बिहीबार , चैत २८ गते २०८१    
बिहीबार , चैत २८ २०८१
images
images

ढोरपाटनमा पाइने बुकीफूलको अभिलेखीकरण गरिँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ ९ २०८१
images
images
ढोरपाटनमा पाइने बुकीफूलको अभिलेखीकरण गरिँदै

ओठफुटे, काप्चुच्चे, दहिठेकी, दूधे, नाकेफुली, पुतली, प्याउली, फट्याङग्री, बिजौरी, बुकी (१), (२), (३), बोक्सी, मदाने र राके स्थानीय नाम गरेका फूलको तस्बिर संकलन गरिएको छ।

images
images

म्याग्दी- रुकुमपूर्व, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन सिकार आरक्षमा पाइने बुकी फूलको पहिचान गरी अभिलेखीकरण गर्न थालिएको छ। आरक्ष कार्यालयले फूलहरूको पहिचान गरी अभिलेखीकरण गर्न स्थानीय नाम र तस्बिर संकलन गरेको हो। 

images
images

आरक्ष कार्यालयका संरक्षण अधिकृत पशुपति अधिकारीले आरक्ष क्षेत्रमा पाइने १३ प्रजातिका फूलको तस्बिर र स्थानीय नाम संकलन गर्न थालिएको बताए।

images
images

ओठफुटे, काप्चुच्चे, दहिठेकी, दूधे, नाकेफुली, पुतली, प्याउली, फट्याङग्री, बिजौरी, बुकी (१), (२), (३), बोक्सी, मदाने र राके स्थानीय नाम गरेका फूलको तस्बिर संकलन गरिएको उनले जानकारी दिए।

images
images

यीबाहेक कप्टेरी, भुइँपाटी, बटारे, घोप्टे, अतिशलगायत अन्य फूल पनि बुकीको पाटनमा फुल्ने गरेकाले यसबारे पनि अनुसन्धान गरी अभिलेख राखिने अधिकारीले बताए। 'बुकीफूलको बारेमा हालसम्म वैज्ञानिक अध्ययन तथा अनुसन्धान भएको छैन', उनले भने, 'स्थानीयले हिमाली क्षेत्रका पाटनलाई बुकी भन्ने गरेकाले त्यस क्षेत्रमा फुल्ने फूललाई बुकीफूल भनिन्छ।'

साउनदेखि असोजको पहिलो हप्तासम्म बुकी फुल्ने गर्दछन्। वर्षात्को समयमा मात्रै फुल्ने यी फूलहरू असोज लागेपछि आफैँ सुक्दै जाने संरक्षण अधिकृत अधिकारीले उल्लेख गरे। उनका अनुसार हिजोआज ढोरपाटनको फाँट र पाखा बुकी फुलेर रमणीय बनेका छन्। 

संकलन भएका फूलका तस्बिरलाई सम्बन्धित विज्ञको सहयोगमा अङ्ग्रेजी र वैज्ञानिक नाम पहिचान गर्ने तयारी गरिएको आरक्षका संरक्षण अधिकृत मन्दीप पङ्गेनीले बताए। 'यहाँ पाइने फूलको जात पहिचान गरी अभिलेखीकरणको काम थालेका छौँ', उनले भने, 'वर्षातको समयमा ढोरपाटनको आकर्षण नै बुकी हो।' 

आरक्षले फूलहरूलाई संरक्षण गर्न चरन क्षेत्रबाट ट्रयाक्टरमा गाईवस्तुको मल उठाउन रोकेको छ। सिमसार क्षेत्रमा गाईवस्तुले गोब्राउने भएकाले मलिलो माटोमा फूलका बोटबिरुवा सजिलै हुर्कने भएकाले चरन क्षेत्रबाट गाईवस्तुको मल उठाउन स्थानीयलाई रोकिएको संरक्षण अधिकृत पङ्गेनीले बताए।

रुकुमपूर्व ६०, बागलुङ २६ र म्याग्दीको १४ प्रतिशत भूगोलमा समेटिएको ढोरपाटनमा फुल्ने बुकीफूलको विशेषता चाडपर्व, धर्म, संस्कार र संस्कृतिसँग सम्बन्ध गाँसिएको पङ्गेनीले जानकारी दिए। 'भुमे पूजामा युवायुवतीले फूल टिपेर एकअर्कालाई दिने चलन छ। साउने सङ्क्रान्तिमा बुकीफूल जम्मा पारेर लेक र गाउँका देवता पुज्ने गरिन्छ', उनले भने।

मगरात क्षेत्रको प्रमुख मानिने उत्तरगङ्गा ढोरबराहमा जनैपूर्णिमाका दिन लाग्ने मेलामा ढोरपाटन क्षेत्रलाई बुकीफूलले ढाकेको हुन्छ। 'ढोरपाटनमा ढकमक्क फूल फुलेर रमणीय भएको समयमा जनैपूर्णिमा पर्ने गर्दछ। सो अवसरमा यहाँ बलिराजा प्रकट भएका र उहाँको स्वागतमा मेला लगाउने प्रचलन चल्दै आएको हो', ढोरपाटनका ८३ वर्षीय विष्णुबहादुर थापाले भने।

आरक्ष कार्यालयले यसको संकलन गरी पहिचान र अभिलेखको काम थाल्नु उदाहरणीय रहेको उनले उल्लेख गरे। रासस


प्रकाशित : आइतबार, भदौ ९ २०८११०:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend