सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ मा पर्छ थामे बजार। सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पदयात्रा जानेहरु थामेमा बास बस्ने गर्थे। तर २०८१ साउन ३२ गते शुक्रबार दिउँसो करिब १ बजे ठूल्ठूला ढुंगा र गेग्रानसहितको भीषण बाढीले हेर्दाहेर्दै रमणीय थामे बजारलाई ढुंगे बगरमा परिणत गर्यो।
अकस्मात आएको बाढीले पर्यटकीय गाउँ थामे बजारका १३ वटा घर पूर्णरुपमा र १० वटामा आंशिक क्षति भएको छ। एउटा विद्यालय, एउटा स्वास्थ्यचौकी पनि बगायो। उक्त दिन पानी खासै परेको थिएन र पनि लेदोसहितको यति ठूलो बाढी र गेग्रान कसरी आयो भन्ने सबैमा ठूलो प्रश्न थियो।
शनिबार बिहान रक्षामन्त्री मानवीर राईको नेतृत्वमा हामी थामे बजार पुग्यौँ। त्यहाँ पुगेर प्रभावित परिवारलाई नगद तथा जिन्सी राहत वितरण गर्नाका साथै स्थलगत अवलोकन र स्थानीयसँग अन्तरक्रिया गर्यौँ। थामे बजारबाट थामे खोलाको मुहानतर्फ लाग्यौँ। त्यहाँ पाँचवटा तालहरु देख्यौँ। त्यो मध्येको सबैभन्दा माथि रहेको ठूलो तालबाट पानी भरिएर बरफसँगै तल्लो तालमा गएर बजारिए छ। त्यसले ठूलो छाल बनाएर निकासतर्फको भाग भत्काएर बाहिर निस्केछ। यस्तो प्रक्रियालाई हिमताल फुटेको भनिन्छ। उक्त पानीले दायाँबायाँका ढुंगा, गेग्रानलाई खोतलेर तल लगेर थामे बजारमा थुपार्यो।
जल तथा मौसम विज्ञान विभाग, प्राविधिक र विषयविज्ञको सहभागितामा सो घटनाको विस्तृत अनुसन्धान गर्न टोली गठन गरेका छौँ। उक्त टोलीले अध्ययन गरिसकेपछि मात्रै निष्कर्षमा पुग्न सकिन्छ। सामान्यतः घटनास्थलको सरसर्ती अवलोकन गर्दा तापक्रम वृद्धिकै कारणले हिमताल विस्फोट भएको अनुमान गर्न सकिन्छ।
अहिले कति तापक्रम वृद्धि भयो, विगतको तापक्रमको घटबढको अवस्था के थियो भन्ने पनि अध्ययन गर्छौँ। म आफैले सो क्षेत्रको स्थलगत अवलोकन गरेँ। त्यहाँ पातला कपडा लगाउँदा पनि सो उचाइमा आश्चर्यजनक गर्मी महसुस भइरहेको थियो। थामे बजारका स्थानीयसँग अन्तरक्रिया गर्दा पनि उहाँहरुले तीन/चार दिनदेखि नै कालानिला बादल मडारिरहेको बताउनुभयो। बौद्ध धर्म परम्पराअनुसार उहाँहरुले तालसम्म पुगेर पूजाआजा गर्ने उद्देश्यका साथ तयारी गर्नुभएको रहेछ। उहाँहरुका अनुसार बाढी आउने दिन बिहान सो क्षेत्रमा पानी परेको थिएन। तर त्यस दिन कालो बादल थियो। उहाँहरुले अहिलेसम्म त्यसखालको कालो बादल नदेखेको बताउनुभयो।
मसिनो तर लगातार पानी परिरहेको, हप्हपी गर्मी। पानी र तापक्रम दुवैका कारण पहिलो ताल फुट्यो। ताल फुटेको सुनिश्चित गर्न हामीले हेलिकोप्टरबाट दुई राउण्ड नजिकबाट अवलोकन गर्यौँ। ताल फुट्नु पछाडिको कारण भनेकै तापक्रम ह्वात्तै बढ्नु हो। त्यो पहिलो पटक फुटेको देखिन्छ। हिमताल पग्लिएपछि माथिल्लो तालबाट हिउँको डल्लासहित तल्लो तालमा बजारिएको अनुमान गर्न सकिन्छ। तल्लो तालको निकासतर्फको भूभाग कमजोर रहेछ। त्यसको भित्र सयौँ वर्षदेखिको हिउँको ढिक्का चट्टान रहेको हुनसक्छ। तापक्रम वृद्धि भएपछि त्यो आफै पग्लिन थालेको अवस्थामा माथिल्लो तालबाट पानी र बरफ बगेर आइसकेपछि त्यसको छालले तल्लो तालको मुख फोड्यो। माथिबाट पानी र बरफ बज्रिएपछि दोस्रो ठूलो तालको पहिल्यै कमजोर भइसकेको मुख फुट्यो। माथिल्लो तालको केहीसहित त्यो पानी ह्वात्तै बग्यो।
माथिल्लो ताल अहिले पनि टिलपिल टिलपिल नै छ। पहिलो तालबाट कति पानी गयो त्यो अहिल्यै भन्न सकिँदैन। रित्तिएको भनेको दोस्रो ताल हो। यसको मुल जड तापक्रम वृद्धि भएर हिमताल पग्लिएर फुटेको हो। सो घटनाको विस्तृत अध्ययन गर्न गठित टोलीले अध्ययन गरेर सो क्षेत्रमा पछिल्ला समय घटबढ भएका तापक्रमको विश्लेषण गरेर निष्कर्ष निकाल्छ।
जलवायु परिवर्तनका कारणले हिमाली क्षेत्रमा जोखिम बढ्दो छ भन्ने स्पष्ट भएको छ। थामे बाढीले यसको थप पुष्ट्याइँ गर्छ। जलवायु परिवर्तनकै कारण उक्त घटना भएको हो। किनभने सो क्षेत्रमा कुनै पनि मानवीय गतिविधि छैन। हिमताललाई खल्बल्याउने गरी डोजर चलाउने, रुख काट्ने तथा मानवीय संरचना बनाउने कार्यले सो घटना भएको होइन। मुलतः जलवायु परिवर्तनको असरस्वरुप हिमताल फुटेको निष्कर्षमा पुगेका छौँ। यसलाई पुष्ट्याइँ गर्ने आधार, विगतका वातावरणीय प्रवृत्ति, अहिलेसम्म के भए भन्ने वैज्ञानिक प्रमाण जुटाएर घटनाको कारण पत्ता लगाउँछौँ।
ताल फुट्नुअघिको तालको आकार भूउपग्रह (स्याटेलाइट)को नक्साबाट निकाल्ने प्रयास गर्यौँ। तर बादलका कारण निकाल्न सकेनौँ। ताल रित्तिसकेपछिको आकार हेरेर पानीको मात्रा निकाल्न सक्छौँ। त्यसपछि तालबाट कति पानी बाहिर गयो र त्यसको बहाव कति थियो भन्ने निकाल्छौँ। कति पानी कति घण्टासम्म बग्यो भन्ने विषय दुरीका आधारमा पत्ता लाग्छ। पानी नाप्ने विधि छ। त्यो काम बाँकी छ। पानी मात्रै होइन, बाढीसँगै गेग्रान पनि आएको छ। त्यो पनि अध्ययन गर्छौँ। स्याटेलाइटको नक्साअनुसार पहिलेको र अहिलेको अवस्था कस्तो छ, पानी, पानीको बहाव र गेग्रानको मात्रा पत्ता लगाउँछौँ। गेग्रानमा कस्ता चट्टान थिए भनेर पनि अध्ययन गर्छौँ।
यस घटनाले हामीलाई विशिष्ट पाठ सिकाएको छ। हिमाली क्षेत्रमा रहेका साना ताल पनि उत्तिकै जोखिममा रहेछन्। हिमतालको जोखिम प्राथमिकीकरण गर्ने तरिका नै पुनरावलोकन गर्नुपर्ने रहेछ। यस कामलाई प्राथमिकता दिन्छौँ। ठूल्ठूला मात्रै होइन, साना तालले पनि मुख्यगरी बस्तीलाई नोक्सानी पुर्याउन सक्दा रहेछन्।
बस्ती एक/डेढ सय किलोमिटर तल हुँदाहुन् त त्यति क्षति गर्दैनथ्यो होला। साना ताल विस्फोट हुँदा बस्ती, पुल, जलविद्युत् आयोजना, विद्यालयलगायत संरचना नजिकै छ भने क्षति बढी हुन सक्छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिवको नेतृत्वमा जल तथा मौसम विज्ञान विभाग, खानी विभाग, सिँचाइ विभाग र सरोकार भएका निकायका प्रतिनिधि तथा विषयविज्ञ सहभागी हुनुहुन्छ। सो टोलीले यसको वैज्ञानिक आधार र कारण, किन ताल फुट्यो? र यससँग जलवायु परिवर्तनको सम्बन्ध लगायत बारेमा अध्ययन गर्छ।
अर्को टोलीले सोलुखुम्बुको थामे बजारदेखि ओखलढुंगासम्म कुनकुन क्षेत्रमा कति नोक्सानी भए भन्ने अध्ययन गर्छ। टोलीले बाढीबाट बस्ती, स्वास्थ्य चौकी, विद्यालय, सडक, पुल, खानेपानी, जलविद्युत् आयोजना र कृषि क्षेत्रमा भएका नोक्सानीको विवरण तयार गर्छ। दुई वटा टोलीको निष्कर्षका आधारमा आगामी दिनमा थामे बजारको पुनःस्थापनाका लागि गर्नुपर्ने तयारी, नफुटेका तीनवटा तालको जोखिमको अवस्था, ती तालको पानी घटाउने सम्भावनालगायत बारेमा निचोडमा पुग्छौँ। त्यसपछि मात्रै थामे बजारको त्यहीँ पुनःनिर्माण गर्ने कि स्थानान्तरण गर्ने निर्णय गर्छौँ।
सो घटना रातिमा भएको भए ठूलो मानवीय क्षति हुन सक्थ्यो। सबैभन्दा पहिला विद्यालयमा खेलिरहेका बालबालिकाले त्यो पहिरो देख्नुभएछ। सो विद्यालय थामे बजारभन्दा थोरै उत्तरमा छ। उहाँहरुले आफ्ना शिक्षकलाई सुनाउनुभएछ। शिक्षकले विद्यार्थीलाई सुरक्षित स्थानमा लैजानुभएछ। थामे उपत्यका धेरै फराकिलो छैन। नदीको खोँच जस्तो छ। केही परिवार दायाँ पट्टी र केही बायाँ पट्टी हुनुहुँदो रहेछ। इन्टरनेटको राम्रो सुविधा भएको ठाउँ र एकताबद्ध समुदाय रहेछ। बाढी देख्नेबित्तिकै उहाँहरुले सामाजिक सञ्जालका समूह (ग्रुप)मा खबर गर्नुभएछ। अहिले पर्यटकीय सिजन नभएको हुँदा त्यहाँ विदेशी पर्यटक हुनुहुँदो रहेनछ। बेलैमा खबर पाएका कारण उहाँहरु सुरक्षित स्थानमा जान भ्याउनुभएछ।
यो स्तरको घटना अहिलेसम्म व्यहोरिएकै थिएन। २०४२ सालमा डिक्छो हिमताल फुट्यो। त्यतिबेला राज्यको केही तयारी थिएन। सो हिमताल फुटेपछि मात्र नेपालमा मुख्यगरी हिमालय क्षेत्रमा हिमतालको जोखिम बढ्दो छ, यसका प्रभाव बढी हुन सक्छ भनेर नेपाल सरकार, विषयविज्ञ र अन्तर्राष्ट्रिय जगत्को चासो बढ्न थालेको हो।
त्योभन्दा अगाडि पनि थुप्रै पटक हिमताल फुटेका तथ्यांक भेटिन्छन्। तर यत्तिको राष्ट्रिय/अन्तर्राष्ट्रिय चासो बढ्न थालेको डिक्छो हिमताल फुटेपछि नै हो। यसपछि अनवरतरुपमा हिमतालका बारेमा अध्ययन हुन थाले।
नेपालमा तीन हजार छ सय २४ वटा हिमताल रहेको विभिन्न अध्ययनले देखाएका छन्। ४७ वटा जोखिमयुक्त र तीमध्ये २० वटा जुनसुकै बेला फुट्न सक्ने अवस्थाका छन्। अहिले फुटेको ताललाई जोखिमयुक्त मानिएको थिएन। जोखिमयुक्त तालका पानी घटाउनुपर्छ भनेर केही काम भएका छन्।
नेपालसँग हिमालय पर्वत क्षेत्रमै हिमतालको जोखिम न्यूनीकरणका काम गरेको विशिष्ट अनुभव छ। हिमतालको जोखिम न्यूनीकरण गर्ने कार्य आफैमा जोखिमयुक्त र खर्चिलो पनि छ। यद्यपि, प्राधिकरणले जोखिमयुक्त तालको पानी घटाउने तथा पूर्वसूचना प्रणाली जडान गर्ने काम गरिरहेको छ। जलवायु परिवर्तनको दृष्टिकोणबाट हेर्ने हो भने बर्खाका बेलामा हिमतालको जोखिम बढी हुन्छ। मनसुनको समयमा तापक्रम पनि सरदरभन्दा बढी हुन्छ। पानी पनि परिरहेको हुन्छ। बादलले ढाकेको अवस्थामा साधारण स्याटेलाइटबाट सो क्षेत्रको तस्वीर लिन सकिँदैन।
अहिले पनि सो क्षेत्रको स्पष्ट स्याटेलाइटको तस्वीर पाउन सकिएको छैन। यसका लागि विशेषखालको स्याटेलाइट क्यामेराको प्रयोग गर्नुपर्छ। यो अत्यन्त खर्चिलो हुन्छ। हिमालय क्षेत्रभर नै वर्षभर अझ मुख्यगरी मनसुनको समयमा ट्र्याक गरिरहनुपर्ने रहेछ। केही हलचल देखिएको अवस्थामा तत्कालै वैज्ञानिकको टोली पठाएर अध्ययन गर्नुपर्ने रहेछ। एक पटक मात्र जोखिम अध्ययन गरेर हुँदैन रहेछ भन्ने निचोडमा पुगेका छौँ।
हिमतालहरु सामान्यतः हिउँले पुरिएको अवस्थामा सेता हुन्छन्। कि त पानी पग्लेको अवस्थामा कञ्चन निलो देखिन्छ। हिमताल चलायमान र विचलन हुँदा वा हिमपहिरा झरेका ठाउँमा पानी धमिलो देखिन्छ। त्यहाँ तीन वटा तालमा कञ्चन पानी थिए। एउटा फुटेको र माथिको तालको पानी धमिलो देख्यौँ। जलवायु परिवर्तनका कारण तापक्रममा वृद्धि भइ ग्लेसियर र पर्माफ्रोस्ट पग्लिँदा हिमताल विस्फोट भएर थामे खोलामा बाढी आएको स्पष्टसँग देख्यौँ। जलवायु परितर्वनका कारण हिमाली क्षेत्रमा एक प्रकारको संकट उत्पन्न भइसकेको छ। यस्ता खालका संकटले ठूलो मात्रामा क्षति तथा नोक्सानी ह्वात्तै बढेको पाउन थालेका छौँ। जोखिमपूर्ण हिमतालको जोखिम अनुगमन तथा पूर्वचेतावनीका प्रणाली जडान गर्ने साथै जोखिम न्यूनीकरणका उपाय कार्यान्वयनको आवश्यकता टड्कारो रुपमा देखिएको छ।
(राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले गत साउन ३२ गते सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ मा हिमताल फुटेर आएको बाढीको कारण र असरबारे बुधबार साँझ सञ्चारकर्मीलाई दिएको जानकारीको सम्पादित अंश) रासस