मंगलबार, असोज ८ गते २०८१    
images
images

नेपालगञ्जका मुख्य सडकमा छाडा चौपायाले दुर्घटनाको जोखिम

images
बुधबार, भदौ १२ २०८१
images
images
नेपालगञ्जका मुख्य सडकमा छाडा चौपायाले दुर्घटनाको जोखिम

यो हप्तामात्रै एक सयभन्दा बढी छाडा पशु चौपायालाई काञ्जीहाउसमा राखिएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले जानकारी दिए।

images
images

बाँके- नेपालगञ्जमा मुख्य सडक नै छेकेर बस्ने छाडा चौपायाका कारण सडक दुर्घटनाको जोखिम बढ्दै गएको छ। 

images
images
images

सहरका अधिकांश मुख्य चोक र सडकमा छाडा घोडा, गाई गोरुलगायतका चौपायाले कब्जा गरेपछि सडक दुर्घटनाको चुनौती थपिनुका साथै सर्वसाधारणलाई आवागमनमा समस्या भइरहेको नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए। उपमहानगरपालिकाले छाडा चौपाया छोड्नेलाई जरिवाना तिराउने निर्णय गरेपनि सो निर्णय कार्यान्वयन नहुँदा समस्या भएको उनको गुनासो छ।

नेपालगञ्जको त्रिभुवन चोक, धम्बोझी चोक, बीपी चोक, पुष्पलाल चोक र गणेशमान चोक, सदरलाइन क्षेत्रमा सबैभन्दा बढी छाडा गाईगोरु भेटिने गरेका छन्। ती क्षेत्रमा दुर्घटनाको जोखिमसँगै आवागमनमा पटक-पटक अवरोधसमेत हुने गरेको सदरलाइनका व्यापारी दिपानन्द गुप्ताले बताए।

गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी १२ पशुचौपायाको मृत्यु भएको थियो। तीन पशुचौपाया घाइते भएका थिए। यी दुर्घटनामा परी केही व्यक्ति घाइते भएका थिए। छाडा चौपायाका कारण नेपालगञ्जको ट्राफिक व्यवस्थापनमा समेत समस्या हुँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले बताए।

images

नेपालगञ्ज उपमहानगरपालिकासँग समन्वय गरेर नेपालगञ्जको छाडा चौपाया समस्या न्यूनीकरणको लागि योजनाबद्ध तरिकाले काम भइरहेको उनले बताए। छाडा चौपायाको समस्या देखिएपछि अहिले सहरबाट धपाएर काञ्जीहाउसमा लैजाने गरेको उनको भनाइ छ।

जथाभावीरुपमा पशुचौपाया छाडा छाडिदिँदा दुर्घटनाको जोखिम बढेपछि नेपालगञ्ज उपहानगरले नगरमा छाडा छाडिएका पशुचौपाया व्यवस्थापन गर्न थालेको नगरप्रमुख प्रशान्त विष्टले बताए।

'छाडापशु चौपायाले सडक कुरुप बनेको छ, दुर्घटनाको जोखिम बढेको छ', उनले भने, 'सम्बन्धित पशुधनीले आफै सडकमा पशु छाड्ने गरेका छन्, पशुचौपाया घरमै बाँधौँ, अन्यथा कारबाही गर्न बाध्य हुनेछौँ।'

नेपालगञ्जमा खुला सिमानाका कारण पनि छाडा पशुचौपाया व्यवस्थापनमा चुनौती थपिएको उनको भनाइ छ।

नगरका चोकमा रहेका छाडा पशुचौपायालाई धपाउँदै काञ्जीहाउस लैजान थालिएको छ। यो हप्तामात्रै एक सयभन्दा बढी छाडा पशु चौपायालाई पुरैनाको विर्तास्थित काञ्जीहाउसमा राखिएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले जानकारी दिए। रासस


प्रकाशित : बुधबार, भदौ १२ २०८११७:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend