शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

अनुकूल वर्षाले धानखेती लहलहाउँदो

images
बिहीबार , भदौ २० २०८१
images
images
अनुकूल वर्षाले धानखेती लहलहाउँदो

समयसमयको वर्षाले साउन मध्यताकाको रोपो पनि लहलहाएको देख्दा किसान यसपालि अपेक्षित धान फल्ने आशमा छन्।

images
images

महोत्तरी- यसपालि साउन मध्ययता भइरहेको अनुकूल वर्षाले धानखेतीका किसान खुसी छन्। असारसम्म राम्ररी पानी नपर्दा ढिलो रोपाइँ सकेका यहाँका किसानलाई साउन मध्ययताको दुई/तीन दिनको फरकमा परिरहेको पानी ‘अमृत’ झैँ बनेको छ।

images
images
images

समयसमयको वर्षाले साउन मध्यताकाको रोपो पनि लहलहाएको देख्दा किसान यसपालि अपेक्षित धान फल्ने आशमा छन्। महोत्तरीसहितका मधेशका अधिकांश ठाउँमा बुधबार रातिदेखि परेको पानी धानबालीलाई अनुकूल भएको किसानको भनाइ छ।

'असारमा पानी नपर्दा रोपाइँ अलि ढिलो भयो, तर साउन मध्यताका रोपिएको धानलाई भने त्यसयताको अनुकूल वर्षाले मद्दत गरेको छ', भंगाहा-४ का ८० वर्षीय किसान दीपबहादुर फुयाँल भन्छन्, 'भदौ लागेदेखि नै धानका लागि अनुकूल वर्षा भइरहेको छ, यसपालि धानबाली राम्रो भित्रिने आश जाग्यो।'

images

साउन मध्ययता परीरहेको पानीले रोपोलाई हलक्क बढाएको फुयाँल बताउँछन्। भदौ तेस्रो साता चल्दै गर्दा अहिले परेको पानी अघिल्लो रोपो पोटाउन र पछिको रोपो गाँजिन मद्दत पुगेको फुयाँल बताउँछन्। जिल्लामा यसपालि समयमा बीउ तयार नहुँदा र पानी नपर्दा धान रोपाइँ पछि परेको थियो। अधिकांश किसानले साउन मध्यदेखि तेस्रो साताबीचमा धान रोपेका हुन्।

images

साउन मध्यअघि रोपिएको धानखेतमा धजा फाटेको सम्झदै किसान त्यसयता भने राम्रो पानी पर्दा धान मज्जाले लहलहाएको बताउँछन्। 'साउन मध्ययता धानलाई अमृत नै बर्सेको छ', बर्दिबास-२ का किसान तारानाथ आचार्य भन्छन्, 'अब धान राम्रो फल्छ।'

साउन मध्यअघिको प्रचण्ड राप र खडेरी सम्झदै किसान त्यसयताको अनुकूल वर्षाले उत्साहित बनेका छन्। 'धानको रोपो पानी नभएर पहेँलिदै गएको थियो, तरकारीबालीका लहरा र बोट सुक्दै गएका थिए', भंगाहा-४ थारुटोल बनराका ७५ वर्षीय किसान रामधारी सिंह थारु भन्छन्, 'बालीनालीबाट आस मर्दै गएका बेला साउन मध्ययता केही दिनको फरकमा परिरहेको पानी अमृत भएको छ।'

साउन मध्ययताको वर्षा मन्दमन्द परिरहेको र धानखेतमा सधैं नयाँ पानी बगिरहेपछि धानको रुखी (रुप) फेरिएको किसान बताउँछन्। पछिल्ला वर्षाले नयाँ तरकारी खेती भने लगाउन दिएको छैन। तरकारी बाली लगाउन पानी रहेर (वर्षा थामिएर) सतहको माटो रुखो हुनपर्ने हुँदा अनुकूलता नमिलेको किसान बताउँछन्।

नयाँ बाली लगाउन नपाए पनि पहिलेका तरकारीका बोट र लहरा समुचित चिस्यान पाइरहेपछि फेरिएका छन्। पुराना बोट र लहरामा मनग्य चिचिला र फल लागेका भंगाहा-४ का तरकारी उत्पादक किसान बहुरा महतो बताउँछन्।

पछिल्लो वर्षा किसानका लागि मात्र नभएर ज्यालादारीमा काम गरेर गुजारा गर्ने श्रमिक, डुल्दै व्यापार गर्ने साना व्यापारी र आम सर्वसाधारणलाई पनि ‘अमृत’ बनेको छ। गर्मीको प्रचण्ड रापले काममा जान नसक्दा गुजारा संकटमा परेका श्रमिक अचेल दुई/तीन दिनको फरकको वर्षाले मौसम शीतल बनाएपछि नियमित काममा जान पाएका छन्।

गाउँगाउँ/बस्तीबस्ती डुल्दै आफ्नो सामानको व्यापार गर्ने श्रमिक व्यापारी पनि अब हिँडडूल गर्न सकिने भन्दै खुसी भएका छन्। 'पानी पर्दै दुई/तीन दिन थामिदै गरेको छ, मौसम शीतल बनेपछि यसले काममा हिँड्न सहज छ', औरही-७ का घुमन्ते व्यापारी श्रीराम साह भन्छन्।

जिल्लामा यसपालि साउन मध्ययताको वर्षाले अपेक्षित धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ। यसपालि ९० प्रतिशतको हाराहारीमा धान रोपाइँ भएको र बाली पनि अहिलेसम्म सन्तोषजनक रहेको कार्यालयका बाली विकास अधिकृत राजकिशोर यादव बताउँछन्।

जिल्लामा कुल करिब ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये करिब ४५ हजार हेक्टर धानखेतीका लागि योग्य मानिन्छ। पानी रामै्र चाहिने धनखेतीलाई यहाँ कुलो नहर लाग्ने स्थायी सिञ्चित खेत १० प्रतिशतमात्र हुँदा आकाशे पानीकै भरमा खेती गर्नुपर्ने बाध्यता छ। यही अवस्थाले ठिक समयमा धानखेती लगाउन नपाइएको किसान बताउँछन्।

यो अवस्था अन्त्य गरी सिँचाइ सुविधा बढाउन पछिल्ला वर्षहरुमा भूमिगत सिँचाइका योजना सञ्चालन गरिएका कार्यालयले जनाएको छ। यसअन्तर्गत स्यालोट्युबेल, बोरिङ्ग, इनार, पम्पसेट जडानमा ७५ प्रतिशतसम्म अनुदानसहित किसानलाई सिँचाइ कार्यमा सघाउ पुर्‍याउन कृषि विद्युत मीटरको प्रबन्ध गरिएको यादवको भनाइ छ। रासस


प्रकाशित : बिहीबार , भदौ २० २०८११२:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend