शनिबार, असोज १२ गते २०८१    
images
images

पर्यटनमन्त्रीसँग सीएनआई पर्यटन समितिको छलफल, पर्यटन क्षेत्रको विकासमा काम गर्ने प्रतिबद्धता

images
आइतबार, भदौ २ २०८१
images
images
पर्यटनमन्त्रीसँग सीएनआई पर्यटन समितिको छलफल, पर्यटन क्षेत्रको विकासमा काम गर्ने प्रतिबद्धता

२०८३ भदौसम्ममा पोखरा र भैरहवा एयरपोर्टको समस्या समाधान हुने गरी काम गरिरहेको पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले बताए।

images
images

काठमाडौं- नेपाल उद्योग परिसंघ (सीएनआई)अन्तर्गतको पर्यटन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसँग छलफल गरेको छ।

images
images
images

आइतबार मन्त्रीलाई बधाई तथा शुभकामना दिँदै समितिले पर्यटन क्षेत्रको विकास र सुधारका लागि युरोपसँगको सिधा हवाई सम्पर्क पुनः स्थापित गरिनुपर्ने, राष्ट्रिय ध्वजावाहकलाई प्रतिस्पर्धी बनाइनुपर्ने, पर्यटन ऐन र नीति ल्याईनुपर्नेमा जोड दिएको छ।

यस्तै हवाई दुर्घटना न्यूनीकरण, दुई वटा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, नेपाल पर्यटन बोर्ड, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन समय सम्बन्धमा पनि सुझाव दिएको छ। 

परिसंघको तर्फबाट सफल कार्यकालको शुभकामना दिँदै परिसंघका उपाध्यक्ष राजबहादुर शाहले पर्यटन क्षेत्र विकास र लगानीको सम्भावना बढी भएको क्षेत्र भएकोले यस क्षेत्रको विकासका लागी नयाँ नीतिहरू ल्याउन जरुरी रहेको बताए। पर्यटन क्षेत्रका समस्याबारे जानकारी गराउँदै उनले समाधानका उपायसमेत सुझाए।

images

छलफलमा समिति सदस्य रवीचन्द्र सिंहले आगामी नोभेम्बर ८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको समयावधि १४ घण्टाबाट बढाएर १६ घण्टा बनाउन आग्रह गरे। पर्यटकीय मौसम भएकाले सो मितिदेखि राति १० बजेसम्म सञ्चालन हुने भनिएको समयावधि बढाएर राती १२ बजेसम्म गर्न उनले आग्रह गरेका हुन्।

उनले सरकारले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको तर नेपालको हवाई टिकटको मूल्य धेरै भएकोले लक्ष्यअनुरुप पर्यटकहरु भित्र्याउन गाह्रो हुने बताए। यस्तै उनले हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि करलाई पुनरावलोकन गर्न जरुरी रहेको बताए।

समिति सदस्य अशोक पोख्रेलले पर्यटन विकासका लागि नेपालले पहुँच वृद्धि गर्नु जरुरी रहेको बताए। जसका लागि नेपालबाट युरोप जान आउनका लागि सहजीकरण गर्न नेपाललाई युरोपियन युनियनको सुरक्षा सूचीबाट हटाउन प्रभावकारी पहल आवश्यक रहेको बताए। राष्ट्रिय ध्वजावाहकलाई बलियो बनाउनुपर्ने, नेपाल पर्यटन बोर्डलाई यसको उद्देश्यअनुरूप अगाडि बढाउनुपर्नेमा उनले जोड दिए।

सो अवसरमा मन्त्री पाण्डेले पर्यटन क्षेत्रको समस्या समाधानका लागि कामको प्राथमिकता हेरेर अगाडि बढ्ने बताए।

२०८३ भदौसम्ममा पोखरा र भैरहवा एयरपोर्टको समस्या समाधान हुने गरी काम गरिरहेको उनले बताए।

पर्यटन ऐन तयारी अवस्थामा रहेकाले चाँडै आउने समेत जानकारी गराए। नेपाल एयरलाइन्सलाई सबल बनाउने विषयमा थप छलफल तथा सल्लाह सुझाव लिँदै अगाडि बढ्ने पनि मन्त्री पाण्डेले बताए। 

सो अवसरमा परिसंघ पर्यटन समिति सभापति पम्फा धमला, सदस्यहरु हिक्मत सिंह ऐर, तिलक लामा, दिपकराज जोशीलगायतले सुझावसहित बधाई तथा शुभकामना व्यक्त गरे। 


प्रकाशित : आइतबार, भदौ २ २०८११४:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend