बिहीबार , असोज ३ गते २०८१    
images
images

नाडा अटो शोमा देखिँदै छ नयाँ ब्रान्ड र नयाँ कारको बहार, विद्युतीयले ढकमक्क

images
आइतबार, भदौ ९ २०८१
images
images
नाडा अटो शोमा देखिँदै छ नयाँ ब्रान्ड र नयाँ कारको बहार, विद्युतीयले ढकमक्क
गएको वर्ष भएको 'नाडा अटो शो २०२३' मा अवलोकनकर्ताहरू।

नाडा अटो शो नेपालको सबैभन्दा आकर्षक प्रदर्शनी ठहरिँदै आएको छ। सोही अटो शोको २०२४ को संस्करण अझै आकर्षक हुने निश्चितप्रायः छ।

images
images

काठमाडौं- उत्पादन र आविष्कार नभए पनि खपत र अवलोकन भने रोकिँदैन। आयातित वस्तुहरूबाट त्यो दुवै खालका आवश्यकता पूरा हुन्छन् नै। यही अवस्थाबाट गुज्रिरहेको छ नेपालको अटोमोबाइल क्षेत्र पनि। 

images
images
images

अपवादबाहेक पछिल्लो दशकयता हरेक वर्ष सवारीसाधनसम्बन्धी प्रदर्शनी भइरहेको छ। जुन सबैभन्दा राम्रो ‘बिक्री कक्ष’ बनिरहेको छ। कुनै वर्ष कुनै-कुनै कम्पनीले प्रदर्शनीकै लागिमात्र भए पनि सवारी ल्याउने गरेका छन्।

यसैबीच नेपाली अटोमोबाइल व्यवसायीहरूको छाता संस्था नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले हरेक वर्ष नाडा अटो शो गर्दै आएको छ। नाडा अटो शो नेपालको सबैभन्दा आकर्षक प्रदर्शनी ठहरिँदै आएको छ। सोही अटो शोको २०२४ को संस्करण अझै आकर्षक हुने देखिन्छ। 

नाडा अटो शो २०२४ नयाँ ब्रान्ड र नयाँ मोडलका सवारीले ढकमक्क हुँदैछ। त्यसमा पनि विद्युतीय सवारी ब्रान्ड र मोडलको बोलवाला नै हुनेछ। सरकारले न्यून प्रदूषण गर्ने विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने मूल नीति लिएअनुरुप विद्युतीय कारमा पेट्रोलियम कारको तुलनामा कर सहुलियत दिएकाले विद्युतीय सवारीको बिक्री उल्लेख्य बढेको छ। 

images

बिक्री बढेसँगै अटोमोबाइल व्यवसायीहरू विद्युतीय कार तथा विद्युतीय माइक्रोबस ब्रान्ड आयात गर्नमा केन्द्रित भएका छन्। सोहीकारण नाडा अटो शो २०२४ मा करिब एक दर्जन नयाँ विद्युतीय सवारी ब्रान्डले सहभागिता जनाउँदै छन्।

आउँदो मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने १६ औँ संस्करणको नाडा अटो शोमार्फत करिब एक दर्जन नयाँ चिनियाँ ब्रान्डले विद्युतीय गाडी बिक्री सुरु गर्दैछन्। नयाँ ब्रान्ड र यसअघि नै सवारी बिक्री गर्दै आएका ब्रान्डसमेतको गर्दा करिब २ दर्जन नयाँ विद्युतीय सवारी मोडल नाडा अटो शोमा प्रदर्शनीका लागि राखिने छ। 

नयाँ ब्रान्डको बहार

अटो शोमार्फत सीजी मोटर्सले रेडारा, एक्सपेङ र अवतार ब्रान्ड प्रदर्शनीमा राख्दैछ। यी तीनवटै ब्रान्ड नेपाली बजारमा पहिलो पटक प्रवेश गर्न लागेका हुन्। यी ब्रान्डसँगै कारहरू पनि सार्वजनिक गरेर बिक्रीको थालनि हुनेछ। 

त्यस्तै सारडा समूहअन्तर्गत जीकर र जेको ब्रान्डले पनि अटो शोमार्फत बिक्री सुरु गर्दैछ। गोल्छा अर्गनाइजेशनअन्तर्गतको सांग्रिला मोटर्सले लिपमोटर्स र जीओ अटोमोबाइल्सले काई तथा लक्ष्मी समूहअन्तर्गतको लक्ष्मी इमोबिलिटीले काई ब्रान्ड अटो शोमै सार्वजनिक गर्दै छन्। 

एमएडब्लू समूहअन्तर्गतको एमएडब्लू वृद्धिले डोङफेङ नामी ब्रान्ड केही दिनअघि औपचारिक रुपमा सार्वजनिक गरेपनि सवारी बिक्री नाडा अटो शोबाटै गर्ने तयारी गरेको छ। त्यस्तै ओमोडा र दिपलको पनि नाडा अटो शोमा सहभागिता पहिलो पटक नै हो। जीएसी आयोन पनि पहिलोपटक अटो शोमा सहभागी हुँदैछ। 

त्यस्तै एलआरआर ग्रुपले बीएडब्लू ब्रान्ड नेपाली बजारमा अटो शोमार्फत नै सार्वजनिक गर्दैछ। यद्यपी यो ग्रुपले काई ब्रान्ड ल्याउने हल्ला चलाएर पछि हटेको थियो। सानो आकारको दुई ढोके कार ल्याउन लागेको छ। यस्ता कारप्रति नेपाली उपभोक्ताले अरुची देखाइसकेका छन्। 

बिक्री भइरहेका ब्रान्डको नयाँ मोडल

नेपाली बजारमा विद्युतीय कारमा राम्रो छाप बनाएका टाटा, ओमोडा, दिपल, किया, हुन्डाई, निटालगायत ब्रान्डले पनि नयाँ मोडल सार्वजनिक गर्दै छन्। टाटाले बहुप्रतिक्षित मोडल मानिएको पन्च ईभी सार्वजनिक गर्दै छ। दिपलले पनि एल ०७ र अर्को एउटा मोडलको विद्युतीय कार नाडामै सार्वजनिक गर्ने बताएको छ। 

निटाको अर्को मोडल निटा एक्स पनि नयाँ मोडलका रुपमा नाडामा सार्वजनिक हुँदैछ। बीवाईडीले नाडाबाटै बिक्री सुरु गर्नेगरि एटो थ्रीको फेसलिफ्ट भर्सन नेपाल ल्याएको छ। त्यस्तै बीवाईडीको अर्को नयाँ मोडल पनि सार्वजनिक हुने अनुमान गरिएको छ। एमजीले नाडा अटो शोलाई लक्षित गरेर स्पोर्टस कार साइबरस्टार नेपाल भित्र्याइसकेको छ।

कियाको पूर्णआकारको विद्युतीय एसयूभी किया ईभी नाइन पनि यो अटो शोमा प्रदर्शनीमा देखिनेछ। त्यस्तै हुन्डाईले नेपालमै एसेम्बल भएको भेन्यू पनि नाडामा राख्नेछ। नाडा अटो शोमा सहभागी हुने सबैजसो ब्रान्डले कुनै न कुनै नयाँ मोडलका सवारी प्रदर्शनीमा राख्नेछन्। 

व्यावसायिक घरानाले अटोमोबाइल ब्रान्ड भित्र्याउनुलाई प्रेस्टिजका रुपमा लिएकाले पनि नयाँ ब्रान्ड आउने क्रम बढेको हो। सीजी मोटर्स एउटैले ८ वटा ब्रान्डलाई नाडामा राख्दै छ, त्यसमध्ये हिरो मोटोकर्पबाहेक सबै चिनियाँ विद्युतीय सवारी ब्रान्ड हो। 

नेपालमा उपलब्धमध्य सबैभन्दा धेरै रेन्ज दिने स्काइवेल ब्रान्डले पनि स्काइवेल ईटी फाइभसहित अर्को नयाँ विद्युतीय कार बीई११ नाडामै सार्वजनिक हुँदैछ। बीई११ ४ सय १० र ५ सय २० किलोमिटर रेन्जमा उपलब्ध हुने‍ छ भने यसको मूल्य क्रमश: ७९ लाख ९० हजार र ८९ लाख ९० हजार रुपैयाँ तोकिएको जी मोटर्सले जनाएको छ। 

त्यस्तै एमएडब्लू समूहले पनि ६ वटा ब्रान्डलाई नाडामा राख्दै छ। यसमा यामाहा मोटरसाइकलबाहेक सबै विद्युतीय ब्रान्ड हो। 

एक्लो बृहस्पति सुजुकी 

नाडा अटो शोको यो संस्करणमा आइसी (इन्टरनल कम्बस्चन) इन्जिन कारमात्र लिएर प्रदर्शनीमा उभिन लागेको ब्रान्ड सुजुकीमात्र हो। सुजुकीले हालसम्म विद्युतीय कार उत्पादन गरेर बिक्रीमा ल्याएको छैन। सीजी मोटोकर्पले सुजुकीबाहेक अन्य चिनियाँ ब्रान्ड भित्र्याएको पनि छैन। 

सुजुकी ब्रान्डका कार नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको कम्पनीले बिक्री गर्दै आएको छ। यो पटकको अटो शो ईभी शोभन्दा खासै फरक छैन। त्यसका बावजुत सुजुकी ब्रान्ड आईसी इन्जिन कारमात्र लिएर अटो शोमा सहभागी भएको छ। सुजुकीले यो अटो शोमा जिम्नी, ब्रेजा, ग्रान्ड भिटारासहित नयाँ स्वीफ्ट पनि सार्वजनिक गर्ने घोषणा गरेको छ। 

ईभी र आईस दुवै भएका ब्रान्ड

चीनबाट आएका र नाडा अटो शोमा सहभागी अधिकांश ब्रान्ड विद्युतीय छन्। आईस र ईभी दुवै सेगमेन्टका कार भएका ब्रान्डहरू पनि नाडामा देखिने छन्। ईभी नहुने ब्रान्डहरूलाई नाडामा उपस्थित भएर कसरी आगन्तुक आकर्षित गर्ने भन्ने प्रेसर हुनेछ। किनभने नेपाली उपभोक्ता र प्रदर्शनी हेर्न जानेहरूको ध्यान ईभीले खिच्ने निश्चितप्रायः छ। 

आईसी र ईभी दुवै कार भएका र नाडामा सहभागी भएका ब्रान्डहरूमा टाटा, हुन्डाई, किया, एमजी, महिन्द्रा र सिट्रोन हुन्। यी ब्रान्डले पनि विद्युतीय कारलाई नै उच्च प्राथमिकता दिएर प्रदर्शनीमा राख्ने छन्। 

कमर्सियल ईभी र दुईपांग्रेमा पनि हुने छन् नयाँ मोडल र ब्रान्ड

यो वर्षको नाडा अटो शोमा प्यासेन्जर कार, लाइट कमर्सियल सवारी र दुईपांग्रे ब्रान्डका लागि छुट्टाछुट्टै पेविलियन बनाइएको छ। यसले अटो शोलाई थप व्यवस्थित देखाउने छ भने अर्कोतर्फ जुन सेगमेन्टका सवारी हेर्न चाहेको हो त्यहीमै उपभोक्तालाई जान सजिलो बनाउने छ। 

कमर्सियल विद्युतीय माइक्रो बसमा पनि यो वर्ष केही नयाँ ब्रान्ड र नयाँ सवारी देख्न पाइने छ। छोटो तथा मध्यम दुरीका लागि केही उपयोगी देखिएकाले आयातकर्ताहरू चीनबाट सबैजसो ब्रान्ड ल्याउन अग्रसर देखिएका छन्। 

त्यस्तै दुईपांग्रेतर्फ पनि आईस र विद्युतीय सवारी ब्रान्डको सहभागिता रहेको छ। अधिकांश ब्रान्डले नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेका छन्। समग्रमा नाडा अटो शो २०२४ मा उल्लेख्य संख्यामा नयाँ ब्रान्ड र सवारी मोडलहरू सार्वजनिक हुँदैछन्। 


प्रकाशित : आइतबार, भदौ ९ २०८११७:५८
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend