बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

वाणिज्य बैंकहरूको कर्जा निक्षेप अनुपात ७८.६५ प्रतिशतमा आयो, कुन बैंकको कर्जा दिने क्षमता कति?

आइतबार, भदौ १६ २०८१
वाणिज्य बैंकहरूको कर्जा निक्षेप अनुपात ७८.६५ प्रतिशतमा आयो, कुन बैंकको कर्जा दिने क्षमता कति?

काठमाडौं- बैंकिङ प्रणालीमा करिब ६ खर्ब २२ अर्बको हाराहारीमा अधिक तरलता रहेको छ। ब्याजदर घटेर एकल अंकमा आएको छ। कर्जा प्रवाह बढ्न नसक्दा बैंकको कर्जा निक्षेप अनुपात सहज अवस्थामा छ।

बैंक वित्तीय संस्थाहरूले कर्जा निक्षेप अनुपात (सीडी) ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेकोमा वाणिज्य बैंकहरूको औषत सीडी अनुपात ७८.६५ प्रतिशतमा झरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा अधिकांश बैंकहरूको कर्जा निक्षेप अनुपात निकै सहज अवस्थामा देखिन्छ। 

चालु आर्थिक वर्ष सुरु भएको ४५ दिन बितिसक्दासमेत कर्जा लगानी खासै धेरै बढ्न सकेको छैन। साउनमा २ अर्ब कर्जा प्रवाह भएकोमा भदौमा आएर करिब २० अर्बको हाराहारीमा कर्जा लगानी भएको छ। 

चालु आर्थिक वर्षको अन्त्यसम्ममा राष्ट्रिय वाणिज्य बैंक कर्जा लगानी गर्नसक्ने सबैभन्दा सहज अवस्थामा छ। यस बैंकको कर्जा निक्षेप अनुपात ६०.२९ प्रतिशत रहेको छ।

यस्तै नेपाल बैंक लिमिटेडको कर्जा निक्षेप अनुपात ७२.४४ प्रतिशत रहेको छ। कृषि विकास बैंक पनि कर्जा निक्षेप अनुपातका आधारमा निकै सुविधाजनक अवस्थामा छ। यस बैंकको सीडी अनुपात ७८.४६ प्रतिशत रहेको छ। 

निजी क्षेत्रतर्फका बैंकहरूमध्ये सबैभन्दा बढी कर्जा दिनसक्ने क्षमता भएका बैंकहरूमा नेपाल एसबिआई बैंक, ग्लोबल आईएमई बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक र एनआईसी एसिया बैंक रहेका छन्। 

जसमध्ये नेपाल एसबिआई बैंकको कर्जा निक्षेप अनुपात ७३.५६ प्रतिशत, स्टाण्डर्ड चार्टर्ड बैंकको ७६.८४ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ७७.७४ प्रतिशत, एनआईसी एसिया बैंकको ७९.१४ प्रतिशत र प्रभु बैंकको ७९.७९ प्रतिशत रहेको छ। 

सबैभन्दा बढी कर्जा निक्षेप अनुपात प्राइम बैंकको ८६.२० प्रतिशत रहेको छ। प्राइम बैंकपछि सबैभन्दा बढी कर्जा निक्षेप अनुपात सिटिजन्स इन्टरनेशनल बैंकको ८४.०७ प्रतिशत, एनएमबि बैंकको ८३.८९ प्रतिशत, हिमालयन बैंकको ८३.७८ प्रतिशत नबिल बैंकको ८३.६० प्रतिशत, माछापुच्छ्रे बैंकको ८३.२१ प्रतिशत र कुमारी बैंकको ८२.९३ प्रतिशत रहेको छ। 

यसबाहेक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सीडी अनुपात ८०.४६ प्रतिशत, एभरेष्ट बैंकको ८०.२७ प्रतिशत, सिद्धार्थ बैंकको ८०.२० प्रतिशत र सानिमा बैंकको ८०.५३ प्रतिशत रहेको छ। 

कर्जा निक्षेप अनुपातसँगै कुमारी र एनआईसी एसिाय बैंकबाहेक अन्य बैंकहरू पुँजीकोष अनुपातका आधारमा समेत सहज स्थितिमा छन्।

कुमारी बैंकको प्राथमिक पुँजीकोष अनुपात ८.५६ प्रतिशत र एनआइसी एसिया बैंकको प्राथमिक पुँजीकोष अनुपात ८.४४ प्रतिशत रहेको छ। 

पुँजीकोषको दबाबमा रहेका हिमालयन बैंक र प्रभु बैंकले गत वर्षको अन्त्यसम्ममा उल्लेखीय सुधार गरेका छन्। 

वाणिज्य बैंकहरूको औषत टायरवान क्यापिटल १०.१० प्रतिशत र न्यूनतम पुँजीकोष अनुपात १२.८४ प्रतिशत रहेको छ। पुँजीकोषका आधारमा सबैभन्दा सहज अवस्थामा स्टाण्डर्ड चार्टर्ड बैंक रहेको छ। 


प्रकाशित : आइतबार, भदौ १६ २०८११४:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend