सोमबार, मंसिर १० गते २०८१    
images
images

घोँगी र झिँगामाछा बिक्री गरेर दैनिक १५ सय रूपैयाँसम्म आम्दानी

images
मंगलबार, भदौ १८ २०८१
images
images
घोँगी र झिँगामाछा बिक्री गरेर दैनिक १५ सय रूपैयाँसम्म आम्दानी

नदीमा पानीको बहाव बढेपछि थारू महिला माछाको खोजीमा हेल्का बोकेर नदीमा पुग्ने गरेका छन्। कतिपयले त्यसलाई बर्सातको समयमा आम्दानीको स्रोत नै बनाएका छन्।

images
images

कैलाली- भजनी नगरपालिका-८ की सोमती चौधरीलाई आजभोलि माछा मार्ने काममा भ्याइनभ्याइ छ।

images
images
images

वर्षाको पानीले बनेका तलाउ, नदी तथा डुबान भएका क्षेत्रमा माछा मार्न प्रयोग हुने हेल्का, डेलिया (माछा मार्ने साधन) लगायत साधन बोकेर सोमती माछा तथा झिँगामाछाको खोजीमा जाने गर्छन्। खेतीपातीको समय सकेपछि फुर्सदको समयलाई सदुपयोग गर्दै माछाको खोजीमा जाने गरेको उनी बताउँछिन्।

images

'घरमा खासै काम हुँदैन। फुर्सदमा समय कटाउनुभन्दा अलिकति माछा मरे पनि आफूलाई खान हुन्छ। बढी भए सुकाएर भोलिका लागि हुन्छ। त्योभन्दा बढी भए बिक्री गरेर राम्रो पैसा आउँछ', उनी भन्छन्, 'हिउँदको समयमा अहिले सुकाएको माछा तरकारीका लागि राम्रो हुने हुँदा आजभोलिको दिनचर्या माछा मार्नमै बितेको छ।'

images

बर्सातको समयमा थारू समुदायका लागि सोमती एउटा उदाहरण मात्र हुन्। नदीमा पानीको बहाव बढेपछि थारू महिला माछाको खोजीमा हेल्का बोकेर नदीमा पुग्ने गरेका छन्। कतिपयले त्यसलाई बर्सातको समयमा आम्दानीको स्रोत नै बनाएका छन्। 'घरमा चारजना छौँ। दिनभर सबैको काम माछा, घोँगी खोज्ने हुन्छ', भजनीकै जितेन्द्र चौधरी भन्छन्, 'केही भएन भने पनि दिनमा तीन-चार केजीसम्म संकलन भइहाल्छ। त्यो बिक्री गरेपछि एक हजारदेखि एक हजार पाँचसयसम्म आइहाल्छ।'

उनले झिँगामाछा र घोँगी बेचेर साउनमा लगभग ६५ हजार रूपैयाँ आम्दानी गरेको सुनाए।

भजनीको अधिकांश क्षेत्र डुबानमा पर्छ। कान्द्रा, मोहना, पथरैया र काढा नदीमा आएको बाढी बस्तीमा पसेपछि डुबान हुन्छ। डुबान क्षेत्रमा नदीबाट माछा आउने र ती माछाका लागि जाल थाप्ने गरिएको रञ्जित चौधरी बताउँछन्।

'नदीबाट पानीसँगै सानाठूला माछा डुबान भएको खेतमा आउने गर्छन्। त्यसमा जाल हाल्यो भने दुई-तीन केजी दिनमा भेट्टाइन्छ', उनले भने, 'बिक्री गर्नका लागि बजारको समस्या छैन। नभए सुकाएर बिक्री गर्दा झन् राम्रो मूल्य पाइन्छ।'

आफूलाई खान पनि हुने अनि बिक्री गरेर पैसा पनि आउने भएपछि थारू समुदायले फुर्सदको अधिकांश समय माछाको खोजीमा बिताउने गरेको रञ्जितले बताए।

बजारमा घोँगीको मूल्य प्रतिकेजी दुईसय रूपैयाँसम्म छ। झिँगामाछा चारदेखि ६ सय रूपैयाँसम्म बिक्री हुन्छ। ठूलो माछा ८ सय रूपैयाँसम्ममा खरिद गर्ने गरेको होटल व्यवसायी जीतबहादुर चौधरी बताउँछन्। उनका अनुसार एउटै महिलाले दिनमा १० केजीसम्म घोँगी ल्याउने गरेका छन्। तीन-चार केजीसम्म झिँगामाछा बिक्रीका लागि ल्याएर आउने गरेको उनको भनाइ छ।

'दैनिक १०-१२ केजी घोँगी हाम्रै पसलमा खपत हुन्छ। बढी भएको अन्य होटलमा पठाउँछौँ', जीतबहादुरले भने, 'यो याममा एउटै महिलाले ६० देखि ७० हजार रूपैयाँसम्म घोँगी तथा माछा बिक्री गरेर आम्दानी गरेको मैले देखेको छु।'

फुर्सदको समयमा माछा र घोँगीबाट राम्रो आम्दानी भए पनि जोखिम त्योभन्दा बढी छ। धमिलो फोहर पानी, हिलाम्मे भएर दिनभर चर्को घामको राप स्वास्थ्यको दृष्टिकोणले निकै जोखिम छ। वर्षामा भिज्दा झन् डर हुन्छ। डर हुँदाहुँदै पनि पैसाको अगाडि सबै बिर्सने गरेको बिन्दु चौधरीको भनाइ छ।

'पानी तलको भुइँ देखिँदैन। अनुमानका भरमा जोखिम मोलेर हातले घोँगी खोज्नुपर्छ', उनले भने, 'हातमा सधैँ घोँगी आउँछ भन्ने छैन। फोहर पानीमा डुबेको शरीरले कुन रोगको सङ्क्रमण निम्त्याउने हो, त्यसको ख्याल गरिँदैन।'

जोखिम मोलेरै भए पनि बर्सातको सुरुवाती चरणमा घोँगीबाट र अन्तिम चरणमा माछाबाट सोचेभन्दा राम्रो कमाइ हुने गरेको उनको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, भदौ १८ २०८११०:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend