सोमबार, असोज ७ गते २०८१    
images
images

धान र कोदोबालीमा गबारो र खुम्रे किराको प्रकोप, फस्टाउने समयमा मर्न थाले बोट

images
मंगलबार, भदौ १८ २०८१
images
images
धान र कोदोबालीमा गबारो र खुम्रे किराको प्रकोप, फस्टाउने समयमा मर्न थाले बोट

कृषि विज्ञका अनुसार गबारो धानमा लाग्ने एक प्रमुख शत्रुजीव किरा हो। धानमा गाँज आउनेदेखि लिएर फूल फुल्ने वा धान पसाउने अवस्थासम्म यसले आक्रमण गरी बर्सेनि ठूलो क्षति पुर्‍याउने गर्दछ।

images
images

गलेश्वर- म्याग्दीमा लगाइएको धान र कोदो बालीमा प्रकोप देखिएको छ। जिल्लाको पश्चिमी र उत्तरी क्षेत्रका धानबालीमा गबारो र पश्चिमी लेकाली क्षेत्रमा कोदोमा खुम्रे किराको प्रकोप देखिएको हो। बालीमा प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन्।

images
images
images

यस वर्ष खेतमा रोपाइँ गरिसकेपछि मध्य भदौसम्म नियमित वर्षा भएकाले धानबाली राम्रो हुने आशामा किसान थिए। धानले गाँज हाल्ने बेलामा गबारोको समस्या देखापरेको बेनी नगरपालिका-२ का किसान रणबहादुर घिमिरेले बताए।

गबारो रोगले धानको गुबो मर्न थालेपछि किसानले विषादी छर्न थालेका छन्। 'धान रोप्दा र सिँचाइमा धेरै  खर्च भइसकेको छ। अझ विषादी पनि खर्चिलो छ', उनले भने।

मंगला गाउँपालिका-५ को छिसबाङको फाँट, मंगला गाउँपालिका-२ मा पर्ने रणबाङको फाँट र बेनी नगरपालिका-२ बगरफाँटको खेतमा पनि धानमा गबारोको समस्याले धानको गुबो मर्दै गएको किसानले बताएका छन्। धान फस्टाउने समयमा गुबो मर्न थालेपछि किसान चिन्तित बनेका छिसबाङका किसान गोमा थापाले बताइन्।

images

कृषि विज्ञका अनुसार गबारो धानमा लाग्ने एक प्रमुख शत्रुजीव किरा हो। धानमा गाँज आउनेदेखि लिएर फूल फुल्ने वा धान पसाउने अवस्थासम्म यसले आक्रमण गरी बर्सेनि ठूलो क्षति पुर्‍याउने गर्दछ। धानमा पहेँलो, सेतो, छिर्के, गोल्ड-फ्रिन्ज्ड, कालो टाउके छिर्के र कलेजी रङको बुट्टा गरी छ किसिमका गबारो किराले आक्रमण गर्छन्।

धानमा गबारो किराको समस्या तीव्र रूपमा फैलने भएकाले धान केही दिनभित्रै नष्ट हुने कृषि प्राविधिक जगत बानियाँले बताए। 'गबारो किराको सङ्क्रमणले अहिले धानको बोट मर्दै गएका छन्, समयमै उपचार नभए धानबारी नष्ट हुन्छ', उनले भने।

धानखेतमा रासायनिक मल युरिया प्रयोग धेरै, पानीको कमी र सुक्ष्म तत्वको कमीले गबारो किराको सङ्क्रमण सहजै फैलने कृषि प्राविधिक बताउँछन्। 

त्यसैगरी कोदोबालीमा खुम्रे किराको समस्या देखिएको छ। खुम्रेकिराका कारण कोदोको डाँठ धमाधम सुक्न थालेपछि पश्चिम म्याग्दीका रुम, ओखरबोट र देविस्थानका किसान चिन्तित बनेका छन्। कोदोको जरामा खुम्रे किरा र डाँठमा गबारो देखिएको छभने यहाँको धानखेतीमा ढुसीजन्य रोग देखिएको छ।

हुर्कने बेलाको कोदो मर्न थालेपछि समस्या भएको मालिका गाउँपालिका-२ का किसान जगबहादुर विकले बताए। बालीमा रोग र किराको प्रकोप बढ्न थालेपछि किसानले प्राविधिकको सल्लाहमा विषादीको प्रयोग गर्न थालेका छन्। विषादी छर्कँदा रोग अन्य स्थानमा फैलन नदिन सहयोग पुग्ने उनीहरुको विश्वास छ। किरा

हालसम्म ५० रोपनी जग्गामा लगाइएको कोदोबाली खुम्रे किराको समस्याले सखाप भइसकेको छ। खेती गर्नुपूर्व बाँझो जोत्ने काम किसानले नगर्दा खुम्रे किरा फैलिएको प्राविधिकको भनाइ छ। आगामी दिनमा मकै लगाउने याममा माटोमा विषादीको प्रयोग गरेर खुम्रे किरालाई नियन्त्रण गर्ने गरी किसानलाई सचेत गराइने कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ।

म्याग्दीमा तीन हजार आठ सय ९० हेक्टर क्षेत्रफलमा धान र  दुई हजार सात सय ५० हेक्टर क्षेत्रफलमा कोदो खेती हुन्छ।

यहाँ गौरी, जेठो बुडो, जर्नेली, पहेले, मार्सी, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छे, अन्नपूर्ण-३, खुमल-४, खुमल-१०, लुम्ले-२ लगायत उन्नत जातका धानखेती हुने गर्छ। लेकाली क्षेत्रका किसानले भिरालो जमिनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धानखेती गर्दै आएका छन्। कोदो भने स्थानीय जातको खेती हुँदै आएको छ। रासस


प्रकाशित : मंगलबार, भदौ १८ २०८११३:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend