाइतर्फ बढ्ला?

काठमाडौं- वृद्धितर्फ लागिरहेको सेयर बजारमा यो साताको कारोबार पनि उतारचढावमा नै देखिएको छ। साताभरको कारोबारमा बजार समग्रमा २२.२ अंकले घटेको छ। 

दुई दिन लगातार वृद्धि हुँदै नयाँ उचाइतर्फको संकेत गरेको सेयर बजार पुन: दुई दिन ओरालो लागेको हो। सोमबार देखिएको १२७.३२ अंकको उछाललाई साथ दिनेगरी मंगलबार पनि हरियोमा नै बन्द भएको बजार बुधबार र बिहीबार भने घटेको हो।  

साताको अन्तिम कारोबारमा बिहीबार १२.१० अंकले घटेर बजार २७२७.३६ बिन्दुमा झरेको छ। १०१ कम्पनीको सेयर मूल्य बढेको बजारमा ९ अर्ब ६५ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ। १३८ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

लगातार उचाइतर्फ लागेर केही समय वृद्धि रोकिएको सेयर बजार पुन: उचाइतर्फ लागेको थियो। गएको साता समग्रमा २२४.८७ अंकले घटेको बजार यो साताको पहिलो कारोबारमा आइतबार पनि ओरालोतिर नै देखिएको थियो। कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजारमा तीन सातायता भने वृद्धि अपेक्षाकृत हुन नसकेको हो। 

यो साता आइतबार ५३.६३ अंकले घटेर २६९५.९३ बिन्दुमा झरेको बजार सोमबार १२७.३२ अंकले बढेर २८२३.२५ बिन्दुमा पुगेको थियो। मंगलबार ६.९४ अंकले बढेर २८३०.२० बिन्दुमा पुगेको बजार बुधबार ९०.७३ अंकले घटेर २७३९.४६ बिन्दुमा झरेको थियो। 

लामो समय १८०० देखि २००० को बिन्दु आसपास रहेको बजार उच्च बिन्दुतर्फ बढिरहँदा तीन सातायता उतारचढाव देखिएको छ। बजारको लगातारको वृद्धिपछिको केही समय 'करेक्सन' को अवस्था देखिएर अब अघि बढ्ने विश्लेषकहरू बताउँछन्। लगानीकर्ताहरू बढ्दो बजारप्रतिको विश्वासमा फर्कन सकेका छैनन्। उनीहरू पर्ख र हेरको अवस्थामा देखिन्छन्। 

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते बजार ३०००.८१ को बिन्दुमा पुगेको थियो। भदौमा पनि उचाइतर्फकै लय समात्ने आँकलन भइरहँदा बजार धिमा गतिमा देखिएको हो।

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने विश्लेषकहरूले बताइरहेका छन्। पर्ख र हेरको सोचमा देखिएका लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : बिहीबार , भदौ २० २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend