आइतबार, असोज ६ गते २०८१    
images
images

भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको लर्को, नेपालगञ्जमा छैन व्यापारिक चहलपहल

images
बिहीबार , भदौ २० २०८१
images
images
भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको लर्को, नेपालगञ्जमा छैन व्यापारिक चहलपहल

घरायसी उपभोगका सामानसँगै चाडपर्वका लागि आवश्यक पर्ने खाद्यान्न र लत्ताकपडा खरिदका लागि दैनिक हजारौँको संख्यामा नेपाली उपभोक्ता सीमावर्ती भारतीय बजार रुपैडिहा पुग्ने गरेका छन्।

images
images

राँझा- बाँकेको सीमावर्ती भारतीय बजार रुपैडिहामा दैनिक उपभोग्य वस्तु खरिदका लागि नेपाली उपभोक्ताको लर्को लागेको छ। तीजको पूर्वसन्ध्या भइसक्दा पनि नेपालगञ्ज बजारमा व्यापारको धेरै चहलपहल छैन।

images
images
images

सीमा पारी भारतीय बजार रूपैडिहामा भने किनमेल गर्ने नेपाली उपभोक्ताको चहलपहल बढेको छ। घरायसी उपभोगका सामानसँगै चाडपर्वका लागि आवश्यक पर्ने खाद्यान्न र लत्ताकपडा खरिदका लागि दैनिक हजारौँको संख्यामा नेपाली उपभोक्ता सीमावर्ती भारतीय बजार रुपैडिहा पुग्ने गरेका छन्। 

अधिकांश उपभोक्ता नेपाली हुने भएकाले रुपैडिहामा नेपाली रूपैयाँ र मूल्यमा कारोबार हुने गरेको छ। व्यापारीहरुले पसलमा काम गर्ने कामदारसमेत नेपालीलाई राखेर भाषाको सहजता गरेका छन्। नेपाली उपभोक्ताको भरमा रुपैडिहा बजार चलेको स्थानीय व्यापारी सुजित वैश्यले बताए।

रुपैडिहा बजारमा खाद्यन्नको किराना पसल गर्दै आएका वैश्यले नेपाली चाडपर्व तीज दशैँ तिहारमा नेपाली उपभोक्ताको भीडभाडले आफूहरुलाई भ्याइनभ्याइ हुने गरेको उल्लेख गरे। यतिबेला तीजपर्वका लागि खाद्यान्नसँगै कपडा पसलमा भीडभाड रहेको उनको भनाइ छ।

images

चाडपर्व मात्र होइन अन्य समयमा पनि दैनिक उपभोग्य सामग्रीका लागि नेपाली उपभोक्ता भारतीय बजार रूपैडिहामै निर्भर रहने गरेको नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए।

रुपैडिहा बजार नेपाली उपभोक्ताहरूको भरमा टिकेको छ। दैनिक करिब एक करोड रूपैयाँको कारोबार नेपाली उपभोक्ताबाटै हुने गरेको छ। दैनिक उपभोग्यका सामान, तरकारीलगायतका वस्तु किन्न सयौं नेपाली सीमा पारि जान्छन्। नेपालगञ्जमा चाडपर्वको बेलामा पनि कारोबारमा कमी आएको श्रेष्ठको भनाइ छ।

नेपाली उपभोक्ता भारतीय बजारमा किनमेलका लागि जाने समस्या अहिलेको होइन। नेपाली उपभोक्ता नेपालगञ्जमै रोक्ने लक्ष्य नेपालगञ्ज उद्योग वाणिज्य संघको प्रत्येक निर्वाचनका बेला चुनावी नारा बन्ने गर्दछ, तर निर्वाचन पछि सेलाउदै जाने गरेको छ।  

संघका महासचिव भीमबहादुर रानाभाटले सस्तो पाइने लोभमा नेपाली उपभोक्ता भारतीय बजार रुपैडिहा जाने चलनले नेपालगञ्जका व्यवसायी धराशायी भएको बताए। सस्तो पाइने लोभमा खाद्यान्नदेखि लत्ता कपडाको किनमेलका लागि पनि नेपाली उपभोक्ताको सीमावर्ती भारतीय बजार रुपैडिहामा भीड लाग्ने गरेको छ।

'हामीले बेला बेलामा उपभोक्ता जागरण कार्यक्रम गरेर सम्झाउने काम गरेका छौँ', नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव रानाभाटले भने, 'भारतीय बजारमा सबै सामान सस्तो पाइन्छ भन्ने भ्रम नेपाली उपभोक्तामा हट्न सकेको छैन।'

पछिल्लो एक सातायता किनमेल गर्न भारतीय बजार रुपैडिहातर्फ जाने नेपाली उपभोक्ताको भीड बढेको छ।

तीजको किनमेल गर्न भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको लर्को लागेपछि यतिबेला नेपालगञ्जका व्यापारी चिन्तित छन्। बाँकेका ग्रामीण क्षेत्र तथा बर्दिया, दाङ, सुर्खेत, दैलेख, जाजरकोट र सल्यान लगायतका उपभोक्तासमेत किनमेलका लागि भारत जाने गरेका छन्। रासस


प्रकाशित : बिहीबार , भदौ २० २०८११२:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend