बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पे-पाल नेपाल ल्याउने तयारी तीब्र, स्टाण्डर्ड चार्टर्डदेखि फोन-पेसम्म सक्रिय

शुक्रबार, भदौ ७ २०८१
पे-पाल नेपाल ल्याउने तयारी तीब्र, स्टाण्डर्ड चार्टर्डदेखि फोन-पेसम्म सक्रिय

राष्ट्र बैंकले अन्तरदेशीय भुक्तानीका लागि एक मजबुत अन्तर्राष्ट्रिय कम्पनी आवश्यक रहेको भन्दै पे-पाललाई नेपाल भित्र्याउन खोजेको हो।

काठमाडौं- अमेरिकी बहुराष्ट्रिय अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी पे-पाल नेपाल भित्र्याउने तयारी अगाडि बढेको छ। पे-पाललाई नेपाल भित्र्याउनका लागि राष्ट्र बैंकसमेत सक्रिय रुपमा लागेको छ। 

राष्ट्र बैंकका साथै स्टाण्डर्ड चार्टर्ड बैंक र भुक्तानी सेवा प्रदायक कम्पनी फोन-पेले समेत पे-पाल नेपाल भित्र्याउने प्रयास गरिरहेका छन्। 

राष्ट्र बैंकले अन्तरदेशीय भुक्तानीका लागि एक मजबुत अन्तर्राष्ट्रिय कम्पनी आवश्यक रहेको भन्दै पे-पाललाई नेपाल भित्र्याउन खोजेको हो। 

पे-पाललाई नेपाल भित्र्याउनका लागि विभिन्न प्रयास भइरहेको राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बताए। राष्ट्र बैंकले पे-पालसँग सम्पर्कको प्रयास गरिरहेको तथा स्टाण्डर्ड चार्टर्ड बैंक र फोन-पेले समेत विभिन्न प्रयास गरिरहेको मिश्रले बताए। 

'गेटवे पेमेन्टका लागि एक मजबुत अन्तर्राष्ट्रिय संस्थाको खोजी गर्ने क्रममा हामीले पे-पाल नेपाल भित्र्याउन खोजेका हौँ। यसका लागि हामीले सम्पर्क गर्न खोजेका छौँ। पे-पालसँग सम्पर्क गर्नका लागि हामीले स्टाण्डर्ड चार्टर्ड बैंक र फोन पेलाई समेत आग्रह गरेका हौँ', मिश्रले बताए। 

पे-पाल अमेरिकी बहुराष्ट्रिय कम्पनी हो। यस कम्पनीले एक देशबाट अर्को देशमा रकम पठाउनका लागि गेट-वेको काम गर्दै आएको छ। यस कम्पनीले चेक वा मनी अडरको सट्टामा डिजिटल प्रविधिमार्फत सजिलै रकम पठाउने काम पनि गर्दै आएको छ। 

पे-पाल नेपाल भित्रिएमा विदेशी मुद्राको भुक्तानीसमेत सहज हुने देखिन्छ। विदेशमा रहेका नेपालीहरूले पनि नेपालमा रहेका आफन्तको खातामा रकम पठाउन सक्नेछन्।

यस्तै आयात निर्यातको काम गर्दै आएका उद्योगी व्यवसायीलाई समेत राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर भुक्तानी गर्न थप सहज हुनेछ।

विदेशबाट नेपालमा भ्रमणमा आउने पर्यटकलाई समेत सिधै विद्युतीय माध्यमबाट भुक्तानी गर्न सहज हुने बताइएको छ। यस्तै अन्तर्राष्ट्रिय रुपमा डिजिटल मार्केटिङका लागि पनि पे-पालमार्फत काम गर्न सहज हुनेछ। 

अनलाइन तथा मोबाइल कारोबारको इजाजतपछि पे-पालले विशेष गरी ई-कमर्स, क्रस-बोर्डर कमर्स, हवाई यात्रा तथा पर्यटन क्षेत्रको लागि भुक्तानी सुविधा प्रदान गर्दै आएको छ। जसले नेपालको पर्यटनमा झनै ठूलो योगदान पुर्‍याउने देखिन्छ। विगत लामो समयदेखि व्यवसायीहरूले पे-पाल नेपाल ल्याउन लविङ गर्दै आएका छन्।


प्रकाशित : शुक्रबार, भदौ ७ २०८११२:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend