आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

भैँसेपाटीमा निर्माणाधीन मन्त्री आवास दसैँसम्म सम्पन्न गरिने

images
बिहीबार , भदौ ६ २०८१
images
भैँसेपाटीमा निर्माणाधीन मन्त्री आवास दसैँसम्म सम्पन्न गरिने

भवन निर्माणअन्तर्गत पहिलो चरणको काम सकिएको छ भने दोस्रो चरणको केही काम बाँकी छ।

images
images

ललितपुर- संघीय सरकारअन्तर्गतका मन्त्रीलाई उपलब्ध गराउने उद्देश्यले ललितपुर-१८ भैँसेपाटीमा निर्माणाधीन भवन अन्तिम चरणमा पुगेको छ। भवन निर्माणअन्तर्गत पहिलो चरणको काम सकिएको छ भने दोस्रो चरणको केही काम बाँकी छ।

images
images
images

दसैँसम्म सबै काम पूरा गर्ने लक्ष्य राखेर तीव्र गतिमा काम भइरहेको आयोजना प्रमुख मचाकाजी महर्जनले बताए। मन्त्री आवास निर्माणका लागि विसं २०७६ कात्तिक २७ गते हनुमान कन्स्ट्रक्सनले ठेक्का लिएर पहिलो चरणको काम सुरु गरेको थियो।

images
images

पहिलो चरणअन्तर्गत भवन निर्माण काम सकिए पनि स्वीमिङ पुल, पाकिङ, हेलिप्याडलगायत दोस्रो चरणको काम भइरहेकाले आगामी दसैँसम्म पूर्णता दिने योजना रहेको आयोजना प्रमुख महर्जनले जानकारी दिए। उनका अनुसार प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षसहित संघीय मन्त्रीका लागि २७ वटा भवन बस्न मिल्नेगरी सम्पन्न भएका छन्।

images
images

'भवन निर्माण र भवनभित्रको काम सबै सकिएको छ, अब बाहिरको सजावट बाँकी छ', महर्जनले भने, 'हामीले यथाशीघ्र कामलाई पूर्णता दिने प्रयास गरिरहेका छौँ।' भैँसेपाटीमा ९६ रोपनी १० आना जग्गामा फैलिएको मन्त्री आवास निर्माणका लागि सरकारले एक अर्ब तीन करोड ४६ लाख ८३ हजार रूपैयाँ बजेट छुट्याएको छ। 

आयोजनाका सहइन्जिनियर राजीव यादवले मन्त्री आवास क्षेत्रभित्र जिम हल (व्यायाम शाला), स्वीमिङ पुल, सामुदायिक भवन, किराना पसल तथा सुरक्षा निकायका लागि बस्ने व्यवस्था मिलाइएको जानकारी दिए। उनका अनुसार प्रत्येक भवनको माथिल्लो तलामा योगका लागि कोठा छुट्याइएको छ।

भवन निर्माण पूर्णरुपमा आगामी दसैँसम्म सकिने भन्दै सम्पन्न भएका भवनमा मन्त्री बस्न मिल्ने निर्माण व्यवसायीको भनाइ छ। हालसम्म अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, खानेपानीमन्त्री प्रदीप यादव, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी र राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे नयाँ आवासमा सरेका छन्।

प्रदेश प्रमुख र प्रदेश मुख्यमन्त्रीका लागि २४ रोपनी जग्गामा भैँसेपाटीमा निर्माण गरिएका सातवटा भवन निर्माण सकिएर उद्घाटन भइसकेको आयोजना प्रमुख महर्जनले जानकारी दिए। उनका अनुसार प्रदेश मुख्यमन्त्री र प्रदेश प्रमुख काठमाडौं आउँदा बस्न ती आवास निर्माण गरिएको हो। रासस


प्रकाशित : बिहीबार , भदौ ६ २०८११४:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend