बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

विद्युतीय सवारी ब्रान्ड थुपारेपछि हायर पर्चेज कम्पनी खोज्दै चौधरी समूह, बतास इनभेष्टमेन्टमा पुग्यो प्रस्ताव

बुधबार, भदौ १९ २०८१
विद्युतीय सवारी ब्रान्ड थुपारेपछि हायर पर्चेज कम्पनी खोज्दै चौधरी समूह, बतास इनभेष्टमेन्टमा पुग्यो प्रस्ताव

बतास इनभेष्टमेन्टका प्रतिनिधिसँग चौधरी समूहका प्रतिनिधिले विभिन्न चरणमा छलफल गरिसकेका छन्।

काठमाडौं- चौधरी समूह सवारी व्यापारमा आक्रामक देखिएको छ। समूहअन्तर्गतको सीजी मोटर्सले हालसम्म चीनबाट १० वटा ब्रान्ड र भारतबाट एउटा सवारी कम्पनीसँग आधिकारिक बिक्रेताको सम्झौता गरेर सवारी बिक्री गर्दै आएको छ। 

सवारी ब्रान्ड बढेसँगै अब सीजी मोटर्सलाई आफ्नै हायर पर्चेज कम्पनीको आवश्यकता परिसकेको छ। सोहीकारण चौधरी समूह हायर पर्चेज इनभेष्टमेन्ट कम्पनीको तीव्र खोजीमा लागेको छ। समूहले सम्भावित कम्पनीहरूसँग छलफल सुरु गरेको छ। 

हायर पर्चेज इनभेष्टमेन्ट कम्पनी खोल्न नेपाल राष्ट्र बैंकबाट अनुमति लिनुपर्छ। पछिल्लो केही वर्षयता राष्ट्र बैंकले हायर पर्चेज इनभेष्टमेन्ट कम्पनीका नयाँ लाइसेन्स खोलेको छैन। त्यहीकारण नयाँ लाइसेन्स लिन चाहनेहरूले पाएका छैनन्। 

सवारी बिक्रेता कम्पनीहरूले सहज रुपमा कर्जा प्रवाह गर्न आफ्नै इनभेष्टमेन्ट कम्पनीको लाइसेन्स लिएर सेवा दिने गरेका छन्। चौधरी समूहले पनि धेरैवटा सवारी ब्रान्ड ल्याएर बिक्री गर्न थालेपछि हायर पर्चेज कम्पनी खरिद गर्न तीव्र रुपमा विभिन्न कम्पनीसँग छलफल गरिरहेको छ। 

दुई/तीन वटा कम्पनीसँग छलफल गरे पनि पछिल्लो पटक भने चौधरी समूह बतास इनभेष्टमेन्ट प्रालि खरिद गर्न लागिपरेको छ। बतास इनभेष्टमेन्टका प्रतिनिधिसँग चौधरी समूहका प्रतिनिधिले विभिन्न चरणमा छलफल गरिसकेका छन्। 

‘चौधरी ग्रुपका साथीहरूले हामीसँग हायर पर्चेज कम्पनी बतास इनभेष्टमेन्ट बिक्री गर्ने विषयमा चासो राख्नु भएको छ,’ बतास इनभेष्टमेन्टका एक प्रतिनिधिले भने, ‘एक दुई चरणमा छलफल भएको हो तर ठोस निष्कर्ष आइसकेको छैन।’ चौधरी समूहले हायर पर्चेज कम्पनी किन्ने चाह गरेकाले यो डिल मिल्ने सम्भावना रहेको ती प्रतिनिधिको भनाइ छ। 

बतास अर्गनाइजेसनअन्तर्गतको कम्पनी विगतमा अटोमोबाइल व्यापारमा भएकाले उसँग हायर पर्चेज कम्पनी छ। तर अहिले भने बतास अर्गनाइजेसनसँग एकल स्वामित्वको अटोमोबाइल कम्पनीको आधिकारिक बिक्रेता रहेको कम्पनी छैन। 

विगतमा बतास अर्गनाइजेसनअन्तर्गत फियाट, जिप तथा आइसर ब्रान्डको कमर्सियल सवारी आधिकारिक बिक्रेताको रुपमा आयात हुँदै आएको थियो। त्यस्तै अर्गनाइजेसनले पोखरामा विभिन्न ब्रान्डको डिलर र सेकेन्ड ह्यान्ड कार पनि बिक्री गर्दै आएको छ। तर अहिले बताससँग फियाट/जिप तथा आइसरको आधिकारिक बिक्रेता छैन। बतास अर्गनाइजेसनले उक्त आधिकारिक बिक्रेता कम्पनीहरूको सेयर हिस्सा बिक्री गरेर आफू न्यून साझेदारीमा रहेको छ। 

आफूसँग सवारी ब्रान्ड नभएकाले उपयुक्त ‘डिल’ पाएमा बतास इनभेष्टमेन्ट कम्पनी बिक्री गर्ने मुडमा बतास अर्गनाइजेसन रहेको छ। बतासले बिक्री गर्न चाहेको र चोधरी समूहले खरिद गर्न चाहेकाले दुई पक्षबीच छलफल भइरहेको हो। 

चौधरी समूहअन्तर्गतको सीजी मोटर्सले हाल भारतीय दुईपांग्रे सवारी हिरो मोटोकर्पको मोटरसाइकल र स्कुटर आधिकारिक बिक्रेता भएर बिक्री गर्दै आएको छ। त्यस्तै मोटर्सले १० वटा ब्रान्डका चिनियाँ विद्युतीय सवारी नेपाल भित्र्याएर बिक्री गर्दै आएको छ। 

सीजी मोटर्सले कमर्सियलतर्फ केवाईसी र किङलङ ब्रान्ड तथा प्यासेन्जर कारतर्फ निटा, आयोन, एक्सपाङ, अवतार, स्मार्ट, डायुन, ह्वाजी, रिडारा आधिकारिक बिक्रेताको रुपमा नेपाल भित्र्याइसकेको छ।

सीजी मोटर्सले अन्य केही चिनियाँ ब्रान्ड पनि ल्याउने तयारी गरिरहेको छ। विद्युतीय कारको माग बढ्दै गएकाले व्यावसायिक घरानाहरू चीनबाट विद्युतीय कार ल्याएर बिक्री गर्ने होडबाजीमै देखिन्छन्। 


प्रकाशित : बुधबार, भदौ १९ २०८११४:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend