शनिबार, असोज १२ गते २०८१    
images
images

पूर्वाधारमन्त्री दाहालले सार्वजनिक गरे एकमहिने कार्यप्रगति, के-के भए उपलब्धि?

images
आइतबार, भदौ २ २०८१
images
images
पूर्वाधारमन्त्री दाहालले सार्वजनिक गरे एकमहिने कार्यप्रगति, के-के भए उपलब्धि?

अरनिको राजमार्गको धुलिखेल-खाँवा खण्डको निर्माण व्यवसायीलाई सो सडक तत्काल सहज बनाउन र तीन महिनभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिइएको मन्त्रालयको कार्यप्रगतिमा उल्लेख छ।

images
images

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रालयमा जिम्मेवारी सम्हालेको एक महिनामा पूरा गरेको कार्यप्रगति सार्वजनिक गरेका छन्। आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले एक महिनामा भए गरेका कामको प्रगति र आगामी दिनको कार्ययोजना सार्वजनिक गरेका हुन्।

images
images
images

भौतिकमन्त्री दाहालले पूर्वाधार निर्माणलाई गति दिन र नागरिकलाई सेवा प्रवाहमा सहजताको अनुभूति दिलाउन मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिइएको र त्यसको नियमित अनुगमनसमेत भइरहेको बताए। वस्तुनिष्ठ योजनासहित नतिजामुखी भएर काम गर्न लागिपरेको पनि उनको भनाइ छ।

बर्सात अवधिभर राष्ट्रिय राजमार्गमा यातायात अवरोध नहुने गरी आवश्यक व्यवस्था गरिएको र अवरोध भएको खण्डमा विशेष अवस्थामा बाहेक बढीमा दुई घण्टाभित्र अवरोध हटाइ सवारीसाधन सञ्चालन गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।

सो कार्यका लागि एक सय ३५ वटा यान्त्रिक उपकरण विभिन्न सडक खण्डमा तैनाथ अवस्थामा राखिएका छन् भने एक सय २९ वटा यान्त्रिक उपकरण आवश्यकताअनुसार तत्काल परिचालन हुनसक्ने गरी तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ। त्यस्तै, बर्सातका कारण अवरुद्ध हुने सडक यातायातको प्रत्यक्ष जानकारी मन्त्रीको कार्यकक्षमै हुनेगरी ‘रोड क्लोजर अपडेटको सिस्टम’ जडान गरिएको जनाइएको छ।

images

मन्त्रालयका अनुसार राष्ट्रिय यातायात नीति, २०८१ मन्त्रिपरिषद्‌मा स्वीकृतिका लागि पेस भएको छ। निर्माणाधीन बाहेकका प्रमुख राजमार्गमा प्रथम चरणको पटके मर्मत सम्पन्न गरी छ हजार किलोमिटर सडक लम्बाइमा खाल्डाखुल्डीरहित बनाइने लक्ष्यअनुसार पटके मर्मतका लागि सबै सडक डिभिजन कार्यालयबाट बोलपत्र आह्वानको सूचना प्रकाशन भइसकेको र पहिलो चरणको पटके मर्मत दसैँअगावै सक्ने लक्ष्य राखिएको मन्त्रालयका सचिव केशककुमार शर्माले जानकारी दिए।

सवारी चालक अनुमतिपत्रलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्ने प्रयोजनका लागि गत साउन ३० गते राष्ट्रिय परिचयपत्र तथा तथा पञ्जीकरण विभाग र यातायात व्यवस्था विभागबीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको प्रगति प्रतिवेदनमा उल्लेख छ। त्यस्तै, बर्दिवास-निजगढ (चोचा) खण्डको सम्पन्न हुन बाँकी तीन वटा रेलपुलमध्ये दुई वटा रेलपुल (मराहा र बर्दिवास) सम्पन्न भएको जनाइएको छ।

भौतिक मन्त्रालयले चालु आर्थिक वर्षका लागि पाएको वार्षिक बजेटमध्ये गत साउन मसान्तसम्ममा ६ अब १८ करोड खर्च भइ चार दशमलव ११ प्रतिशत वित्तीय प्रगति हासिल भएको जनाइएको छ। आयोजनाको काम गुणस्तरीय रुपमा समयमै सम्पन्न गर्ने सुनिश्चतताका लागि निर्माणाधीन सडक तथा पुलको स्थलगत अवस्था अनुगमन गरी आवश्यक निर्देशन दिने काम भइरहेको पनि मन्त्रालयले जनाएको छ। गत साउन १८ गते सूर्यविनायक-धुलिखेल सडकको स्थलगत अनुगमन गरी निर्माण अवस्था अवलोकन गर्नुका साथै आयोजनाका चुनौतिबारे स्थानीय जनप्रतिनिधिलगायत सरोकारवालासँग छलफल गरेको जनाइएको छ।

अरनिको राजमार्गको धुलिखेल-खाँवा खण्डमा सडक निर्माण सञ्चालन हुन नसकी सो सडकबाट दैनिक गुड्ने सयौँ सवारीसाधन र तिनमा सवार यात्रुले सास्ती खेप्नुपरेको गुनासो आएको सन्दर्भमा उक्त सडक खण्डको निर्माण व्यवसायीलाई सो सडक तत्काल सहज बनाउन र तीन महिनभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिइएको मन्त्रालयको कार्यप्रगतिमा उल्लेख छ।

त्यसैगरी, अरनिको राजमार्गको बाह्रबिसे नजिक खागदल खोलाको पुल वर्षाले बगाएकाले सवारी ताथा मानिस आवागमनमा समस्या भएकोमा उक्त अवरुद्ध सड़क डाइभर्सन गरी तत्काल सञ्चालन गर्न र सो स्थानमा तत्कालका लागि बेलिब्रिज जडान गर्न निर्देशन दिइएको मन्त्रालयको भनाइ छ। उक्त स्थानमा अहिले डाइभर्सनमार्फत सडक सञ्चालन भइरहेको र बेलिब्रिज जडानका लागि गत साउन २५ गते ठेक्का लगाइ बेलिब्रिज जडान सुरु भइसकेको जनाइएको छ।

मन्त्रालयअन्तर्गतको सडक बोर्ड नेपालमा रिक्त रहेको तीन जना बोर्ड सदस्यको पदपूर्ति गरी बोर्डलाई पूर्णता दिइएको पनि कार्यप्रगतिमा उल्लेख छ। त्यस्तै, मन्त्रालय मातहतका रुग्ण ठेक्काको अध्ययन गरी एक महिनाभित्र मन्त्रालयमा प्रतिवेदन पेस गर्न सहसचिव अर्जुनप्रसाद अर्यालको संयोजकत्वमा समित गठन गरिएको जनाइएको छ।

गत आर्थिक वर्ष २०८०/८१ मा बजेट अभावमा भुक्तानी हुन नसकेको आठ अर्ब ६६ करोड रूपैयाँ रकमको विवरण संकलन गरी बजेट व्यवस्थापनको लागि पहल गरिएको जनाइएको छ। यस अवधिमा सडक विभागको पुँजीगत खर्च चार अर्ब ३० करोड रूपैयाँ रहेको छ।

नागढुंगा सुरुङमार्गको मुख्य सुरुङमा गत साउन महिनामा मात्र एक सय ८८ मिटर क्रङ्क्रिट लाइनिङ सम्पन्न गरी जम्मा दुई हजार चार सय २६ मिटर लाइनिङ सम्पन्न भएको जनाइएको छ। त्यस्तै, सिद्धबाबा सुरुङको एक सय ४४ मिटर सुरुङ खन्ने काम सकिएको प्रगति प्रतिवेदनमा उल्लेख छ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिंगे खण्डको ठेक्का सम्झौता सम्पन्न भएकोमा हाल निर्माण व्यवसायी आयोजना निर्माण क्षेत्रमा परिचालन हुनेक्रममा रहेको जनाइएको छ।

हुलाकी राजमार्गअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जको माडी बगाइदेखि अमुवा हुँदै ठोरी सडकको विकल्पमा बगाइदेखि कुसुमखोला हुँदै ठोरी र रिउ राप्ती खण्डमा कसरी पुलदेखि ध्रुवाघाट देउराली बनकट्टासम्मको विकल्पमा रिउ खोलादेखि ध्रुवाघाट राप्ती नदीमा नयाँ पुल निर्माण गरी जगतपुर जोड्ने सडक खण्डको रेखांकन स्वीकृतिका लागि मन्त्रिपरिषद्‌मा प्रस्ताव पठाइएको जनाइएको छ।

सवारी चालक अनुमतिपत्रको छपाइ तथा वितरण समयमा हुन नसकेको विद्यमान अवस्थामा राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरी सवारी चालक अनुमतिपत्रको विद्युतीयप्रति हेर्न सकिने व्यवस्था मिलाइएको मन्त्रालयको भनाइ छ।

इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रियालाई छिटो र प्रभावकारी बनाउन निर्देशन दिइएको, क्युआर कोडसहितको सवारीचालक अनुमतिपत्र छपाईका लागि खरिद प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको, सवारी दर्ता प्रणालीलाई डिजिटलाइज्ड गर्दै लगिएको लगायतका विषय समीक्षा प्रतिवेदनमा राखिएका छन्। रासस


प्रकाशित : आइतबार, भदौ २ २०८११८:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend