सोमबार, असोज ७ गते २०८१    
images
images

नयाँ उचाइतर्फ लागेको सेयर बजार : अब बेच्ने हाबी होलान् कि किन्ने?

images
बुधबार, भदौ १९ २०८१
images
images
नयाँ उचाइतर्फ लागेको सेयर बजार : अब बेच्ने हाबी होलान् कि किन्ने?
images
images

काठमाडौं- लगातार उच्च बिन्दुतर्फ लागेर केही समय वृद्धि रोकिएको सेयर बजारले पुन: उचाइतर्फ नै लाग्ने संकेत गरिरहेको छ। तर बजारले अपेक्षाकृत वृद्धिमा जान धरमर गरिरहेको पनि देखिन्छ। नयाँ बिन्दुतर्फ लागेको बजारमा अब किन्नेहरू आत्मविश्वास बढेर आश्वस्त हुन्छन् या बेच्नेहरू हाबी हुन्छन् हेर्न बाँकी छ। 

images
images
images

लगातारको वृद्धिबीच ३००० को बिन्दुमा पुगेर २६९५ मा झरेको बजार अहिले पुन: वृद्धितर्फ नै लागेको हो। सोमबार देखिएको १२७.३२ अंकको उछाललाई साथ दिनेगरी मंगलबार पनि बजार हरियोमा नै बन्द भयो। मंगलबार ६.९४ अंकले बढेर बजार २८३०.२० बिन्दुमा पुग्यो।

गएको साता समग्रमा २२४.८७ अंकले घटेको बजार यो साताको पहिलो कारोबारमा आइतबार पनि ओरालोतिर नै देखिएको थियो। कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजारमा दुई सातायता भने वृद्धि थामिएको थियो। त्यसअघिको साता पनि बजार समग्रमा २६.३५ अंकले घटेको थियो। 

यो साता आइतबार ५३.६३ अंकले घटेर २६९५.९३ बिन्दुमा झरेको बजार सोमबार १२७.३२ अंकले बढेर २८२३.२५ बिन्दुमा पुगेको थियो। सोमबार र मंगलबारको वृद्धिसँगै अब बजारले पुन: उचाइतर्फकै लय समात्ने देखिएको छ।  

images

लामो समय १८०० देखि २००० को बिन्दु आसपास रहेको बजार उच्च बिन्दुतर्फ बढिरहँदा दुई सातायता उतारचढाव देखिएको थियो।  बजारको लगातारको वृद्धिपछिको केही समय 'करेक्सन' को अवस्था देखिएर अब अघि बढेको विश्लेषकहरू बताउँछन्। लगानीकर्ताहरू बढ्दो बजारप्रतिको विश्वासमा फर्कंदै गएको देखिएको छ। 

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने विश्लेषकहरूको भनाइ छ। पर्ख र हेरको सोचमा देखिएका लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरू बताउँछन्।

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते बजार ३०००.८१ को बिन्दुमा पुगेको थियो। भदौमा पनि उचाइतर्फकै लय समात्ने आँकलन भइरहँदा बजार धिमा गतिमा देखिएको हो। सोमबारको उछाल र मंगलबारको वृद्धिले भने बजारमा पुन: उचाइतर्फको यात्रा देखिएको छ। 

लगातार राम्रो देखिएको कारोबार रकमलाई हेर्दा पनि अब बजार कीर्तिमानी उचाइतर्फ नै बढ्ने विश्लेषकहरू बताउँछन्। वृद्धितर्फ लाग्दा केही समय बजारको बढोत्तरीमा विश्राम देखिए पनि बजारले उचाइ नै लिएर अब छिटै नयाँ बिन्दु भेट्ने उनीहरूले बताउँदै आएका छन्। 

बजारको अबको गति हेर्न यो साता बुधबार र बिहीबारको कारोबार नियाल्नुपर्ने विश्लेषकहरूको तर्क छ। नयाँ बिन्दुतर्फ लागेको बजारमा किन्नेहरूमा आत्मविश्वास बढ्छ या बेच्नेहरू हाबी हुन्छन् त्यसले बजारको गति मापन हुने उनीहरू बताउँछन्। 

बजार बुलकै अवस्थामा रहेकाले लगानीकर्ता आत्तिने र मात्तिने अवस्था आउन नहुने विश्लेषकहरू बताउँछन्। बुल मार्केट समयको एउटा यस्तो अवधि हो जसमा सेयर बजारका प्रमुख सूचकांकहरूमा निरन्तर सुधार देखिँदै जान थाल्छ। सुधारको बाटो समातेको सूचकांकले अन्तत: नयाँ उचाइ लिन्छ। हुन त विज्ञहरूले यसलाई एउटै अवधारणा र परिभाषामा समेट्न खोज्दैनन् तर यसको प्रमुख विषय नै उचाइको बाटो हो। जुन अहिले देखिइरहेको छ। 


प्रकाशित : बुधबार, भदौ १९ २०८१०६:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend