इटहरी- झापाको काँकडभिट्टा र चारआलीको बीचमा रहेको धुलाबारीलाई चिन्न सजिलो हुनेगरी सानो धरहराको प्रतिमा राखिएको छ। त्यही प्रतिमाले देखाउँदा धुलाबारीको चित्र। काठमाडौंको ९ तले विशाल धरहरा भत्किएपछि त्यसैको सम्झनामा प्रतिमा निर्माण गरिएको हो।
धुलाबारी बजारको इतिहास र वर्तमान पनि त्यही धरहराकै जस्तो छ। विशाल व्यापारको साम्राज्य ढलेर धुलाबारी त्यही प्रतिमाकै आकारमा खुम्चिएको छ। कन्टेनरबाटै सामग्री बिक्री गर्ने व्यापारी एकदुई वटा खुद्रा सामान किन्ने ग्राहक पर्खिरहेका छन्। दिनमा करोडको कारोबार गर्ने व्यापारी हजार बचत गर्न नसक्ने अवस्थामा पुगेका छन्।
काठमाडौंदेखि भारतका विभिन्न व्यापारिक सहरबाट धुलाबारी सामान किन्न जाने अवस्था थियो। बजारभरिमा नेपाल बैंकमात्र भएको कारण आलोपालो पैसा जम्मा गर्ने व्यवस्था मिलाइएको थियो। व्यवसायीहरू पालो कुरेर पैसा जम्मा गर्ने गर्दथे। चिनियाँ सामान बोकेर दैनिक ७ वटासम्म कन्टेनर आउँथे। सान र मान नै बेग्लै थियो। आसपासका बजारलाई गन्दै नगन्न हैसियतमा थियो धुलाबारी। एक समय नेपालको हङकङ भनेर चिनिएको धुलाबारीको साख नफर्किनेगरी गुमेको छ।
‘हामी पैसा कति भयो भनेर हिसाब गदैनथ्यौँ। बोरामा पैसा लगेर बैंकमा राख्थ्यौँ। बैंकले पनि गन्न नभ्याएर तीन दिनमा डिपोजिट स्लिप दिन्थ्यो। हरेक दिन पैसाको बोरा बैंकमा लैजानुपर्ने अवस्था थियो। त्यसैको लागि मात्रै छुट्टै स्टाफ राखेको थिएँ मैले,’ धुलाबारीका व्यवसायी कपिल क्षेत्रीले विगतको अनुभव सुनाउँदै भने।
यही बजारमा सामान किन्न गोबिन्दा, मिथुन चक्रवर्तीलगायतका भारतीय कलाकार आउने गरेको दाबी गर्छन् क्षेत्री। ‘यही हे धुलाबारी’ भनेर छक्क पर्ने गरेका थिए’ विगत स्मरण गर्दै उनले भने, ‘सानो तर भिडभाड भएको बजारलाई धुलाबारी भनेर पत्याउँदैन थिए। उनीहरूलाई कपडा बेच्ने भारतीय व्यापारीहरू नै थिए। अहिले ती मारवाडीले पसल सारेर भारत पुर्याएका छन्।’
मेची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका क्षेत्रीका अनुसार अहिले नेपालका धनीहरू सिलगुडी गएजस्तो पहिला भारतका धनीमानीहरू धुलाबारी आउने गर्दथे।
एक समय भारतीय व्यापारीको अड्डा नै बनेको धुलाबारीबाट अहिले नेपाली मूलका व्यापारी पनि सर्ने अवस्थामा पुगेका छन्। धुलाबारी भन्नेबित्तिकै नयाँ फेसनका कपडा र विद्युतीय सामग्रीको स्रोत हो।
३० वर्षदेखि कपडा व्यापार गरिरहेका ललित जैनले भारतीय वरिष्ठ कलाकारहरू धुलाबारीमा कपडा किन्न आउने गरेको स्वीकार गरे। त्यो बेला आफूले यही कलाकार भनेर नचिने पनि थुप्रै गायकदेखि नायकसम्म सपिङको लागि आउने गरेको उनले बताए।
६ सय मिटर उत्तर दक्षिण फैलिएको लामो बजार छ धुलाबारी। नयाँ घरहरू बनेपनि पसलहरू पुरानै छन्। पसलमा व्यापारीबाहेक ग्राहकको उपस्थिति देखिँदैन। पसलेहरू लुँडो र चेसमा व्यस्त हुन्छन्। केही क्याफे र रेस्टुरेन्ट खुलेका छन् तर रौनक हराएको छ। कतिपय घरका सटरहरू लामो समयदेखि बन्द छन्। रातदिन चलायमान हुने धुलाबारी बुढेसकाल लागेर थला परेजस्तै भएको छ।
धुलाबारीको व्यापक चर्चाकै बीच नवनीत चौधरीले सुरु गरे न्यू ब्रोस मोबाइल पसल। धुलाबारी चोकमै पसल थापेका उनी सुरुवातमै चम्किए। दैनिक लाखौँको कारोबार गर्ने उनले समयसँगै नयाँ मोबाइलका ब्रान्ड भित्र्याए। २०६९ सालमा सुरु गरेको उनको व्यवसाय २०७२ पछि केही कमजोर बन्यो।
केही सस्ता चाइनिज मोबाइलसँगै नोकियाले बढाएको व्यापार अहिले रेड्मी, रियल्मी, भिभो, ओप्पो, स्यामसुङ जस्ता कम्पनीले धानिरहेको छ। होलसेलबाट दैनिक सयको हाराहारीमा मोबाइल बेच्ने गरेका उनी अहिले दुई वटामा झरेका छन्।
केशव दाहाल धुलाबारीका प्रख्यात इलेकट्रोनिक्स सामग्रीका व्यापारी थिए। उनको पसलले दैनिक लाखौँको कारोबार गर्दथ्यो। न्यू शिव शक्ति पसल दमक, धरानदेखि भारतका व्यापारीमा समेत चर्चित थियो। कर्लेक्स, सीडी, डीभीडी, लाइटलगायत चाइनिज सामग्री बेचेर मनग्य कमाएको अनुभव छ उनीसँग। हाल सोही पान नम्बरमा सक्षम लिक्विड सपमार्फत पेय पदार्थको होलसेल चलाउन सक्षम भएका छन् उनी।
व्यापारी रबी जैनका अनुसार दैनिक १० हजारको बिक्री गर्न नसक्ने अवस्था छ। समता स्टोरका सञ्चालक जैन धुलाबारीका व्यापारी भारत सरेपछि व्यापार पनि सरेको बताउँछन्। यसबीचमा एक सयभन्दा बढी व्यापारी पलायन भएको सुनाए। सिधै कन्टेनरबाट सामान आउने धुलाबारीमा एउटा पनि ट्रान्सपोर्टको कार्यालय चल्न सक्ने अवस्था नरहेको उनले बताए।
सन् २००९ पछि चीनबाट भारतमा सोझै चिनियाँ सामग्री निर्यात सुरु भएसँगै बिस्तारै धुलाबारी कमजोर बन्दै गएको हो। भारतमा चिनियाँ सामान नपाउने भएपछि उनीहरू नेपाल आउने गरेका थिए।
धुलाबारीबाट बिक्री हुने सामग्री अहिले भारत र चीनबीच सोझै कारोबार हुन्छ। भारतमा पनि गार्मेन्ट र इलेकट्रोनिक्स सामानको कारखाना बढेपछि धुलाबारीको ओरालो यात्रा सुरु भएको हो।
त्यससँगै नजिकैको बिर्तामोड बजारको उदय अपत्यारिलो हिसाबले भयो। सशस्त्र द्वन्द्वपछि ताप्लेजुङ, पाँचथर र इलामबाट बसाइ सर्नेहरूको रोजाइमा पर्यो बिर्तामोड। पहाडी जिल्लामा जाने सवारीसाधन बिर्तामोडमै पाउने भएपछि कारोबार पनि उतै सर्यो। बैंकका शाखाहरू बिर्तामोडमै केन्द्रित हुन थाले। जसले धुलाबारीको कारोबारलाई नमज्जाले खुम्च्यायो। समयभन्दा अगाडि धेरै चम्किएको धुलाबारीको व्यापार चाडै निभ्यो।
धुलाबारीमा चार वर्षअगाडि मेची क्राउन (पाँचतारे होटेल) खुलेपछि केही चर्चा बढ्यो। तर होटेलको आफ्नो आन्तरिक कारोबारबाहेक बजारलाई त्यसले चलायमान बनाउन सकेन। होटेलको कारण धुलाबारी पुनः परिचित भयो तर व्यापार फर्किन सकेन। हुन त अहिले पनि धेरै होटेलहरू खुल्ने क्रममा छन्।
मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाइँ पहाडी जिल्लामा उत्पादित सामग्री भण्डारण गरेर भारततर्फ निकासी गर्दा धुलाबारीलाई ट्रान्जिट बनाउन सकिने बताउँछन्।
पहिला अन्तर्राष्ट्रिय व्यापारको हबलाई अब आन्तरिक व्यापार प्रवर्द्धनमा ध्यान दिनुपर्ने उनको धारणा छ। अदुवा, अलैँची, कुचोको व्यापारले फाइदा पुर्याउने बताउँदै उनले प्लाई उद्योगलाई थप प्रोत्साहन गर्नुपर्ने बताए।
भारतलाई बर्मा र भियतनामबाट भन्दा नेपालबाट प्लाई लैजान सहज भएपछि नेपाली व्यापारीमा आश पलाएको छ। अहिले धुलाबारी आसपास धमाधम प्लाई उद्योग खुल्ने क्रममा छन्। पहाडको उत्तिसका काठ ल्याएर प्लाई बनाउन लागि परेका छन् स्थानीय उद्योगी।
प्रसाइँ आफैले पनि प्लाई उद्योग सञ्चालन गरेर भारत निर्यात गरिरहेका छन्। उत्तिसको प्लाई बलियो हुने भएपछि भारतीय उपभोक्ता आकर्षित भएको उनको भनाइ छ।