बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

सोमबारको व्यापक उछाललाई साथ मिल्नेगरी मंगलबार हरियोमै बन्द भयो सेयर बजार

मंगलबार, भदौ १८ २०८१
सोमबारको व्यापक उछाललाई साथ मिल्नेगरी मंगलबार हरियोमै बन्द भयो सेयर बजार

काठमाडौं- लगातार उचाइतर्फ लागेर केही समय वृद्धि रोकिएको सेयर बजार पुन: उचाइतर्फ लागेको छ। ३००० को बिन्दुमा पुगेर २६९५ मा झरेको बजार पुन: वृद्धितर्फ नै लागेको हो। सोमबार देखिएको १२७.३२ अंकको उछाललाई साथ दिनेगरी मंगलबार पनि बजार हरियोमा नै बन्द भएको छ। 

मंगलबार ६.९४ अंकले बढेर बजार २८३०.२० बिन्दुमा पुगेको छ। १०६ कम्पनीको सेयर मूल्य बढेको बजारमा १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ। १३३ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता समग्रमा २२४.८७ अंकले घटेको बजार यो साताको पहिलो कारोबारमा आइतबार पनि ओरालोतिर नै देखिएको थियो। कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजारमा दुई सातायता भने वृद्धि थामिएको थियो। त्यसअघिको साता पनि बजार समग्रमा २६.३५ अंकले घटेको थियो। 

यो साता आइतबार ५३.६३ अंकले घटेर २६९५.९३ बिन्दुमा झरेको बजार सोमबार १२७.३२ अंकले बढेर २८२३.२५ बिन्दुमा पुगेको थियो। सोमबार र मंगलबारको वृद्धिसँगै अब बजारले पुन: उचाइतर्फकै लय समात्ने देखिएको छ।  

लामो समय १८०० देखि २००० को बिन्दु आसपास रहेको बजार उच्च बिन्दुतर्फ बढिरहँदा दुई सातायता उतारचढाव देखिएको थियो।  बजारको लगातारको वृद्धिपछिको केही समय 'करेक्सन' को अवस्था देखिएर अब अघि बढेको विश्लेषकहरू बताउँछन्। लगानीकर्ताहरू बढ्दो बजारप्रतिको विश्वासमा फर्कंदै गएको देखिएको छ। 

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने विश्लेषकहरूको भनाइ छ। पर्ख र हेरको सोचमा देखिएका लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरू बताउँछन्।

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते बजार ३०००.८१ को बिन्दुमा पुगेको थियो। भदौमा पनि उचाइतर्फकै लय समात्ने आँकलन भइरहँदा बजार धिमा गतिमा देखिएको हो। सोमबारको उछाल र मंगलबारको वृद्धिले भने बजारमा पुन: उचाइतर्फको यात्रा देखिएको छ। 

लगातार राम्रो देखिएको कारोबार रकमलाई हेर्दा पनि अब बजार कीर्तिमानी उचाइतर्फ नै बढ्ने विश्लेषकहरू बताउँछन्। वृद्धितर्फ लाग्दा केही समय बजारको बढोत्तरीमा विश्राम देखिए पनि बजारले उचाइ नै लिएर अब छिटै नयाँ बिन्दु भेट्ने उनीहरूले बताउँदै आएका छन्। 


प्रकाशित : मंगलबार, भदौ १८ २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend