शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

नवलपुरमा तरकारीको विषादी परीक्षण गर्न प्रयोगशाला स्थापना

images
बुधबार, भदौ १९ २०८१
images
नवलपुरमा तरकारीको विषादी परीक्षण गर्न प्रयोगशाला स्थापना

कावासोतीस्थित कृषि थोक बजारमा स्थापना गरिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइबाट यस थोक बजारमा दैनिकरुपमा तरकारी तथा फलफूलको विषादी परीक्षण गरिने छ।

images
images

त्रिवेणी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ स्थापना गरिएको छ।

images
images
images

नेपाल सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाले जिल्लाको कावासोतीमा रहेको कृषि थोक बजारमा विषादी परीक्षण प्रयोगशाला स्थापना गरेको हो।

images
images

कावासोतीमा स्थापना गरिएको प्रयोगशालाबाट तरकारी तथा फलफूलमा विषादीको जाँच गरिने केन्द्रीय कृषि प्रयोगशालाका वरिष्ठ बाली विकास अधिकृत राजीवदासराज भण्डारीले बताए।

images
images

कावासोतीस्थित कृषि थोक बजारमा स्थापना गरिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइबाट यस थोक बजारमा दैनिकरुपमा तरकारी तथा फलफूलको विषादी परीक्षण गरिने छ। 

थोक बजारमा बिक्रीका लागि विभिन्न स्थानबाट आउने तरकारी तथा फलफूलको परीक्षणसँगै आवश्यकताका आधारमा जिल्लाका अन्य बजार, पकेट क्षेत्रमा उत्पादन हुने तरकारी, सीमा क्षेत्रबाट आउने तरकारी तथा फलफूलको समेत विषादी परीक्षण गरिने वरिष्ठ बाली विकास अधिकृत भण्डारीले बताए।

कृषि थोक बजारबाट नियमित रुपमा नमूना संकलन गरी मुख्य गरी कार्बामेट र अर्गानोफस्पेट दुई समूहमा पर्ने विभिन्न विषादीको परीक्षण गरिने  केन्द्रीय कृषि प्रयोगशालाका बाली संरक्षण अधिकृत विवेक सुनारले बताए।

यी विषादी धेरै घातक हुने भएकाले यसको परीक्षण गरिने उनले बताए। नमूना संकलनका लागि आएका तरकारी तथा फलफूलको नमूना लिएपछि बिक्रीमा रोक लगाउने र रिपोर्ट आएपछि मात्र अवस्था हेरी बिक्री गर्न दिइने बाली संरक्षण अधिकृत सुनारले बताए।

कैफियत देखिए उक्त तरकारी कसैले उपभोग नगरून् भनेर नमूना संकलनपछि बिक्रीमा रोक लगाइने उनले बताए। प्रत्येक दिन नमूना संकलन गरेको पहिलोपटक आधा घण्टा र त्यसपछि उपकरण नियमितरुपमा चल्ने हुँदा तीन/चार मिनेटमा रिपोर्ट निकाल्न सकिने उनले बताए।

तरकारी र फलफूलको स्क्रिनिङ गर्ने मेसिनले विषादीको परिमाणात्मक विषादी मात्रा परीक्षण गर्नेछ। विषादीको मात्राअनुसार तत्काल खानयोग्य, केही समय राखेर खानयोग्य र खान अयोग्य भनेर छुट्याइनेछ। परीक्षणका क्रममा तरकारी तथा फलफूलमा खान नहुने गरी विषादी रहेको पाइए त्यसलाई नियन्त्रणमा लिएर नष्ट गरिने छ।

कावासोतीस्थित कृषि थोक बजारमा हप्तामा तीन दिन सोमबार, बुधबार र शनिबार बजार लाग्ने गर्दछ। यसैगरी यहाँ रहेका थोक बिक्रेताले बाहिरबाट तरकारी तथा फलफूल आयात गरी स्थानीय बजारमा नियमित रुपमा बिक्री गर्ने गर्दछ। जिल्लाका उत्पादन भएका तरकारीसमेत यहाँबाट बाह्य जिल्ला निर्यात हुनेसमेत गर्दछ।

कावासोतीमा स्थापना भएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइबाट यसअघि परीक्षणका रुपमा नमुना संकलन गरी विषादी जाँच गर्दै आएकामा आजदेखि नियमित रुपमा परीक्षण सुरु गरिँदैछ।

विभागको टोलीले आजबाट नियमित रुपमा प्रयोगशाला सञ्चालन गर्ने तयारी गरेको छ। रासस


प्रकाशित : बुधबार, भदौ १९ २०८११२:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend