इटहरी- तेह्रथुम मेन्छ्यायेम गाउँपालिका वडा नम्बर २ का मनोज भण्डारी एक दशकदेखि इटहरीमा बस्छन्। गाउँमा शिक्षा र स्वास्थ्यको राम्रो बन्दोबस्त नभएपछि उनको परिवार अवसरको खोजीमा इटहरी आइपुगेको हो। वैदेशिक रोजगारीपछि नेपाल फर्किएका उनी गाउँ छाडेर सपरिवार बसाइसरेका हुन्।
मनोजमात्र होइन उनका छिमेकीहरूसमेत इटहरीलगायत सहरमा सरिसकेका छन्। छोराछोरीको भविष्य स्वास्थ्योपचारको समस्याका कारण इटहरी बस्न थालेको उनी बताउँछन्। २०६४ सालदेखि गाउँ छाडेका उनले कहिलेकाहिँ अलैँचीको स्याहार गर्न मेन्छ्यायेम जाने गरेको बताए।
तेह्रथुम सोल्माका दयाराम खनाल दुई जना छोरी र श्रीमतीसहित इटहरीमा बस्दै आएका छन्। इटहरीका घरधनी काडमाडौंमा छन्। उनको गाउँको घर भने चाबी लगाएको वर्षौँ भइसकेको छ। गाउँमा साह्रोगाह्रो पर्दा कोही पनि नहुने भएपछि इटहरी आएको उनले बताए।
सोल्मा क्षेत्रमा खनाल परिवारको बाहुल्य रहेको छ। सोल्मामै घर भएका राजन खनाल पनि छोराहरूको राम्रो शिक्षादीक्षाको लागि इटहरी बस्दै आएका छन्। डेढ दशकदेखि इटहरीमा चिया पसल सञ्चालन गर्दै आएका उनी छोराहरूलाई उच्च शिक्षाको लागि बाहिर पठाएर आफू व्यवसायमा जमेका छन्।
माओवादी द्वन्द्वपछि पहाडी जिल्लाका बासिन्दा घर खाली छाडेर तराईतर्फ बसाइ सर्ने क्रम बढ्दै गएको हो। द्वन्द्वकै क्रममा पूर्व-पश्चिम राजमार्ग आसपासका बजारमा जनघनत्व बढेको थियो। गाउँमा घरबारी बाँझो राखेर सहरबजारमा भाडाको घरमा बस्ने अधिकांशले अहिले केही धुर जग्गामा घर बनाउन थालेका छन्।
बजार आसपास बस्ती बढेपछि मुख्य सहरी क्षेत्रका व्यापारिक भवनहरू खाली हुँदै गएका छन्। इटहरीको मुख्य चोकमा 'टु-लेट'को ब्यानर टाँसेको ६ महिना हुँदासमेत रोशन सोनारले घर भाडामा लगाउन सकेका छैनन्। धेरै समयदेखि घर खाली रहेपनि भाडामा लाग्न नसकेको भन्दै उनी निराश छन्। पहिला होटलले भाडामा लिएको तर अहिले त कसैले पनि भाडामा लिनका लागि वास्ता नगरेको उनको भनाइ छ।
झापाको प्रमुख व्यापारिक सहर दमकको अवस्था पनि उस्तै छ। दमक नगरपालिका कार्यालयनजिकै कपिल श्रेष्ठको चारतले व्यापारिक भवनका सम्पूर्ण तला खाली छन्। यसअघि नजिकै खुलेको एडभान्स अस्पतालको चहलपहलले बजार गुल्जार भएपनि अहिले सुनसान भएको कपिल बताउँछन्।
व्यापारिक भवन भाडामा लाग्न नसकिरहेको अवस्थामा छेवैमा नगरपालिकाले चार करोड रुपैयाँ खर्च गरेर व्यापारिक कम्प्लेक्स बनाउने तयारी गरेको छ। परिवारसहित धरानमा बस्दै आएका कपिल धरानमा पनि धेरै व्यापारिक भवनहरू खाली हुँदै गएको बताउँछन्।
धरानको मुख्य बजार छाताचोकमा घर भाडामा लगाउन सूचना प्रकाशित गरिएको छ। मुख्य बजार क्षेत्रमा सटरहरू खाली हुँदै गएपछि धरानको व्यापारिक गरिमा गुम्ने खतरा रहेका स्थानीय व्यवसायी विष्णु बराल बताउँछन्।
सुनसरी उद्योग वाणिज्य संघका सदस्यसमेत रहेका विष्णु धरानको व्यापारिक चहलपहल पछिल्लो ५ वर्षमा ३० प्रतिशतभन्दा बढी घटेको सुनाउँछन्।
विराटनगरको मुख्य राजमार्गमै खाली भवनमा ६ महिना देखि टु-लेटको सूचना टाँसिएको छ। बरगाछी, कञ्चनवारिदेखि पानीट्याङकीको मुख्य बजार क्षेत्रमा सटर तथा भवन खाली भइरहेका छन्। कोरोना महामारीपछि बैंकको ब्याजदरलगायत कारण देखाउँदै लगानी गर्न डराएका व्यापारीहरू हच्किएका छन्।
उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत कोरोना महामारीको असर अहिले देखापरेको बताउँछन्। पछिल्लो समय अर्थतन्त्र शिथिल बनेका कारण व्यापारीहरू पलायन भएको उनले बताए। अहिले बिस्तारै बजार चलायमान हुन थालेको र केही समयमै पुरानै लयमा अर्थतन्त्र फर्किने उनको बुझाइ छ।
मानिसहरू अवसरको खोजीमा एक ठाउँबाट अर्को ठाउँमा सर्नु सामान्य मान्छन् अर्थशास्त्री डा. पिके झा। ‘स्थानीय तहको संरचनाको कारण पहाडी क्षेत्रमा अहिले धेरै सुविधा पुगेको छ। सडक र पूर्वाधारहरू पर्याप्त बन्दै गएका छन्। विकास भइरहेको छ। तर रोजगारीका अवसरहरू भने छैनन्। शिक्षा र स्वास्थ्यको राम्रो बन्दोबस्त हुन सकेन’ उनले भने, ‘यस्तै कारण मानिसहरू सहर बजारतिर आकर्षित भए। समाजलाई आर्थिक उपार्जनसँग जोड्न नसक्दा यो समस्या आएको हो।’
भारतीय कलाकारले समेत सपिङ गर्ने धुलाबारी बजारको दु:खान्त व्यापारिक कम्प्लेक्स नचल्ने दमकमा ‘भ्यू टावर’को बोझ