बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

पुन: व्यापक हरियाली हुँदै १२७ अंकले बढ्यो सेयर बजार, अब पुग्ला कीर्तिमानी उचाइतर्फ?

सोमबार, भदौ १७ २०८१
पुन: व्यापक हरियाली हुँदै १२७ अंकले बढ्यो सेयर बजार, अब पुग्ला कीर्तिमानी उचाइतर्फ?

काठमाडौं- लगातार उचाइतर्फ लागेर केही समय वृद्धि रोकिएको सेयर बजार पुन: उचाइतर्फ लागेको छ। ३००० को बिन्दुमा पुगेर २६९५ मा झरेको बजार फेरि वृद्धितर्फ नै लागेको हो। 

गएको साता समग्रमा २२४.८७ अंकले घटेको बजार यो साताको पहिलो कारोबारमा आइतबार पनि ओरालोतिर नै देखिएको थियो। कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजारमा दुई सातायता भने वृद्धि थामिएको थियो। त्यसअघिको साता पनि बजार समग्रमा २६.३५ अंकले घटेको थियो। 

यो साता आइतबार ५३.६३ अंकले घटेर २६९५.९३ बिन्दुमा झरेको बजार सोमबार १२७.३२ अंकले बढेर २८२३.२५ बिन्दुमा पुगेको छ। २३९ कम्पनीको सेयर मूल्य बढेको बजारमा १३ अर्ब १० करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ। सोमबार ५ कम्पनीको मात्र सेयर मूल्य घटेको छ। 

लामो समय १८०० देखि २००० को बिन्दु आसपास रहेको बजार उच्च बिन्दुतर्फ बढिरहँदा दुई सातायता उतारचढाव देखिएको थियो। बजारले पुन: उचाइतर्फकै लय समात्ने देखिएको छ। बजारको लगातारको वृद्धिपछिको केही समय 'करेक्सन' को अवस्था देखिएर अब अघि बढेको विश्लेषकहरू बताउँछन्। लगानीकर्ताहरू बढ्दो बजारप्रतिको विश्वासमा फर्कंदै गएको देखिएको छ। 

लगातार राम्रो देखिएको कारोबार रकमलाई हेर्दा पनि अब बजार कीर्तिमानी उचाइतर्फ नै बढ्ने विश्लेषकहरू बताउँछन्। वृद्धितर्फ लाग्दा केही समय बजारको बढोत्तरीमा विश्राम देखिए पनि बजारले उचाइ नै लिएर अब छिटै नयाँ बिन्दु भेट्ने उनीहरूले बताउँदै आएका छन्। 

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने विश्लेषकहरूको भनाइ छ। पर्ख र हेरको सोचमा देखिएका लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरू बताउँछन्।

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते बजार ३०००.८१ को बिन्दुमा पुगेको थियो। भदौमा पनि उचाइतर्फकै लय समात्ने आँकलन भइरहँदा बजार धिमा गतिमा देखिएको हो। सोमबारको उछालले भने बजारमा पुन: उचाइतर्फको यात्रा देखिएको छ। 


प्रकाशित : सोमबार, भदौ १७ २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend