बिहीबार , असोज ३ गते २०८१    
images
images

अटो शोका एक कुशल सारथी

images
सोमबार, भदौ १० २०८१
images
images
अटो शोका एक कुशल सारथी

प्रदर्शनी सफल पार्न देखिने रुपमा र पर्दापछाडिसमेत धेरैको अथाह मेहनत रहन्छ। त्यसमा प्रमुख छन्, अटो शो संयोजक अनुपकुमार बराल। यसरी भनौँ, उनी अटो शोका चालक हुन्।

images
images

काठमाडौं- नाडा अटो शोको उत्सवमय प्रदर्शनी संघारमा छ। एउटा यस्तो धुमधाम जसले अटो व्यवसायमा लागिरहेका र उपभोक्तामात्र होइन धेरैको ध्यान तान्छ। राष्ट्रिय अर्थतन्त्रमा मुख्य योगदान दिने अटोमोबाइल क्षेत्रसम्बन्धी यस्तो प्रदर्शनीले विभिन्न कोणबाट सबैलाई फाइदा नै हुन्छ।

images
images
images

प्रदर्शनी सफल पार्न देखिने रुपमा र पर्दापछाडिसमेत धेरैको अथाह मेहनत रहन्छ। त्यसमा प्रमुख छन्, अटो शो संयोजक अनुपकुमार बराल। यसरी भनौँ, उनी अटो शोका चालक हुन्। कुशल सारथी बनेर उनले यसअघि दुईवटा अटो शो सफल बनाइसकेका छन्।  

सन् २००० मा सेल्स अफिसरको रुपमा सिप्रदी ट्रेडिङमा प्रवेश गरेका बराल २०१० मा त्यही कम्पनीको डिलरसिप लिएर अटोमोबाइल व्यवसायमा एक कदम अघि बढे। त्यहाँबाट अहिलेसम्म उनले अटोमोबाइल क्षेत्रमा २४ वर्ष समय ब्यतित गरिसकेका छन्। ४० जनाभन्दा बढीलाई रोजगारी दिएर आफ्नो व्यवसाय अघि बढाइरहेका छन्। 

नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालको कार्यसमितिमा बसेर नै उनले लामो अनुभव लिइसकेका छन्। सानो कमिटीबाट नाडामा प्रवेश गरेका उनले कार्यसमितिमा बसेर चार कार्यकाल काम गरिसके। दुईपटक कार्यसमिति सचिव भएर उनले काम गरिसकेका छन्। अहिले अटो शो संयोजकका रुपमा उनले तेस्रो वर्षमा काम गरिरहेका छन्। 

images

अध्यापनमा संलग्न आफ्ना बुबाको सामाजिक जीवनबाट प्रभावित उनले जीवनका आरोह अवरोह र सन्तुष्टिका उपक्रमहरू बुझेका छन्। अटो मोबाइल क्षेत्रमा भएको प्रवेश आफ्नो जीवनको नयाँ मोड भएको उनी सुनाउँछन्। ललितपुर झम्सिखेलमा जन्मिएर चितवनमा हुर्किएका उनी अहिले तामझामपूर्ण अटो क्षेत्रको व्यवसायमा मेहनत गरिरहेका छन्। 

व्यवसायमा नै पनि उनले भुँइचालो र कोभिडदेखि त्यसअघि विभिन्न आर्थिक मन्दीको अवस्थाहरू देखे-भोगे। भर्खर व्यवसायमा छिर्नेहरूलाई नीतिगत रुपमा सहयोग नहुँदा कठीन हुने गरेको उनी बताउँछन्। अप्ठ्याराहरूबीच पनि आफूलाई यो क्षेत्रले दिएको बेग्लै पहिचानले उनी खुसी छन्। 

anup baral (2).jpg

नाडा अटोमोबाइल एशोसिएसन अफ नेपाल अटोमोबाइलसम्बन्धी काम गर्ने हरेक व्यवसायीको छाता संगठन हो। चारपांग्रे, तीनपांग्रे, दुईपांग्रे, कमर्सियल सवारीसाधनदेखि लिएर अटो क्षेत्रका लुब्रिकेन्ट्स, टायर-ट्युब, ब्याट्रीलगायतका विविध सामग्रीको व्यवसाय गर्ने, उत्पादन गर्ने, एसेम्बल गर्ने सबै नै यसमा जोडिएका छन्। हरेक वर्ष हुने अटो शो उनीहरू सबैका लागि विशेष चाड नै हो। 

अटो शोले उनीहरूलाई हरेक पटक नयाँ उत्साह र थप अघि बढ्ने अवसर दिइरहेको हुन्छ। सन्तुलित भएर अघि बढ्न व्यवसायीलाई यसले बलियो प्रेरणा पनि दिन्छ भन्ने प्रमाणित पनि भएको छ।

‘कोभिडको समयमा दुई वर्ष हामीले अटो शो गर्न सकेनौँ। त्यो समय आर्थिक मन्दीको अवस्थाले कारोबारमा जटिलता नै आएको थियो। एउटा व्यवसाय सप्रिँदा अर्को व्यवसायलाई फाइदा हुने जुन चेन सपोर्ट थियो त्यो कोभिडको समयमा बिग्रिएको थियो’, बराल सुनाउँछन्, ‘अब विस्तारै त्यसमा सुधार हुँदै गइरहेको छ। बिग्रिँदै गएको कारोबारलाई अटो शोले उकास्ने काम पनि गर्छ र त्यसमा आत्मविश्वास दिन्छ।'

बरालका अनुसार नेपालका लागि त अटो शो सवारीसाधन किनबेच गर्ने थलो नै पनि हो। ‘बीटूबी’को नजरबाट मात्र नहेरिकन अहिले त यसमा ‘बीटूसी’ नै भइरहेको हुन्छ। बुकिङ हुन्छ, कारोबार हुन्छ। त्यहाँबाट नै आफूले गरिरहेकोभन्दा अन्य व्यवसायको अवसर पनि मिल्न थालेको छ। 

‘नाडा अटो शोबाट सबैलाई फाइदा नै छ। आर्थिकरुपमा चलायमान बनाउन पनि यसले महत्वपूर्ण भूमिका खेल्छ। त्यहाँ उल्लेख संख्यामा गाडीको बुकिङ हुन्छ। जसमा ठूलो कारोबार हुन्छ। यसपटक पनि त्यसमा राम्रो अपेक्षा छ’ बरालले भने। 

प्रत्यक्ष अप्रत्यक्ष त्यसले राष्ट्रिय रुपमा सबैलाई नै फाइदा पुर्‍याइरहेको बराल सुनाउँछन्। ‘बिग्रिएको अर्थतन्त्र सुधार गर्न पनि यसले सहयोगी भूमिका खेल्छ। यो आफैमा निकै सम्मानित शो बनेको छ। जसलाई धेरैले चासो दिएर पर्खिरहनुभएको पनि हुन्छ’ उनले भने।  

यसपटक नाडा अटो शो २०२४ थप व्यवस्थित बनाइएको बराल बताउँछन्। भृकुटीमण्डपको साँघुरो भइसकेको स्थानलाई थप व्यवस्थित बनाउँदै पार्किङको सुविधा, प्रवेश गर्ने र निसक्ने सुविस्तायुक्त प्रक्रियाका साथै भिन्न ब्रान्डका लागि छुट्टाछुट्टै पेविलियनको व्यवस्था गरिएको बरालले सुनाए। 

विगतमा नाडा अटो शोको नेतृत्वमा हुनेहरू र अहिले आफूले गर्ने नेतृत्वमा केही भिन्नता रहेको बराल सुनाउँछन्। हुन पनि विगतमा ठूला कर्पोरेट हाउसका व्यक्तिहरूले नेतृत्व लिँदा उनीहरूलाई सहयोगी लिएर हिँड्न सजिलो थियो। सहयोगीहरूले कुशल रुपमा काम सघाउँथे पनि। जनशक्ति पर्याप्त हुन्थ्यो। 

विगत तीन वर्षदेखि बरालले नेतृत्व सम्हालिरहँदा भने उनी एक हिसाबले एक्लो नै छन्। तुरुन्त सहयोग गर्नसक्ने हातहरू उनीसँग छैन। तर एक्लै भएपनि काम गर्न सक्छु भनेर उनले प्रमाणित गरिसकेका छन्। सन् २०२२ भएको ईभी शो र २०२३ मा भएको अटो एक्स्पो उनले सफलतापूर्वक सम्पन्न गरिसकेका छन्। 

‘मलाई नेपालभरबाट साथीहरूले र नाडामा बोर्डबाट पनि अत्याधिक सहयोग भइरहेको नै छ। सबैले मलाई उत्प्रेरणा दिने र सहयोग गर्ने गरिरहनुभएको हुन्छ। केही पर्दा तुरुन्त बाधा अड्चन फुकाउ भइहाल्छ। यसैले नाडामा सबैबाट साथ पाएर नै काम भइरहेको हुन्छ’ उनले भने। 

‘गएको वर्षको नाडा अटो शोपछि पनि अर्थतन्त्र चलायमान बनाउन सहयोगी नै भयो। सवारीसाधन बिक्रीको हिस्सा पनि बढिरहेको छ। चाहे त्यो आइस इन्जिनमा होस् या ईभीमा नै होस्। बिक्रीदर निरन्तर बढ्दै गइरहेको छ। त्यसले राम्रै ऊर्जा दिने काम गरेको हो’ बरालले सुनाए। 

त्यसैले अहिले अटो शोमा हरेकखालका सवारीसाधनका लागि छुट्टै स्टल भिजिट गर्न पाउने सुविधा बनाएको बरालले बताए। ‘यसपाली अर्थतन्त्र सुधारिएको संकेतका रुपमा पनि मानौँ, शोमा विभिन्न सात बैंकहरू पनि उपस्थित हुने पक्का भइसकेको छ। यसले गर्दा पनि थप हौसला मिलेको छ’ उनले भने। 

anup baral (3).jpg

अटो शो चलिरहँदाको चुनौतीबीचको उत्साह र सकिएपछिको खुसीमिश्रित उत्साह भने निकै भिन्न हुने गरेको अनुभव बरालले गरेका छन्। त्यसलाई प्रस्ट्याउँदै उनी भन्छन्, ‘किनभने म व्यक्तिगत रुपमा व्यवसायिक परिवारबाट आएको व्यक्ति होइन। सामान्य रुपमा आफैले व्यवसाय अगाडि बढाउने प्रयास गरिरहेको हुँ। अटो शोमा मैले निभाएको भूमिका टाउकोमा ठूलो भारी नै हो। त्यसलाई सबैको साथ सहयोगबाट पूरा गर्न पाउँदा निकै खुसी लाग्छ।'

नाडा अटो शोमा दर्शक उपभोक्ताको चाख पनि बेग्लै छ। अटो शोमा रहेका सवारीसाधन हेरेर बुझेर नै धेरैले आफूले चढ्ने सवारीबारे निर्णय लिन्छन्। युवा पुस्ताका लागि सवारीसाधनबारेको चाख र उत्सुकता मेटाउने र घुमघाम गर्ने रमाइलो थलो पनि अटो शो बन्ने गरेको छ। 

यसमा युवाहरूको उत्सुकतालाई देशमै केही गर्ने वातावरणका रुपमा विकास गर्नुपर्ने बराल बताउँछन्। ‘यो यस्तो देश हो जहाँ सरकारले नै नागरिक पठाउन फ्रि भिसा मगाइदिरहेको हुन्छ। हामी युवाहरूलाई व्यवसायमा आबद्ध गरेर सकेसम्म देशमा रोक्ने प्रयासमा कामहरू गरिरहेका हुन्छौँ। सरकार भने युवालाई विदेश पठाउने भूमिकामा नै देखिन्छ’ बरालले सुनाए।  

‘यहाँ राम्रो काम गर्ने जनशक्ति पाउन पनि मुस्किल हुन्छ, यहाँ भएकाहरूको सोच पनि बाहिर नै जाने हुन्छ। भर्खर सुरु गरेकादेखि लिएर स्थापित व्यवसायीहरूलाई पनि जनशक्तिको अभाव हुने गरेको छ’ उनले भने। 

अटोमोबाइल क्षेत्रमा भइरहेको विकास हेर्दा यसमा कसैले पनि दुविधा लिन आवश्यक नरहेको बराल सुनाउँछन्। ‘मानिसहरू आफ्नो जीवन सुधार गर्दै मिल्ने र सक्नेसम्मको सुविधाहरू उपयोग गर्न चाहन्छन् नै। खरको घरबाट टायल टिन हुँदै ढलानसम्म पुगेजस्तै त हो, व्यक्तिगत अन्य सुविधाहरू पनि खोजिन्छन् नै’ उनले भने।

हुन पनि सवारीसाधन सिधा गएर देशको समग्र विकाससँग नै जोडिन्छ। व्यक्तिगत सुविधा उपभोग गर्न सक्नेगरीको जीवनस्तरको विकास देश विकासको सूचक नै त हो। यसैले बराल भन्छन्, ‘विकास त कसैले रोकेर रोकिँदैन, अघि बढ्छ नै।' 

नेपालमा ईभीको बढ्दो बजार देखिइरहँदा पनि त्यसमा धेरैको चाहना त देखिन्छ नै। ‘आइस इन्जिनबाट चल्ने गाडीको सयौँ वर्षको इतिहास र खर्बौं लगानी छ। अब ईभीमा पनि त्यो लगानी र अनुसन्‍धानहरू निरन्तर बढिरहेको नै छ। सबैले आफ्नो बलियो उपस्थिति प्रमाणित गरिरहेका छन्। सन्तुष्टहरुको संख्या बढ्दो छ’ यसपटक अटो शो पनि ईभीमय नै हुने बताउँदै बराल भन्छन्, ‘त्यसमा दिइरहेको सुविधामा सरकारले पनि दुविधा गर्नु हुँदैन।'

नाडा अटो शो २०२४ : यी हुन् २३ कार, १९ दुईपांग्रे, १३ कमर्सियल, २६ कम्पोनेन्ट र ७ वटा बैंकका स्टल नाडा अटो शो २०२४ : यी हुन् २३ कार, १९ दुईपांग्रे, १३ कमर्सियल, २६ कम्पोनेन्ट र ७ वटा बैंकका स्टल


प्रकाशित : सोमबार, भदौ १० २०८१११:५०
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend