सोमबार, असोज ७ गते २०८१    
images
images

आम्दानीको राम्रो स्रोत भेडाको ऊन बिक्री हुनै छाड्यो, चिन्तामा किसान

images
बुधबार, भदौ १९ २०८१
images
images
आम्दानीको राम्रो स्रोत भेडाको ऊन बिक्री हुनै छाड्यो, चिन्तामा किसान

गाउँघरमा राडीपाखी बुन्ने चलन हराउँदै गएसँगै ऊन बिक्री हुन छाडेको र ऊन नै बिक्री हुन छाडेपछि चिन्ता थपिएको किसान बताउँछन्।

images
images

भोजपुर- व्यावसायिक भेडापालनमा लागेका भोजपुरका किसान ऊन बिक्री नभएपछि चिन्तामा परेका छन्। किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री नभएपछि उनीहरू चिन्तामा परेका हुन्।

images
images
images

गाउँघरमा परम्परगत रूपमा गरिँदै आएको राडीपाखी बुन्ने पेसा लोप हुन थालेपछि उत्पादन भएको ऊन बिक्री हुन छाडेको टेम्केमैयुङ-२ का भेडापालक किसान गोविन्द कठेतले जानकारी दिए। मैयुङ क्षेत्रका भेडापालक किसानसँग रहेको गत वर्षकै करिब एक सय धार्नी ऊन बिक्री नभएको उनको भनाइ छ।

'पछिल्लो समय भेडाको ऊन बिक्री हुन छाडेको छ', किसान कठेतले भने, 'गाउँघरमा राडीपाखी बुन्ने चलन हराउँदै गएसँगै ऊन बिक्री हुन छाडेको छ। ऊन नै बिक्री हुन छाडेपछि चिन्ता थपिएको छ।'

विगतका वर्षहरूमा ऊन गोठबाट नै प्रतिधार्नी सातसय रूपैयाँमा बिक्री हुने गरेको थियो। अहिले छिमेकी जिल्ला खोटाङ पुर्‍याएमा मुस्किलले प्रतिकेजी एकसय ५० रूपैयाँमा बिक्री हुने उनको भनाइ छ।

images

ढुवानीलगायत कारण यसरी बिक्री गरिएको ऊनबाट किसानलाई लाभ नहुने उनले जानकारी दिए। त्यहाँसम्म पुर्‍याउन नै समस्या रहेको कठेतले बताए। उत्पादित ऊन बिक्री नहुँदा कुहिएर जाने अवस्था आएको छ।

ऊनबाट बनेको राडीपाखी लुकुनीलगायत बजारमा राम्रो माग भए पनि उत्पादनमा समस्या रहेको उनले बताए। राडीपाखी बुन्ने काम नयाँ पुस्ताको रोजाइमा नपर्दा कच्चा पदार्थका रूपमा रहेको ऊन नै बिक्री हुन नसकेको उनको भनाइ छ।

किसान कठेतले विगत १५ वर्षअघिबाट व्यावसायिक रूपमा भेडापालन व्यवसाय गर्दै आएको बताए। भेडालाई वर्षमा दुईपटक मुन्डन गरिने उनको भनाइ छ। आफूसँग रहेका ५० वटा भेडालाई मुन्डन गर्दा एकपटकमा सात धार्नीसम्म ऊन उत्पादन हुने उनको भनाइ छ। गत वर्षको ऊन नै बिक्री नभएको कठेतले बताए। ऊनालु चारवटा भेडाको एक धार्नी ऊन उत्पादन हुने उनको भनाइ छ।

हाल मैयुङ क्षेत्रमा भोजपुर र खोटाङ गरी २० वटा भेडीगोठ रहेको उनले जानकारी दिए। एक भेडीगोठमा न्यूनतम एक सयदेखि अधिकतम पाँचसय वटासम्म भेडा रहेको उनले जानकारी दिए। यहाँको मैयुङ, छिमालुङ, गिद्धे, मेरुङलगायत स्थानमा भेडापालन हुने गरेको छ।

भेडापालक किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री हुन छाडेपछि समस्या थपिएको किसान शेरबहादुर कठेतले बताए। सामुदायिक वनमा चरिचरनको लागि शुल्क तिर्नुपर्दा किसान थप मारमा परेको उनको भनाइ छ। विभिन्न समयमा भेडामा देखिने रोग, घरपालुवा कुकुर तथा भालुले भेडा मारिदिनेलगायत समस्याले पुर्ख्यौली व्यवसाय धान्न मुस्किल पर्ने अवस्था रहेको उनले बताए।

'भेडापालन व्यवसायमा धेरै समस्या छन्', उनले भने, 'लेकाली भेगमा गरिने पेसा भएकाले दुःख धेरै छ। त्योसँगै ऊन बिक्री हुन छाडेको अवस्था छ। विभिन्न रोग तथा घरपालुवा कुकुर, भालुलगायत जंगली जन्तुले भेडा मारिदिँदा धेरै क्षति हुन्छ।'

ऊन बिक्री हुन छाडेपनि भेडाको मासु, घ्यू तथा भेडाको बोका (बल्याख्रा)को बिक्रीबाट घरपरिवार चलाउँदै आएको उनी बताउँछन्। भेडाको घ्यू डढेको, पोलेको घाउमा औषधिका रूपमा प्रयोग हुने उनले जानकारी दिए। भेडाको मासु प्रतिकेजी एक हजार पाँचसय रूपैयाँदेखि दुई हजारसम्म र घ्यू प्रतिमाना दुई हजार रूपैयाँमा बिक्री हुने उनले बताए। 

भेडाको चार-पाँच महिनाको बोका १५ हजार रूपैयाँदेखि १८ हजार रूपैयाँसम्ममा बिक्री हुने उनको भनाइ छ।

भेडाको बोकाको भने धेरै माग हुने उनले बताए। भेडापालनमा नयाँ पुस्तालाई आकर्षित गर्न राज्यले प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनी बताउँछन्। भेडापालन व्यवसायलाई संरक्षण नगरिएमा केही समयपश्चात पेसा नै संकटमा पर्ने अवस्था रहेको उनले बताए। रासस


प्रकाशित : बुधबार, भदौ १९ २०८१११:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend