बिहीबार , असोज १० गते २०८१    
images
images

इच्छाकामनाको स्याङ्दी खोलामा झोलुंगे पुल निर्माण

images
शनिबार, भदौ ८ २०८१
images
images
इच्छाकामनाको स्याङ्दी खोलामा झोलुंगे पुल निर्माण
फाइल तस्बिर

पुल निर्माणपछि सिमलढाप, पिपलटार, बाघखोर, लोसे, स्याङ्दी, सुन्दरबस्ती र गर्दासका नागरिक लाभान्वित भएका छन्।

images
images

भरतपुर- चितवनको स्याङ्दी खोलामा झोलुंगे पुल निर्माण भएको छ। इच्छाकामना गाउँपालिका-७ स्थित सिमलढाप र बाघखोर जोड्ने स्याङ्दी खोलामा झोलुंगे पुल निर्माण गरिएको हो।

images
images
images

पुलको शुक्रबार गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले शिलान्यास गरे। सो अवसरमा उहाँले पुल निर्माणपछि बर्खाको समयमा बाढीका कारण आवतजावत गर्न नपाउने अवस्थाको अन्त्य भएको बताए। 'पुल निर्माणपछि यहाँका नागरिक अब निकै लाभान्वित हुनेछन्', उनले भने, 'धेरै वर्षअघि निर्माण हुनुपर्ने पुल हाम्रो कार्याकालमा निर्माण भएको छ।'

उनले पुल निर्माणपछि वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयमा आवतजावत गर्नका लागि यहाँका बासिन्दालाई सहज हुने बताए। अध्यक्ष गुरुङले समयमै पुल निर्माण सम्पन्न गर्न खटिने उपभोक्ता समिति र स्थानीयलाई धन्यवाद दिए।

पालिकाले नागरिकका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको भन्दै उनले यस वर्ष पनि सबै योजना समयमै निर्माण सम्पन्न गरिने बताए। उनले गाउँघरमा भएका विकास निर्माणका काममा अनुगमन र खबरदारी गरिरहन स्थानीयलाई अनुरोध गरे।

images

पुल निर्माणपछि सिमलढाप, पिपलटार, बाघखोर, लोसे, स्याङ्दी, सुन्दरबस्ती र गर्दासका नागरिक लाभान्वित भएका छन्।

एक सय २० मिटर लामो पुल गाउँपालिका र पीटीएपी बागमती प्रदेशको लगानीमा निर्माण भएको हो। पुल निर्माणका लागि एक करोड ६ लाख ९७ हजार रूपैयाँ बजेट विनियोजन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए।

उनका अनुसार पुल निर्माणमा श्रमदानसहित उपभोक्ता समितिको ५५ लाख रूपैयाँ लागत परेको छ। प्राविधिक र निर्माण सामग्री गाउँपालिकाले उपभोक्ता समितिलाई उपलब्ध गराएको बस्नेतले बताए। विसं २०८० माघ ११ गते निर्माण सम्झौता भएर २०८१ असार मसान्तभित्र निर्धारित समयमै पुल निर्माण सम्पन्न भएको उनले जानकारी दिए।

बर्खाको समय र केही प्राविधिक कारणले उद्घाटनमा ढिलाइ भएको उनले बताए। यसवर्ष पनि स्याङ्दी खोलाको संरक्षणका लागि बजेट विनियोजन भएको बस्नेतले जानकारी दिए। यस क्षेत्रमा आदिवासी गुरुङ, तामाङ लगायतका समुदायको बाहुल्यता छ। गाउँपालिकाको समथर भूभाग भएको वडा भएका कारण पनि यहाँ आएर बसोबास गर्नेक्रम बढ्दो छ।

गाउँपालिका उपाध्यक्ष माया सिलवालले पुलको भरपुर सदुपयोग र संरक्षणका लागि नियमित निगरानी गरिराख्न स्थानीयलाई अनुरोध गरे। उनले निर्वाचनका क्रममा जनतासँग गरेका बाचा क्रमशः पूरा हुने चरणमा रहेको भन्दै नागरिकका आवश्यकताका आधारमा काम गरिरहेको बताए।

गाउँपालिकामा पहिलोपटक सस्पेन्डेड पुल निर्माण गरिएको पालिकाका सबइञ्जिनियर भरत गुरुङले जानकारी दिए। उनले पुलको नियमित मर्मत र रेखदेखका लागि हेरालु राखिने बताए। पुल निर्माण भएपछि स्थानिय बासिन्दा खुसी भएका छन्।

दैनिक खोला तरेर स्कुल जाने गरेका सन्देश चेपाङ पुल निर्माण भएपछि उत्साहित भएको बताए। उनले बर्खाको समयमा पुल नहुँदा धेरैपटक स्कुल जान नपाएको भन्दै अब भने नियमित स्कुल जान पाइने हुँदा पढाइमा सहजता हुने बताए। रासस


प्रकाशित : शनिबार, भदौ ८ २०८११२:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend