शुक्रबार, असोज ११ गते २०८१    
images
images

आम्दानीको वैकल्पिक स्रोत थुन्से, संरक्षणको अभावमा लोप हुँदैछ बुन्ने सीप

images
बुधबार, भदौ ५ २०८१
images
images
आम्दानीको वैकल्पिक स्रोत थुन्से, संरक्षणको अभावमा लोप हुँदैछ बुन्ने सीप

आफूले व्यावसायिक सीप कतैबाट नसिकेको बताउँदै पुर्खाले गरेको देखेर सिक्दै, बुन्दै गरेपछि सक्षम भएकाले यसलाई निरन्तरता दिएको रणबहादुर तुम्सिङ मगर बताउँछन्। उनले थुन्से बिक्रीबाट मासिक ३० हजार रूपैयाँसम्म आम्दानी गर्दै आएका छन्।

images
images

काभ्रेपलाञ्चोक- रोशी गाउँपालिका-३ निङ्गालेका रणबहादुर तुम्सिङ मगरले जंगलमा पाइने निङ्गालोबाट चोया निकालेर थुन्से बुन्ने काम गर्दै आएका छन्। विगत ५० वर्षदेखि कृषिसँगै थुन्से बुन्दै आएका मगरले यसको बिक्रीबाट मासिक ३० हजार रूपैयाँसम्म आम्दानी गर्दै आएका हुन्।

images
images
images

खेतीपातीबाहेक वैकल्पिक पेसा केही नभएका यहाँका ग्रामीण क्षेत्रका किसानको आम्दानीको स्रोत थुन्से बुनेर बिक्री गर्ने रहेको मगरले बताए। पछिल्लो पुस्ताले सीप नसिक्दा, सरोकार भएका निकायले संरक्षणका लागि पहल नगर्दा पेसा नै लोप हुने अवस्थामा पुगेकामा उनले चिन्ता व्यक्त गरे।

जीविकोपार्जनका लागि वर्षौँदेखि गर्दै आएको निर्वाहमुखी पेसा लोप हुन लागेको भन्दै स्थानीय तहले संकटमा रहेका पेसा, कला संस्कृतिको संरक्षणमा पहल गर्नुपर्नेमा मगरले जोड दिए। 'दुःख गरेअनुसार श्रमको मूल्य पाइँदैन', उनले भने, 'पहिला पहिला बुनेको थुन्से बोकेर दाप्चा नमोबुद्ध हुँदै पनौतीलगायत बजारसम्म लगेर बिक्री गर्नुपर्ने अवस्था थियो। अहिले गाउँमा यातायातका साधन र सडक सञ्जाल विस्तार भएपछि बिक्री गर्न सजिलो भएको छ।'

निङ्गालोको चोयाबाट बुनेका सामग्री बिक्री गर्न बजार अनुकूल नहुँदा व्यापारीलाई कम मूल्यमा पठाउने गरेको मगरले गुनासो गरे। आफूले व्यावसायिक सीप कतैबाट नसिकेको बताउँदै पुर्खाले गरेको देखेर सिक्दै, बुन्दै गरेपछि सक्षम भएकाले यसलाई निरन्तरता दिएको उनले उल्लेख गरे।

images

इलमका रुपमा गर्दै आएको कामले घर खर्च चलाउन सजिलो भएपनि मेहनत अनुसारको मूल्य नपाइने मगरको गुनासो छ। बुनेका थुन्से एउटाको एक सय २० रूपैयाँसम्ममा बिक्री हुने गरेको छ। 'निङ्गालो लेकमा जति पनि पाइन्छ तर यहाँसम्म ल्याउन सास्ती छ', उनले भने।

यहाँका किसानले थुन्स, डोको, खर्पनलगायत सामग्री बुनेर बिक्री गरी जीविकोपार्जन गरिरहेका मगरले जानकारी दिए। श्रम अनुसार मूल्य नपाउनु, सीप अभाव र संरक्षण नहुँदा यहाँका युवा पुस्ताले रैथाने ज्ञान र सीपलाई निरन्तरता नदिइ अन्य पेसा अँगाल्दै गएका उनको भनाइ छ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले परम्परागत सीपलाई संरक्षण र सम्वर्द्धन गर्ने नीति पालिकाले बनाएको भन्दै कार्यान्वयन पक्ष फितालो रहेको बताए। यहाँका युवाको सीप विकास गरी स्वरोजगारका अवसर सिर्जना गर्न स्थानीय सरकार योजनाबद्ध रुपमा अगाडि बढिरहेको उनको भनाइ छ।

'पालिकाको उद्यम विकास शाखामार्फत परम्परागत सीप र रैथाने ज्ञानअन्तर्गत महिलालाई चकटी बुन्ने तालिम सञ्चालन गरिरहेको छ', अध्यक्ष लामाले भने, 'थुन्से तथा चोयाका सामग्री बुन्ने सीपसम्बन्धी तालिम भने दिन सकेका छैनौँ। बिस्तारै जीविकोपार्जनसँग जोड्ने, सीप विकास, स्वरोजगारसम्बन्धी तालिम दिने योजनमा पालिका छ।'

स्थानीय सरकारले परम्पारगत सीप र रैथाने ज्ञानलाई संरक्षण गर्दै व्यवस्थित बनाउने योजना लागु नगर्दा, नयाँ पुस्तामा हस्तान्तरण नहुँदा त्यस्ता ज्ञान, सीप र कला लोप हुने अवस्थामा पुगेका स्थानीय बासिन्दा बताउँछन्। रासस


प्रकाशित : बुधबार, भदौ ५ २०८११४:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend